८ वैशाख २०८१ शनिबार
समाज

अधिकारकर्मी बन्दनाको अनुभव: उहिले गाली, अहिले ताली

करिब तीन दशकअघि अधिकारकर्मी वन्दना राणाले घरेलु हिंसामा परेका महिलाको पक्षमा काम गर्न खोज्दा घर भाँड्न खोजेको आरोप लाग्यो । त्यो घटना उनले बिर्सन सकेकी छैनन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी राष्ट्रसंघीय समिति (सिड) मा दोस्रो कार्यकालका निम्ति मंगलबार बिहान निर्वाचत हुँदा उनले त्यति बेला भोगेको पीडा सुखानुभूतिमा रुपान्तरण भएको छ ।  

राणा सिडको दोस्रो कार्यकाल (सन् २०२१–२०२४) का लागि पुनः निर्वाचित भएकी हुन् । उक्त समितिमा निर्वाचित १९ सदस्यमध्ये राणाले बढी मत ल्याइन् । उनलाई १ सय ३७ मत प्राप्त भयो । उनी यसअघि सन् २०१६ मा पनि निर्वाचित भएकी थिइन् । हाल उनी सिड कमिटीको उपाध्यक्षसमेत हुन् ।

राणा न्युयोर्कमा दोस्रो कार्यकालका लागि सिडमा निर्वाचित भएको खबर सार्वजनिक हुँदै गर्दा प्रत्यक्ष टेलिफोनबाट र सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना तथा बधाई दिनेको ओइरो लागिरहेको छ । तीन दशकअघिसम्म महिलाका कुरा उठाएर अरुको घर भाँड्न खोजेको भन्दै गाली खानुपथ्र्याे । तर उनले आफ्नो यात्रालाई मोडिनन् । 

‘हामी यसमा सहमत थियौं, त्यसैले हाम्रो कामलाई निरन्तरता दियौँ,’ उनले भनिन् । समयको परिवर्तनसँगै उनको कामको मूल्यांकन हुँदै गयो ।  

नेपालमा घरेलु हिंसामा परेका महिलालाई आश्रय दिन पहिलो महिला आश्रयस्थल खोल्ने श्रेय उनैलाई जान्छ । उनले आठजना साथीसँग मिलेर सन् १९९२ मा स्थापना गरेको साथी संस्थाले सन् १९९५ मा काठमाडौंको मैतीदेवीमा पहिलो आश्रयस्थल खोलेको थियो । अहिले पनि साथी संस्थामार्फत चारवटा आश्रयस्थल सञ्चालन गरिरहेको उनी बताउँछिन् । लामो समय उक्त संस्थाको अध्यक्ष रहेर काम गरेकी उनले अहिले पनि सहसंस्थापकका रुपमा सहयोग गरिरहेकी छन् ।  

ललितपुर जाउलाखेलकी स्थायी बासिन्दा राणा सन् १९९१ तिर नेपाल टेलिभिजनमा काम गर्थिन् । त्यति बेला मानवअधिकारसम्बन्धी वृत्तचित्र निर्माणका क्रममा उनी विभिन्न दुर्गम जिल्लामा पुगिन् । वृत्तचित्र निर्माणका क्रममा उनले महिलासँग कुरा गर्न खोज्थिन् तर उनीहरू भने सकेसम्म तर्किन खोज्थे । उनले वृत्तचित्रका लागि महिलाको आवाज लिन नै गाह्रो भएको महसुस गरिन् । ‘हामीले महिलासँग बोल्न खोज्दा पुरुष नै बोल्न आउँथे । यसबारेमा जानकारी लिन खोज्दा पुरुषले महिला बोल्न जान्दैनन्, लजाउँछन् भन्थे । त्यसको कारण खोज्न म केही समय गाउँमै बसें’, उनले भनिन् ।  

महिला खुल्न नखोज्नुको कारण पत्ता लगाउन उनी बिहानै पानी भर्ने ठाउँमा पुग्थिन् । कारण खोज्दै जाँदा महिलाको सबैभन्दा ठूलो दुःख घरेलु हिंसा भएको उनले थाहा पाइन् । दुर्गम क्षेत्रका महिलाले सानोसानो कुरामा पनि घरभित्रै हिंसा र यातना भोगिरहेको थाहा पाएपछि उनले महिलामाथि हुने घरेलु हिंसाविरुद्ध काम गर्ने निधो गरिन् । ‘महिलाले भोगिरहेका यस्ता हिंसा र दुःखका समाचारले सञ्चार माध्यममा समेत स्थान नपाएको थाहा पाएपछि यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्यो’, सिडमा निर्वाचित भएपछि मंगलबार नागरिकसँग उनले भनिन् ।  

राणा सकेसम्म काम गर्न विदेश जान नपरोस् भन्ने चाहन्थिन् । महिला अधिकारकै क्षेत्रमा काम गर्ने क्रममा उनले सन् १९९५ मा बेइजिङमा आयोजना भएको चौथो विश्व महिला सम्मेलनमा सहभागी हुने अवसर पाइन् । त्यहाँबाट उनलाई यस क्षेत्रमा थप काम गर्ने प्रेरणा मिल्यो । उनी नेपालमै बसेर महिला हिंसाविरुद्ध काम गर्न थालिन्, जसले उनलाई नेपालमै बसेर अन्तर्राष्ट्रिय मञ्चमा काम गर्ने अवसरसमेत जुराइदियो । नेपालमै बसेर अन्तर्राष्ट्रिय जगत्सँग मिलेर काम गर्न पाउँदा आफूलाई गर्व र खुसी दुवै मिलिरहेको उनी बताउँछिन् । उनी सिडको कार्यक्रममा सहभागी हुन एक वर्षमा तीनपटक विदेश जाने गर्छिन् । त्यसबाहेक अधिकांश समय नेपालमै बसेर महिला विभेद अन्त्यका क्षेत्रमा काम गर्दै आएकी छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी राष्ट्रसंघको २३ सदस्यीय महत्वपूर्ण समितिमा पुग्ने उनी पहिलो नेपाली हुन्।

प्रकाशित: २६ कार्तिक २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App