८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या

रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारीका रूपमा भर्खरै आएका बद्रीनाथ गैरेले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम तयार गरे। सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट सहज ढंगले छिटोछरितो सेवा पाए/पाएनन् भनी जानकारी लिने र सोहीअनुसार दैनिक कार्य सम्पादन गर्ने उद्देश्यले उनले सेवाग्राहीलाई उक्त फाराम भर्ने व्यव्स्था गरेका थिए। फाराममा सेवा लिन लागेको समय, कर्मचारीको व्यवहार, सेवा प्रक्रिया, कार्यालयबाट राखिएको अपेक्षासहित आठ प्रश्न समेटिएका थिए।

यस किसिमले प्रजिअ गैरेले केही नयाँ काम गर्न खोजे पनि पुरानै तरिकाबाटै काम भइरहँदा सेवाग्राहीको समस्या जस्ताका तस्तै छन्। ‘राहदानी नवीकरणको काम ढिलो गरी भयो,’ सेवाग्राही नैनसिंह बोहराले भने, ‘बाहिर बस्दाबस्दा झन्झट लाग्यो।’ उनले प्रशासन कार्यालयमा सेवाग्राहीको बाक्लो भिड र कार्यालयभित्र कर्मचारीको कुर्सी खाली भएको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेका छन्। अर्का सेवाग्राही प्रतिभा पौडेलले शुक्रबार सूचना हकसम्बन्धीको निवेदन लिएर जाँदासमेत सूचना पाउन नसकेको गुनासो गरिन्। ‘मैले प्रजिअलाई निवेदन दिएँ,’ उनले भनिन्, ‘उहाँले उक्त निवेदन दर्तासमेत गर्न मान्नुभएन।’

त्यसैगरी नागरिकताको प्रतिलिपि बनाउन गएकी संगीताले ओलीले दिनभरिको समय गुजार्नुप¥यो। झन्झटिलो कामले गर्दा उनले प्रशासन कार्यालयले तयार पारेको सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम भर्र्नै पाइनन्। ‘नागरिकतामा हस्ताक्षर गर्न मात्र बाँकी थियो,’ उनले भनिन्, ‘हाकिम (प्रमुख) घाम तापिरहनुभएको थियो। मलाई अहिले जानू एक घन्टापछि आउनू भनेर पठाउनुभयो।’ एक घन्टापछि जाँदा पनि हाकिम घाम तापिरहेकै अवस्थामा भेटिएको उनले बताइन्। ‘पछि म रिसाएर प्रस्तुत भएपछि तुरुन्त काम बन्यो,’ उनले भनिन्।

जिल्ला प्रशासन कार्यालयमा सहज ढंगले सेवा नपाउँदा सेवाग्राहीहरू मारमा परेका छन्। सामान्य कामका लागिसमेत घन्टौं बस्नुपर्दा हैरानी खेप्नुपरेको बिपेन ओलीले बताए। ‘राहदानी लिन जाँदा झन्झटिलो प्रक्रियाले काम बन्यो,’ उनले भने, ‘प्रशासनले पैसा जम्मा गर्न नेपाल बैंकमा पठायो। बैंकले सिधै जम्मा गर्न नमानेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा जाऊ भन्यो।’ राहदानी बनाउने पैसा जम्मा गर्न यताउता दौडधुप गर्दागर्दै समयमै काम नभएको उनको भनाइ छ। प्रजिअ गैरैले चर्चामा आउन केही नयाँ कामको सुरुवात गरे पनि त्यो प्रभावकारी नभएको उनले बताए। ‘प्रशासनको काम सकेर अरू काम गर्ने योजना थियो,’ उनले भने, ‘एकैछिनको कामलाई दिनभरि लाग्दा अरू काम सबै रोकिए।’

प्रजिअ गैरेले सेवाग्राहीलाई काम सकेर मात्र पठाउने गरेको बताए। ‘अहिले सेवाग्राहीको भीडभाड छ। स्वभावैले पहिलाजस्तो त हुँदैन,’ उनी भन्छन्, ‘सेवाग्राहीको काम नसकिएकाले ४ बजे बन्द हुनुपर्ने कार्यालय ५ बजेसम्म खुला हुन्छ।’ कर्मचारीको अभाव नभएको र बिहानदेखि काम गर्दा पनि सेवाग्राही धेरै हुँदा काम केही ढिला भएको उनको भनाइ छ। सेवाग्राहीले भरेका सर्वेक्षण फाराम हेर्नै नभ्याइएको उनले बताए। ‘उक्त फाराम मासिक रूपमा खोल्ने र कर्मचारीको बैठकबाट गुनासो सम्बोधन गर्ने योजनाले तयार पारिएको हो,’ उनले भने।

कार्यालयबाट प्रवाह भइरहेको सेवाका सम्बन्धमा सेवाग्राहीको सन्तुष्टिको स्तर मापन गर्न र सेवा प्रवाहमा सुधार गर्न पृृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले उक्त फाराम बनाइएको थियो। हाल जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा दैनिक करिब तीन सय सेवाग्राहीले सेवा लिने गरेको जनाइएको छ। सशस्त्र र नेपाल प्रहरीको दरखास्त खुलेकाले पनि सेवाग्राहीको चाप बढेको प्रजिअ गैरेले बताए।

प्रकाशित: २८ कार्तिक २०७७ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App