८ वैशाख २०८१ शनिबार
समाज

बस्ती र पुल बगाएको ३ वर्षपछि रिभानमा पुनः पुल निर्माण शुरु

पुलको शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत। तस्बिर: सन्देश/नागरिक

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रिभानमा पहिरोले पुल बगाएको ३ वर्षपछि पुनः मोटरेवल पुल निर्माण गरिने भएको छ। २०७४ साल साउन २४ गते आएको पहिरोले ११ घरसहित त्यहाँस्थित मोटरेवल पुल बगाएको ३ वर्ष ३ महिनापछि पुनः मोटरेवल पुल निर्माणको काम शुरु भएको हो। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ स्थित रिभान खहरे खोलामा निर्माण हुन लागेको पुलको मंगलबार गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले पुलको शिलान्यास गरे।

पर्यटकीय क्षेत्र लाहाचोक–ल्वाङ रोडमा पर्ने उक्त पुल गण्डकी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार कार्यालय गण्डकी प्रदेश पोखराको ५ करोड ९८ लाख ३० हजार ६ सय ८२ रुपैयाँको लगानीमा निर्माण हुन लागेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए।

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालको विशेष पहलमा बन्न लागेको २ लेनको पुलको लम्बाई ४० मिटर हुने गण्डकी प्रदेश प्रमुख दीनेश घिमिरेले जानकारी दिए। आरसी डेक स्ल्यावसहित स्टिल प्लेट ग्रिडरको आरसिसी पुलको दुबैतर्फ १.२ मिटरको फुटपाथसमेत हुने उनले बताए।

पुल निर्माणको जिम्मा एमएस ईन्द्रेणी/फेवा जेभी पोखरालाई दिइएको छ। २०७८ साल असोज ६ गतेसम्म पुल निर्माण गरिसक्ने म्याद तोकिएपनि सोहि वर्षको असार मसान्त सम्ममा पुल निर्माण गरिसक्ने भनेर निर्माण कम्पनी एमएस ईन्द्रेणी/फेवा जेभी पोखराले प्रतिबद्धता जनाएको पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए।

पुल निर्माणपछि पोखरा गाउँपालिकाका वडा नम्बर ५, ४, ९ र ८ का कुईबाङ, ताक्रो, सैंतीघट्ट, सिदिङ, मोहराबासी लाभान्वित हुने पोखरा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए।

पुल निर्माणको शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार आएपछि विकासको गति बढेको दाबी गरे। दशकौं वर्षसम्म संघीय सरकारको आँखामा नपरेका ठाउँ र जनताको विकास र समृद्धीका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै उनले यसमा संघीयता आउनुको फाईदा भएको बताए। उनले यसै वर्ष प्रदेश सरकारले गण्डकी प्रदेशलाई उज्यालो घोषणा गर्ने तयारी गरेको जानकारी दिए। उनले भने, ‘दक्षिणको नवलपुरको होप्सीकोटदेखि मनाङको कुना कन्दरासम्म हामी उज्यालो बनाएरै छाड्छौं र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्छौं।’

मन्त्री बस्नेतले काठे पोलपनि यसैवर्ष हटाई सक्ने दाबी गरे। काठे पोलको सट्टामा स्टिल र फलामको पोल राख्ने काम तिव्र रुपमा भइरहेको र यसैवर्ष त्यो काम पूरा हुने उनको भनाई छ। उनले यहि वर्षमा एक घर, एक धारापनि पु¥याउनेपनि उल्लेख गरे।

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले पोखरा खानेपानीको मुहान हालको ठाउँबाट ३ किलोमिटर माथि लुम्रेमा सार्नुपर्ने बताए। सांसद बरालले यसअघी प्रदेश सभा बैठकमापनि कुरा उठाएको स्मरण गराउँदै यसो गरेमा खानेपानीका उपभोक्ता, स्थानिय र सरकार तीनै क्षेत्रलाई फाईदा हुने बताए। 

हाल रहेको खानेपानीको मुहान क्षेत्र प्रदुषित भएकाले त्यहाँबाट आएकोपनि प्रदुषित हुने, मुहान क्षेत्र भएकाले त्यहाँ जम्मा भएका गिट्टी वालुवासमेत निकाल्न नपाएको तथा सोहि गिट्टी वालुवा ननिकाल्दा गिट्टी वालुवा भरिएर पानी बस्तीतर्फ छिर्दा नजिकका बस्ती नै जोखिममा परेको उनले तर्क गरे। सांसद बरालले खानेपानीको मुहान सार्दा पोखरेलीले स्वच्छ र सफा पानी पिउन पाने, जोखिमपूर्ण बस्तीलाई जोगाउन सकिने र त्यहाँ जम्मा भएको गिट्टी वालुवासमेत निकाल्दा गाउँपालिकाको आम्दानीसमेत बढ्ने भएकाले सबैलाई फाईदा पुग्ने बताए।

प्रकाशित: २५ कार्तिक २०७७ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App