८ वैशाख २०८१ शनिबार
समाज

पर्शुराम मृत्यु घटनाको छानबिन गर्न परिवारको माग

घटनाको छानबिन गर्न माग गर्दै मृतक पर्शुरामका परिवारका सदस्य । तस्बिर: नागरिक

६ महिनाअघि सेनाको २ नम्बर बाहिनी हिले धनकुटामा सेनाका मेजर हवल्दारको मृत्यु शंकास्पद भएको दाबी गर्दै परिवारका सदस्यले छानबिन गर्न माग गरेका छन्। जेठ ५ गते गम्भीर घाइते भएर जेठ १२ गते विएमसी अस्पताल विराटनगरमा मृत्यु भएका नेपाली सेनाका हवल्दार सुनसरी रामधुनी वडा नम्बर ३ का पर्शुराम भट्टराईको विषयमा छानबिन गरी सार्वजनिक गर्न परिवारका सदस्यले माग गरेका हुन्।

सोमबार पत्रकार सम्मेलन गर्दै मृतक पर्शुरामकी पत्नी कमला बोगटी (भट्टराई)ले घटना शंकास्पद भएको दाबी गर्दै छानबिन गर्न माग गरेकी हुन्। ३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा गत जेठ ५ गते राति अचेत भइ लडेको अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ। तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिएर अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना थप रहस्य रहेको कमलाको दाबी छ। तत्कालीन २ नम्बर बाहिनीका बाहिनीपती यमप्रसाद ढकालसहित १४ जना विरुद्ध छानबिन गर्न उनको माग छ।

तत्कालीन २ नम्बर बाहिनीपती यमप्रसाद ढकालसहित १४ जना विरुद्ध छानबिन गर्न माग गर्दै दिएको किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाएको कमलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्।

उनले बाहिनीपती ढकालसहित सेनाका राजकुमार बस्नेत, तुन्जिङ शेर्पा, बाबुराम कार्की, दिलबहादुर कार्की, अकलबहादुर घले मगर, शेरबहादुर लिम्बु, गणेश श्रेष्ठ, अमरबहादुर देउजा, योगेन्द्र बास्तोला, भुवन थापा, लिला विकलगायतमाथि छानबिन गर्न माग गरिन्। १४ जना विरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाएको कमलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्। ‘के सेनाको व्यारेकभित्र रक्सी खाने व्यवस्था गरिएको हुन्छ ?’ कमलाले भनिन, ‘ब्यारेक भित्रैबाट षडयन्त्र गरेको सूचना पाएपछि दोषीमाथि छानबिन गर्न माग गरेको हुँ।’ पर्शुराम बिरामी परेको सूचना आएपछि अस्पतालमा पुगेर हेर्दा टाउँको बाँया कञ्चट नजिक गम्भीर चोट लगेर भित्रपट्टि हड्डी फुटे जस्तो चोट देखिएको परिवारको दाबी छ। दुवै आँखामा निल डाम, दायाँ हात, घुडालगायतका ठाउँ चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा आफूहरूले फेला पारेको पर्शुरामका बुबा दिलबहादुरले बताए।

पर्शुरामको मृत्यु भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा सेनाले नै शव लगेर राखेको थियो। त्यतिबेला घटनाको छानबिन हुने आश्वासन पछि शव बुझेर दाहसंस्कार गरिएको परिवारको भनाइ छ। छोराको मृत्यु भएको ६ महिनासम्म पनि छानबिन नभएको दिलबहादुरको गुनासो थियो।

सेनाको २ नम्बर बाहिनी हिलेका बाहिनीपती चोपबहादुर ढकालले पर्शुरामको मृत्यु भएको घटना शंकास्पद नभएको बताए। ‘पर्शुरामको मृत्यु शंकास्पद भन्ने होइन,’ उनले भने, ‘उनकी पत्नीले सरकारबाट पाउनुपर्ने सेवा सुविधासमेत पाइसक्नुभएको छ।’

प्रकाशित: ९ मंसिर २०७७ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App