८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाले बजेन मादल, नाचिएन सखिया

सुनसान थारू गाउँ। तस्बिरः पुष्पराज जोशी/नागरिक

दसैंदेखि तिहारसम्मको एक महिना रातभर मन्द्रौहा र सखिया नाचले गुन्जयमान हुने थारू गाउँ यसपालि भने सुनसान बनेका छन्। कोरोनाका कारण जमघट हुन नपाउने र मनोरन्जनमा सरकारी रोकले गर्दा थारू गाउँमा यसपालि न मादल बज्यो, न सखिया नाचियो।

हरेक वर्ष दसैंदेखि तिहारसम्मको एक महिना आफूहरू गाउँमा मन्द्रौहा नाचसँगै सखिया नाचेर रमाइलो गर्ने गरेको बताउँदै गौरीगंगा–७, मट्कौनाका दानबहादुर जोगी थारूले भने, ‘यसपालि भने दसैं–तिहारमा न मादल बजाइयो, न त मन्द्रौहा र सखिया नै नाचियो।’ कोरोनाका कारण खेतीपाती स्याहारेर फुर्सदिलोमै बसेर दसैं–तिहारको एक महिना कटाइएको उनले बताए। थारू समुदायमा वर्षभरि खेतीपातीमा व्यस्त हुने र दसैंदेखि तिहारसम्मको एक महिनाको रातभर गाउँघरमा रमाइलो गर्दै नाच नाचिने चलन रहेको उनले बताए। ‘हाम्रो समुदायमा वर्षभरि खेतीपातीमा जोतिने र धान काटिसकेपछि दसंैदेखि तिहारसम्मको फुर्सदिलो समयमा रातभर मन्द्रौहा र सखिया नाचेर रमाइलो गरिन्थ्यो,’ उनले भने, ‘कोरोनाका कारण संस्कृतिमा यसपालि धक्का लाग्यो।’

कोरोनाका कारण यसपाली थारू गाउँमा मादलसमेत नबजेको बताउँदै कैलाशपुरका भलमन्सा (थारू गाउँका मुखिया) तुलराम जोगी थारूले भने, ‘मन्द्रौहा र सखिया नाच्दा जमघट तथा भेला गर्नुपर्ने भएकाले यस्तोमा कोरोना संक्रमण सर्ने डरले मादल नै बजाउन निषेध गरियो।’ बाँचेमा अर्को साल रमाइलो गरी मन्द्रौहा र सखिया नाचिने बताउँदै उनले भने, ‘मेरो मातहतका गाउँलेहरुलाई यसपालि नाच ननाचिने उर्दी गरेको हुँ।’ दसैंदेखि तिहारसम्मको एक महिनामा मन्द्रौहा र सखिया नाचसम्म नाचिने थारू गाउँ यसपालि भने कोरोनाकै कारण ननाचिएको उनले बताए।

भगवान् राम लक्ष्मणको जीवनीमा आधारित पौराणिक कथा कहानीलाई मिलाएर नाटकीय रुपमा नाचिने थारू समुदायको मन्द्रौहा नाच असोज महिनादेखि तिहारसम्म नाचिने गरिन्छ। असोजदेखि धान भित्र्याउँदै दिनभरको थकान मेट्न मन्द्रौहा नाच नाच्ने गर्दछन्। मनोरञ्जनका साथै संस्कृति संरक्षण गर्न मन्द्रौहा नाच नाच्ने गरिए पनि यसपालि भने कोरोनाकै कारण ननाचिएको अर्का थारू अगुवा गंगाराम चौधरी बताउँछन्। विशेष गरी विजया दशमीमा (ढिक्रौहा) अष्टमीको राति ढिक्री (थारु जातिको एक प्रकारको विशेष रोटी) लाई पूजा गरेर रातभर भलमन्सा (गाउँको थारू मुखिया) को घरमा जाग्राम बस्नका लागि मन्द्रौहा नाच नाच्ने गरिन्छ। तर, यसपालि ढिक्रौहामा पनि भलमन्साको घरमा नाच ननाचिएको उनले बताए। मन्द्रौहा नाचमा पुरुषलाई महिलाको नृत्य पोशाक (लेहंगा, चोली तथा गरगहना) लगाएर मादल बजाउने मान्छेसँगै नाच्ने गरिन्छ। जसलाई थारू भाषामा नचुनिया भनिन्छ। नचुनियाले नाचिसकेपछि मात्र मन्द्रौहा नाचको नाटकीय पात्रको आगमन हुने गर्दछ। रातभर मन्द्रौहा नाच नाचेपछि बिहानी पख कुखुराको डाँकोसँगै झुम्रा नाच देखाएर मन्द्रौहा नाच सकिन्छ।

भगवान् राम लक्ष्मणको जीवनीलाई आधार बनाएर दुःखीहरूको कथा कहानी मिसाउँदै मादल बजाएर देखाउने मन्द्रौहा नाच भइको पूर्व भलमन्सा वीरबहादुर जोगी थारू बताउँछन्। ‘पुरानो संस्कृतिमा मादलद्वारा नाच देखाउने गरिन्थ्यो,’ उनले भने,‘यसपालि भने हामीले गाउँमा कुनै पनि नाच देखाउन सकेनौं।’

प्रकाशित: २९ कार्तिक २०७७ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App