७ वैशाख २०८१ शुक्रबार
समाज

दलित बस्तीमा आगलागी, कैयौँ परिवार घरविहीन

रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ७ गोनाहीमा भएको आगलागीमा पाँच जनाको घर जलेर खरानी हुनुका साथै थप दुई जनाको घरमा क्षति पुगेको छ। स्थानीय जागरित राम, किरित राम, रामप्रवेश राम, सर्फलाल राम, रामबलि पासवान, रामविश्वास पासवान, प्रमोद महतोको घरमा आइतबार साँझ आगलागी भएको हो।

आगलागीलाई स्थानीयबासीसित मिलेर प्रहरीले नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय देवाहीगोनाहीका प्रहरी निरीक्षक मेदनीप्रसाद साहले आगलागीबाट करिब १३ लाखको क्षति भएको जानकारी गराएका छन्। पाँच जनाको घरमा पूर्ण क्षति र दुई जनाको घरमा आंशिक क्षति भएको प्रनि साहको भनाइ छ। आगलागीको कारण स्पष्ट हुन नसके पनि विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

आगोले बिचल्ली पारेपछि देवाहीगोनाही नगरपालिकाकी उपप्रमुख परनियादेवी पटेलको अगुवाइमा अग्नीपीडितलाई तत्काल राहत सहयोग पनि गरिएको छ। उपप्रमुख पटेलले पीडित परिवारलाई १२ बोरा चामल, छ थान कम्बल, छ थान त्रिपाल तथा साडी, गन्जी, लुंगी, गमछा, झुल, तन्नालगायत अत्यावश्यक सहयोग सामग्री प्रदान गरेकी छन्।

केही दलित परिवार घरबारविहीन बन्न पुगेकाले सकेसम्म सहयोग गर्नका लागि स्थानीयले आग्रह गरेका छन्। रौतहट क्षेत्र नम्बर ३ का संघीय साँसद प्रभु साहले पनि स्थानीय, प्रदेश तथा संघ सरकारसित अग्निपीडितलाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७७ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App