८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनस्थल। तस्बिर: नागरिक

नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेलादेखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निमाण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखियो। भारतलगायत अन्य देशहरुबाट फर्कनेको संख्या बढ्न थालेपछि क्वारेन्टिन भरिभराउन भए। पालिकाले क्वारेन्टिनस्थलमा बेडको संख्या बढाए भने थप व्यवस्थापनमा जुटे।

अहिले देशैभर कोभिड १९ संक्रमणको जोखिम बढ्दो छ। दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा गल्छी गाउँपालिका आइसोलेसन व्यवस्थापनमा जुटेको गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमिल्सिना लामिछाने बताइन्। ‘२६ कोठाको आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।’ उनले भनिन्, ‘सुरुमा हामीले क्वारेन्टिनलाई व्यवस्थित गरेका थियौँ अहिले संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनमा जोड दिएका हौँ।’ नेपाल सरकारको अवधारणाअनुसारको पाँच बेडको आइसोलसन निर्माण गरी सञ्चालन भइरहेको उनले बताइन्।

चाडपर्वलाई लक्षित गरेर विभिन्न ठाउँबाट घर फर्केकाहरु र लक्षण नदेखिएकाहरुलाई पालिकाले होम आइसोलसनमा बस्न आग्रहसमेत गरेको छ। होम आइसोलसनमा बसेकाहरुको पालिका, वडाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्थाबारे नियमित रुपमा जानकारी लिने गरेको उपाध्यक्ष तिमिल्सिनाले बताइन्। अहिले व्यवस्थापन गरिएको आइसोलेसनमा एमबिबिएस डाक्टर, नर्सलगायतका टोलीसमेत परिचालित गरेको उनले बताइन्।

चाडपर्वमा भारतलगायत देशकै अन्य क्षेत्रबाट गाउँ फर्कनेहरुलाई लक्षित गरी अन्य स्थानीय तहहरुले पनि आइसोलेसन व्यवस्थापनमा जुटेका छन्। सुरुवाती चरणहरुमा हतार हतारमा विद्यालयहरुमा क्वारेन्टिन बनाइएको भए पनि व्यवस्थापन फितलो भएको र संक्रमणको झनै जोखिम भएको गुनासो आउन थालेपछि नयाँ ठाउँमा क्वारेन्टिन बनाउन थालिएको हो। नयाँ ठाउँमा क्वारेन्टिन बनाएसँगै धादिङका सातवटा स्थानीय सरकारले क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदै आचारसंहिता समेत जारी गरेका छन्।

स्वास्थ्य सरसफाइ, सदाचार, महिला तथा बालबालिका, अपाङगता वृद्धवृद्धाको लागि पालना गर्नुपर्ने नियमहरु तथा क्वारेन्टिनमा गर्न हुने र नहुने कामहरुको विषयमा आचारसंहिता बनाएर लागु गरिएको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए। ‘क्वारेन्टिनमा रहने सबैबाट पहिले आचारसंहिता पूर्ण रुपमा पालना गर्नको लागि प्रतिबद्धता माग्छौँ,’ उनले भने, ‘हामीले क्वारेन्टिनमा न्यूनतम पूर्वाधारहरुका सबै व्यवस्था गरेका छाैँ, यसरी राख्दा संक्रमण फैलन नदिने अपेक्षा गरेका छौँ।’

क्वारेन्टिनमा रहेकाहरुले पनि सुरुवाती चरणमा भन्दा अहिले धेरै नै सुधार आएको भारतबाट फर्किएर क्वारेन्टिनमा बसेर घर फर्किएकी ज्वालामुखी गाउँपालिका वडा नं २ कि गोमा श्रेष्ठले बताइन्। ‘विद्यालयमा बनाइएको क्वारेन्टिन अव्यवस्थित भयो, खानेपानी, शौचालयको अभाव भन्ने सुनिन्थ्यो,’ उनले भनिन्, ‘विशेष कामले म भारत गएर फर्किनुपरेकाले यहाँ बसेको छु, स्वास्थय, सरसफाइमा निकै नै सचेत र सर्तकर्ता अपनाएको छ पहिले भन्दा धेरै सुधार भएको रहेछ।’

स्थानीय सरकारले क्वारेन्टिन बनाएको क्षेत्रमा स्वास्थ्य र सरसफाइ लागि एक्सन नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ। डिसिएसँगको साझेदारीमा एक्सन नेपालले सञ्चालन गरेको पूर्णिमा परियोजनाले धादिङका सात स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिनहरुमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि, क्वारेन्टिनमा इन्टरनेट, टेलिभिजन, व्यवस्थित शौचालय तथा छुट्टै स्नानघरसमेत निर्माण गरिदिएको छ।

क्वारेन्टिन, आइसोलेसनमा आचार संहिता निर्माण देखि क्वारेन्टिनमा भौतिक पुर्वाधारहरु बनाउने काममा परियोजनाबाट सहयोग गरेको एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुंगानाले बताए। ‘क्वारेन्टिन, आइसोलेसन अव्यवस्थित भएको जनगुनासो आएसँगै स्थानीय तहहरुसँग समन्वय गरेर थप व्यवस्थित गरेका हौँ,’ उनले भने, ‘क्वारेन्टिन, आइसोलेसनमा बस्ने सबैलाई प्रतिव्यक्तिका हिसाबले स्वास्थ्य र सरसफाइका सामानसमेत उपलब्ध गराएका छौँ।’

कोभिड १९ संक्रमणको सुरुवाती चरणहरुमा धादिङमा क्वारेन्टिन व्यवस्थापन निकै फितलो देखिएको थियो। धेरैजनालाई एकैठाउँमा राख्नुपर्ने, स्वास्थ्य र सरसफाइमा झनै जोखिम भएको जस्ता गुनासो आइरहेको बेलामा स्थानीय तहहरुले मापदण्ड, आचारसंहिता निर्माणदेखि थप व्यवस्थापनमा जुटेका हुन्। स्थानीय सरकारहरुले क्वारेन्टिनमा रहेकालाई मनोरामर्शको आवश्यक परेको खण्डमा परामर्श दिनेसमेत व्यवस्था मिलाएको छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App