लोक आस्था, विश्वास र श्रद्धाको महापर्व छठ यसपालि घरघरमै मनाइने भएको छ। वर्षेनी तिहार सकिएलगत्तै काठमाडौं तथा तराई मधेशमा रहेका नदीहरु छठ पूजा मनाउन कै लागि सफा गरिन्छ। तर यस वर्ष कोभिडका कारण नदी किनारमा छठ मनाउन सरकारले प्रतिबन्ध गरेसँगै छठ ब्रतालुहरुले आ-आफ्नो घरमै सीमित रहेर छठ मनाउने निधो गरेका छन्।
कालिमाटीकी सीता कुशुवाहाले यस वर्षको छठको पूजा कौंसीमा मनाउने तयारी गरेकी छिन्। बुधबार छठको पहिलो दिन नहायखायबाट छठ पर्व सुरु भएको छ। छठ पूजा समाग्रीहरु बासले बनाएको छउरी, सुपलि, उखु लगाएतका सामानहरु कालिमाटी तरकारी बजारमा किनीरहेकी सीताले कौसीमा बाटामा पानी राखेर पोखरी मानेर बाटाकै वरिपरि पूजा सामाग्री सजाएर यस वर्षको छठ मनाउने योजना सुनाइन्। ‘आज नुहाएर पूजाआजा गरि शुद्ध चोखो खाना खाएपछि पूजाको सामाग्री किन्न आएको हुँ’, सीताले नागरिकसँगको भेटमा भनिन् ‘यस वर्ष कोभिडको बढ्दो जोखिमका कारण हामीले आफ्नो घरको कौंसीमै रातो माटोले लिपेर बाटामा पानी हालेर नदी मान्ने छौं।’ उनले भनिन्, ‘कात्तिकको षष्ठी अर्थात् शुक्रबार साँझ कौसीमा पूजा सामाग्री बाटा वरिपरि राखेर छठी माई र सूर्य देवको आराधना गर्ने छौं। त्यसपछि अस्ताउँदो सूर्य देवलाई दूधले अर्घ्य दिएर पूजा गर्ने छौं। भोलि पल्ट शनिबार अर्थात् सप्तमीको दिनमा पनि कौसीमै उदाउँदो सूर्य देवलाई अर्घ्य दिएर छठ पूजा सम्पन्न गर्ने छौं।’ उनले सबै छठ ब्रतालुहरुलाई पनि आस्था र विश्वासकासाथ आफ्नो घरमै कौंसीमै छठ पूजा गर्न अनुरोध समेत गरिन्।
बाफलकी प्रियंका रौनियारले पनि यस वर्षको छठ पूजा घरकै कौसीमा मनाउने निश्चित बनेको सुनाइन्। उनले आफ्नो कौसीमा पूजा गरिने सबै तयारी भएको बताइन्। ‘हामले बालुवाले कौसीमा बारेर पानी जमा गरेर छठ पूजा गर्ने तयारी गरेका छौं,’प्रियंकाले भनिन् ‘हुन त परम्परादेखिनै समूहमा आफन्तजनसँग बसेर नदी किनारमा गएर मनाउने छठ पर्व यस वर्ष घरको कौसीमै मनाउने अलि खल्लो भए पनि कोरोनाको कहरबाट बच्न यस्तो गर्न परेको हो।’ उनले थपिन् ‘आस्थाको पर्व हो छठ। त्यही भएर हामीले आस्था र विश्वासका साथ कौसीमा बालुवाले बारेर पानी हाल्दा पनि छठि माईको बास त्यही हुन्छ। हाम्रा सबै परिवारसाथै बसेर मनाउने छौं।’
काठमाडौं जिल्लाका जिल्ला प्रमुख अधिकारी रामप्रसाद आचार्यले जिल्ला प्रमुख कार्यालयले यस वर्षको छठ पर्व आआफ्नो घरमै मनाउने बारे बुधबारै निर्देशन जारी गरीसकेको जनाए। उनले यो वर्ष बढ्दो कोरोनाको जोखिमलाई ध्यानमा राख्दै कुनै पनि नदी तथा खोलाको किनारमा छठ पूजा नगर्न अनुरोध गरिसकेको जनाए। ‘छठ पर्व समूहमा मनाइने र बढी भिडभाड हुने भएकोले खोला तथा नदी किनारमा मनाउँदा कोभिड फैलने जोखिम उच्च हुन्छ,’ सिडिओ आचार्यले नागरिकसँग भने, ‘त्यही भएर जिल्ला प्रमुख कार्यालयले यस वर्षको छठ पर्व आफ्नो परिवारसाथ घरघरमै मनाउन निर्देशन जारी गरेको हो।’
तिथिले कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भएको छठ पर्व कात्तिक सप्तमीका दिन सम्पन्न हुन्छ। चार दिनसम्म चल्ने यो पर्व यस वर्ष बुधबारदेखि सुरु भएको छ। यस दिन ब्रतालुहरु विहान नुहाएर छठी माता र सूर्य देवको पूजा गरेर चोखो खाना खान्छन्। भने बिहीबार कात्तिक पंचमीको दिन खरना गरिन्छ। यस दिन ब्रतालुहरु दिनभरि भोको बसेर साँझ चन्द्रमाको पूजा गरेर छठी माताको गीत गाउँछन्। चोखो गहुँको पिठोको रोटी, सख्खरले बनेको रसिआवो र ऋतु फलहरु केराको पातमा छठी मातालाई चढाएर सोहि प्रसाद सबै परिवारलाई बाडिन्छ। ब्रतालुले पनि साँझ एक छाक यही प्रसाद खान्छन्। शनिबार कात्तिक षष्ठीका दिन दिनभरि निरहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने र आइतबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र यो चार दिनको पर्व पुरा हुन्छ। त्यसपछि मात्र ब्रतालुहरु नुन हालेको अन्नजल ग्रहण गर्ने गर्छन्। निकै कठिन मानिने छठ पर्व नेपाल र भारतमा मनाइने चलन छ।
छठ पूजाको विधि
चार दिनसम्म मनाइने कठिनको छठ पर्वमा मुख्य प्रसाद ठेकुवा हो। चार दिनको पहिलो दिन नहाय खाय हो। यो कात्तिक शुक्ल चतुर्थीको दिन हो। यस दिन ब्रतालुहरुले नुहाएर शरीर चोखो पार्ने र यसै दिनदेखि घर परिवारको कुनै पनि ब्यक्तिले माछामासु जस्ता अशुद्ध भोजन खादैनन्। घरलाई समेत लिपपोत तथा पानीले धोएर चोखो बनाइन्छ। दोस्रो दिन पंचमीको दिन हो। यस दिन ब्रतालुहरु दिनभरि निरहार बसेर साँझ पूजा गरेर सख्खर र साठीको चावलले बनेको खीर र रोटी तथा ऋतु अनुसारको विभिन्न फलफूल छठी मातालाई चढाएर एक छाक प्रसाद खान्छन्। यही प्रसाद सबै सदस्यले पनि खानु पर्छ। तेस्रो दिन मुख्य छठ पूजाको दिन हो।
कात्तिक शुक्ल षष्ठीको दिन दिनभरि निरहार बस्छन्। परिवारका सदस्यहरु चोखो भएर पूजा कोठामा छठी माताको मुख्य प्रसाद ठेकुवा बनाउँछन्। ठेकुवा, पुरी, लगाएतका विभन्न फलफूलसाथ बासले बनेको दउरी लिएर परिवारका सदस्यले नदी किनारमा गएर पूजा गर्छन्। ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्कन्छन्। केहि सदस्य घाटमै बसेर भक्ती गीत गाउँछन्। कात्तिक शुक्ल सप्तमीका दिन चौदिनमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो विधि अनुसार चार दिनको छठ पूजा पुरा हुन्छ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक, वैज्ञानिक तथा ज्योतिष मान्यता रहेको छ। पवित्र र श्रद्धाले छठ पर्व गर्दा पारिवारिक कल्याण, सन्तान सुख, तथा मनोकामना पूरा हुने जनविश्वास छ।
पौराणिक मान्यता
प्राचिन समयमा भगवान रामले रावणलाई बद्य गरेर लंकामाथि विजय प्राप्त गरेको दिन कात्तिक शुक्ल षष्ठीकै तिथि रहेको पौराण्कि मान्यता छ। त्यसै दिन रामराज्य स्थापना भएको थियो। त्यही दिन भगवान राम र सीता माताले उपवास गरी कात्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजा गरी आशिर्वाद लिएको धार्मिक मान्यता छ।
यसै दिनदेखि छठ पर्वको सुरुवात भएको मानिन्छ। सूर्य देव प्रत्यक्ष देवताको रुपमा पुजिने र ऊर्जाको ठूलो स्रोतको रुपमा पनि लिइन्छ। महाभारतमा उल्लेख भए अनुसार सूर्यपुत्र करणले हरेक दिन जलमा उभिएर सूर्यको आराधना गर्थे। सूर्यकै कृपाले उनी महान योद्धा बनेका थिए। यहीबाट छठ पूजाको सुरुवाता भएको पौराणिक मान्यता पनि छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि छठ पर्व गरेको बताइन्छ।
एकताको पर्व छठ
जानकारहरुका अनुसार छठ पर्वको आफ्नै विशेषता छ। आस्थाको पर्व छठ हिन्दुले मात्र नभएर मुस्लिम, तथा बौद्ध धर्म मन्नेहरुले पनि उत्तिकै आस्थाकासाथ गर्ने गरेको पाइन्छ। विगतमा तराइ मधेशमा मात्र मनाइने यो पर्व हाल पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। यो पर्व सबै वर्ग, जात तथा समुदायका मानिसहरु एकैसाथ एकै घाटमा साथै बसेर मनाउने भएकोले यो पर्वलाई एकताको पर्व समेत भनिन्छ।
प्रकाशित: ३ मंसिर २०७७ १३:०९ बुधबार