२३ फाल्गुन २०७७ आइतबार
समाज

महालक्ष्मी नगरपालिकाद्वारा उज्यालो नगर अभियान सुरु

धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ। नगरका हरेक घरलाई उज्यालो बनाउने उद्धेश्यले नगरपालिकाले यसै आर्थिक वर्षदेखि यो अभियान सुरु गरेको हो।

महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई शुक्रबार सोलार वितरण गरेर अभियान सुरु गरिएको छ। अभियान उद्घाटनका अवसरमा चानुवाका पाँच परिवारलाई हरेक घरमा चार/चार वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएकोे छ। बिपन्न तथा भौगोलिक बिकटताका कारण बिजुली बत्तीको पहुँचमा नपुगेका चानुवाका कर्णबहादुर खड्का, सलबहादुर विश्वकर्मा, गोपाल छाला, पुष्पराज अधिकारी र मोहन अधिकारीको परिवारलाई सोलार वितरण गरिएको हो। चानुवामा आयोजित कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेश सांसद ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान र महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले उनीहरुलाई सोलार सिस्टम हस्तान्तरण गरेका छन्।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर नेपालले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुली बत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी नगरका हरेक घर उज्यालो बनाउने उद्धेश्यले उज्यालो नगर अभियान सुरु गरिएको बताए। ‘अहिले पनि गाउँ–गाउँका केही घरमा बत्ती छैन। बत्ति नहुँदा टुकी बालेर दैनिकी चलाउँनुपर्ने बाध्यता छ।’ मेयर नेपालले भने–‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण कुनै पनि परिवार उज्यालोबाट बञ्चित नहुन भनेर निःशुल्क सोलार सिस्टम वितरण गर्ने अभियान सुरु गरेका हौं।’

आफूले पनि विगतमा बिजुली नहुँदा टुकी र सल्लो बालेर पढेको स्मरण गर्दै मेयर नेपालले अब कुनै पनि नगरबासीले यस्तो अवस्था झेल्नु नपरोस् भनेर सोलार वितरण थालिएको बताए। चानुवाबाट सुरु गरिएको यो अभियान नगरका सबै वडामा सञ्चालन गरिनेछ। बत्ती बाल्न नपाएका बिपन्न परिवारहरुबाट निवेदन संकलन गरी त्यस्ता परिवारको पहिचान गरेर सोलार सिस्टम वितरण गरिने महालक्ष्मी नगरपालिकाले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७७ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App