१६ चैत्र २०८० शुक्रबार
समाज

'प्रधानमन्त्रीको स्वागतका लागि आतुर छन् घुन्सावासी'

घुन्सा उपत्यका र प्रधानमन्त्रीको सोमवार हुने भ्रमणका लागि बनाइएको मञ्च ।

करिव ६० घर रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित दुर्गम तर सुन्दर पर्यटकीय क्षेत्र हो घुन्सा। यहिँ क्षेत्र हुँदै बिश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आधार शिविर पाङ्पेमा जान सकिन्छ। मानवीय जीवनका प्रमुख आवश्यकता ठानिने शिक्षा र स्वास्थ्यका दृष्टीले भर्खर बामे सर्दै गरेको घुन्सामा सोमवार(८ मंसिरमा) हुने देशका प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको स्वागतका लागि यतिखेर घुन्सालीमा उत्साह छ।  

वरिपरि हिमालले ढाकेको र बीचमा घना जस्तै देखिने बस्तीलाई धेरैले घुन्सा उपत्यका भन्छन्। यहिँ घुन्सा उपत्यकामा सोमवार बिहान प्रधानमन्त्री ओलीले त्यहाँ स्थापित सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्ने छन्। तर,घुन्सालीको माग भने बेग्लै छ। त्यहाँ उनीहरु १५ शैयाको अस्पताल बनाइदिन प्रधानमन्त्री ओलीसंग हात अघि सार्दैछन्। स्थानीय हिमाली चुङ्दाक शेर्पाले हिमाली क्षेत्रको स्वास्थ्य जोखिम टार्न आफूहरुले प्रधानमन्त्री ओलीसंग यस्तो आग्रह गर्न लागिएको जानकारी दिए। 

‘यो हाम्रा लागि सबैभन्दा ठूलो सहयोग हुने छ’उनले भने। सामुदायिक स्वास्थ्य केन्द्र सामाजिक अभियान्ता याङ्जोम शेर्पाको अगुवाइमा स्थापित घुन्सा फाउण्डेसनको सकृयतामा संकलित रकमबाट बनेको स्वास्थ्य संस्था हो। पछि प्रदेश १ सरकारले त्यहाँ आवास कक्ष बनाउन भने सहयोग गरेको छ। घुन्सामा डण्डु शेर्पा(स्थानीयले बोलाउने नाम सानो डण्डु)ले घुन्सामा रहेको सामुदायिक स्वास्थ्य इकाइलाई कम्तिमा १५ शैयाको अस्पताल बनाइदिने कार्यमा सरकारले सहयोग गरे यसले स्थानीय बासिन्दा र कञ्चनजंघा आउने–जाने पर्यटक दुबैलाई सहयोग मिल्ने बताउँछन्। उनले स्वास्थ्योपचारै नपाएर जनताले मर्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि घुन्सामा जनशक्ति र उपकरणले सम्पन्न अस्पतालको आवश्यकयता रहेको बताउँछन्। 

घुन्सा फाउण्डेसनका अध्यक्ष तथा सामाजिक अभियान्ता याङ्जोम देशका कार्यकारी प्रमुखको उपस्थिति घुन्सामा हुन लागेको खबरले हिमाली क्षेत्रका बासिन्दाको छाति फराकिलो बनेको बताउँछिन्। उनले घुन्साली प्रधानमन्त्रीको स्वागतका लागि आतुर रहेको बताइन्। अरु घुन्सालीले भने झैं उनले पनि प्रधानमन्त्री ओलीलाई त्यहाँ कम्तिमा १५ शैयाको अस्पताल बनाइदिन आग्रह गर्ने बताइन्। ‘हामी यो आग्रह सुनाउन र उहाँलाई सुन्दर बस्ती घुन्सामा स्वागत गर्न आतुर छौं’उनले भनिन्।

प्रकाशित: ७ मंसिर २०७७ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App