मधेस तराइको प्रमुख चाड छठको समयमा यहाँका नदी, तलाउ, पोखरी र जलासयहरुका किनारलाई सिंगारिने सजाउने र त्यहीं छठको प्रमुख बिधि साँझ र बिहानको अर्घदान गर्ने चलन छ। उद्भावको हिसाबले भोजपुरीभाषी क्षेत्र छठको आधार क्षेत्र रहेकोले वीरगन्जमा छठको विशिष्ठ रौनक रहदै आएकोमा यसपालि भने अवस्था फरक छ। छठ अगावै बेहुलीजस्तै सिंगारिने यहाँको घडिअर्वा पोखरी भने यसपालि उदास छ। न, महँगा टेन्टको सजावट छ, न साबिकको जस्तो गजबको झिलीमिली छ, न त चहलपहल नै। अरु छठ घाटको अवस्था पनि उस्तै छ।
‘कोरोना भाइरसको संक्रमणको प्रभाव हो, जोखिमको अवस्थामा यसपालि क्ुनै तामझाम गरिएन, एकदम समान्य किसिमले र निकै सावधानीका साथ छठ पर्व हुने भएको छ,’ छठ पूजा ब्यवस्थापन समिति घडिअर्वाका अध्यक्ष प्रेम साह कानुले नागरिकलाई भने, ‘१७ वर्षदेखि यहाँ पूजा समिति बनाएर ब्यवस्थित किसिमले छठ हुँदै आएकामा यस वर्ष पहिलो पल्ट हामी करिब १७ वर्ष अगाडिकै अवस्थामा पुगेका छौं, समान्य किसिमले छठ हुन लागेको छ।’ लकडाउनसंगै बन्द भएको घडिअर्वा पोखरी परिसरको ढोका छठकै लागि सरसफाई मात्र गर्न भनेर ७ महिनापछि खुलेको छ। त्यहाँ कुचो कोदाली लिएर मानिसहरु झारपात हटाउने काममा जुटेका देखिए। हुलका हुल सजावट देख्नका लागि र सेल्फी खिच्न आउनेहरु स्वभाविक रुपमै नआएपछि भिडभाडको ठाउँ सुनसान देखियो।
स्थानीयले टिप्पणी गरे ‘घडिअर्वा यसपालि उदास छ।’ सरसफाईका लागि सघाउन आएका स्थानीय युवा सन्तोष साहले भने, ‘कोरोनाले गर्दा यसपालि सबै कुरा फेरिएको छ, समितिले सफाई मात्र गराई दिने भएको छ।’ पूजा ब्यवस्थापन समितिले मास्क बिना प्रवेश निषेध गर्न लागेको छ। भिडभाड हुन नदिन हरेक सम्भव प्रयास गरिदैछ। ‘भिडभाड हुँदैन, यसको दुईटा कारण छ,’ पूजा समितिका अध्यक्ष कानुले भने, ‘एक, सजावट र भब्यता नभएपछि आकर्षण घटेको छ, बजारमा पनि घडिअर्वामा कडाई हुन्छ भन्ने म्यासेज छ। अर्को यसपालि सहरबाट धेरै जना मानिसहरु गाउँकै थाथलोतिर छठ मनाउन गएका छन्।’
गत वर्षसम्म घडिअर्वाको छठ घाट सजाएबापत समितिसंग ६ लाख रुपैयाँ लिएका जगदिश साउण्ड तथा टेन्ट सर्भिसका सुरेश साहले भने यसपालि यहाँ कुनै काम नगरेको बताए। स्थानीय युवा अगुवा प्रभाकर साहले मानिसहरुलाई चाहेर पनि छठघाटमा आउनबाट रोक्न्न नसकिने भएपछि घडिअर्वा पोखरी परिसरलाई खोलेर सरसफाई थालिएको बताए। र, मानिसहरु यसपटक थोरै मात्र आउने भए पनि सुरक्षा प्रबन्ध दुरुस्त पार्ने तयारी रहेको बताए।
घडिअर्वा मात्र होइन वीरगन्जको मुडली पोखरी, नगवा पाखरी, माइधिया पोखरी, रानीघाट लगायत ठाउँमा पनि बिशेष सजावट र तामझाम नहुने भएको छ। यसपालि बुधबार नहाखाएके बिधि गर्दै छठको सुरुवात भएको छ। बिहीबार साँझ रसियावरोटी गरेपछि उपवास सुरु हुन्छ। शुक्रबार साँझको अर्घ हुन्छ भने शनिबार बिहानको अर्घदान गर्दै यो वर्षको छठ सकिने छ। यो वर्षको छठको बजारमा पनि खासै चहलपहल देखिएन। मानिसहरुको भिड र किनबेच दुबै घटेको पाइयो।
छठको बिशेष महत्व
न पुजारी र शास्त्रीय बिधिबिधान। सिधै लोकमान्यता र परम्परामा आधारित सबै जातजाति, वर्ग र उमेर समूह तथा लिंगका मानिसहरु मनाउने छठ मधेश तराईको लोकपर्व हो। यसमा प्रसादको रुपमा चढाइने ठेकुवा घरेलु परिकार हो भने मुला, सुथरी, अरुई, निम्बु, भोगटे, उखु, फर्सि जस्ता आफ्नै बारीमा फल्ने कन्दमुल हुन। भोजपुरीभाषी क्षेत्रमा यस पर्वको मुल थलो भए पनि अब यो विस्तार हुँदै गएको छ। नेपालको कुरा गर्ने हो भने अब यो मैथिलि क्षेत्रदेखि उपत्यकासम्म धुमधामसाथ मनाउने पर्वको रुपमा स्थापित भएको छ।
‘काँच हे बाँस के बहँगिया
बहँगी लचकत जाए
पेन्ही ना रउरा पियरीया
दउरा घाटे पँहुचाए।’
तिहार सकिनासाथ चोक र गल्लीहरुमा गुन्जिन थाल्छन् यस्ता गीत। ‘काँच बाँसले बनेका भार (खर्पन) हो, जुन लचकिदै जान लागेको छ, तिमी पहेलो धोती लगाउ छठघाटमा पूजाका सामग्री लैजाने बेला भयो,’ भन्ने यस गीतको भाव छ। तिहार लगत्तै आउने कात्तिक महिनाको शुक्ल पक्षको चौठ तिथिबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन ‘नहाए–खाए के’ चलन छ, जसमा ब्रतालुले बिशेष बिधिपूर्वक नुहाएर खाने गर्दछन्।
संस्कृतीका जानकारहरुका अनुसार कठिन बिधिसाथ मनाइने यस ब्रतमा भोजनमा मांशाहार मात्र होइन लसुन प्याज समेत वर्जित हुन्छ। ३६ घण्टा चल्ने उपवासमा ब्रतालुले पानी समेत खादैनन्। दिउँसोभरी निराहार बसेका ब्रतालु पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा अगहनी चामलमा दूध र गुड (भेली) हालेर ‘रसियाव’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाएर पूजा गरी खाने र प्रसादस्वरुपमा अरुलाई समेत खुवाउने बिधि गरेर उपवास सुरु गर्छन्। यसलाई पकाउनका लागि माटोको नयाँ चोखो चुल्हो बनाइएको हुन्छ जसमा आँपको दाउरा बालिन्छ। अर्को दिन षष्टी तिथिमा ‘सँझिया घाट’ मनाइन्छ।
‘सझिया घाट’का दिन दुलहीजस्तै सिँगारिएका नदी तथा तथा जलासयका घाटहरुमा बनाइएको साना स्तुपाकार प्रतिमाको पूजासंगै अस्ताउँदो सूर्यलाई अर्घदान गरिन्छ। गाउँबस्तीको लागि एउटै पूजाथलोको रुपमा छठघाट हुन्छ। सबै जातजातिसंगै बसेर बिधिहरु सम्पन्न गर्छन्। महिलाले ब्रत गर्दा पुरुषले टाउकोमा पूजा सामग्रीको भारी आस्थासाथ छठघाटसम्म लैजाने र ल्याउने गर्छन्। षष्टीका दिन अस्ताउँदो सूर्यलाई अर्घदान गरी उपासना गरेका ब्रतालु सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि ब्रत उद्यापन गर्छन्। अटुट आस्था छठमा हेर्न पाइन्छ।
भेजपुरी लोकसंस्कृतिका जानकार उमाशंकर द्विवेदीका अनुसार छठ पूजा उत्सवको रुपमा मात्र नभई कठीन ब्रत र उपवास पूर्वक गरिने तपस्याको रुपमा देखा पर्दछ। उनका अनुसार ‘छठ’ विशुद्धरुपमा ‘प्रकृती र पुरुष’को पूजा हो। सन्तान उत्पादनको लागि दैवी कृपाको आपेक्षा यस ब्रतले गर्दछ। झट्ट हेर्दा यो सूर्यको पूजा झैं देखिए पनि पुराण अनुसार यो मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो।
प्रकाशित: ३ मंसिर २०७७ १३:३३ बुधबार