coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाको नाममा सपथ, चेकजाँच गर्न घरदैलोमै स्वास्थ्यकर्मी

बेनीबजारमा जनस्वास्थ्यको मापदण्डको प्रयोग गर्न सपथ खुवाउँदै । तस्बिर : हरिकृष्ण गौतम

स्वास्थ्यकर्मीले हातमा कोरोना भाइरस रोकथाम सम्बन्धि लेखिएको जनस्वास्थ्यका मापदण्ड समातेर बसेका छन्। नजिक स्थानीयबासीले जनप्रतिनिधिसहितको उपस्थितीमा कोरोना भाइरसविरुद्धको अभियानमा साथ दिने, संक्रमणबाट जोगिने सबै मापदण्डको पालना गर्ने,गराउने भन्दै सपथ खादैछन्। कोरोना संक्रमणको जोखिमले बेनी नगरपालिकाले आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको समयमा नगरपालिकाले कोरोनाको अवस्था बुझ्न ‘कम्युनिटी टेष्ट स्किृनिङ’ सहित आइतबारदेखि घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अभियान सुरु गरेको हो।  

जिल्ला संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी)र स्वास्थ्य कार्यालयसँगको समन्वयमा वडा नं ७र८ को घर–घरमा पुगेर ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको चेकजाँच, मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दूरी कायम लगायत स्थानीयलाई कोरोनाविरुद्धको अभियानमा निरन्तर सक्रिय रहने भन्दै एकल तथा सामूहिक सपथग्रहण समेत गराइएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए। ‘बेनीबजार नै संक्रमणको उच्च जोखिममा छ, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकालाई घरमा अलग्गै बस्न, स्वाब संकलनमा नाम टिपाउन अनुरोध गरेका छौ’ श्रेष्ठले भने। उनले बजारक्षेत्रबाट सुरु भएको अभियानलाई सबै वडामा पु¥याउने बताए। जिल्ला संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारीले शंकास्पद बिरामीको पहिचानले कोरोनाबाट जोगिन सहज हुने बताए।  

‘स्वाब दिएर समेत घर बाहिर जाने गरेको पाइएको छ, रिर्पोट नआउँदासम्म घरबाट बाहिर ननिस्कन भनेका छौ, समुदायको साथ भएमा कोरोनाबाट जोगिन सहज हुन्छ’ प्रजिअ अधिकारीले भने। म्याग्दीका ६ वटा स्थानीय तहमा सबैभन्दा बढी बेनी नगरपालिका जिल्लामा सबैभन्दा जोखिममा रहेको छ। जिल्ला बाहिर गएको ट्राभल हिष्ट्री समेत नभएकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङका बाहेकको पहुँचमा समेत स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिका स्वास्थ्य संयोजक लिला गौतमले बताईन्। उनका अनुसार अझै मास्कको प्रयोग लगायतका विषयमा समेत सर्वसाधारणलाई जानकारी नभएकाले समस्या भएको बताए। गत कात्तिक १४ गते यता एकसाताको अवधिमा जम्मा १ सय ८ जनाको स्वाबको पिसिआर परीक्षणमा १९ जनाका कोरोना पुष्टि भएको भएको थियो।  

अभियानमा उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल लगायतको उपस्थिती रहेको थियो। संक्रमित भेटिएका आसपासका क्षेत्रका साथै कोरोनाको लक्षण भएकाको खोजी गर्ने गरी ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को योजना बनाउन नसक्दा थप जोखिम बढेको थियो। संक्रमित र उनीहरुको सम्पर्कमा आएका ब्यक्ति बाहेक समुदायमा कोरोना छ कि छैन भनेर जानकारी लिनका लागि सजिलो होस भनेर समुदायस्तरमा टेष्ट गरिन्छ।

जिल्लाको मालिका गाउँपालिकामा समेत घरदैलो, टोल, विद्यार्थीलाई जानकारी सहितको अभियान सुरु भएको उपाध्यक्ष खरमायाँ विटालुले बताईन्। ‘काजकृयामा भेट्न जानेलाई अनिवार्य मास्क वितरण गरिएको छ,‘समुदायमा घुलमिल हुन दिइएको छैन’ विटालुले भनिन्। जिल्लाका अन्य स्थानीय तहले समेत चाडपर्व लक्षित कार्यक्रम सहित अभियान सञ्चालन गरेका छन्।

प्रकाशित: २३ कार्तिक २०७७ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App