coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वको स्वादिलो कटिया पश्चिममा पनि लोकप्रिय

खसीको मासुबाट बनाइने मीठो परिकारको नाम हो– कटिया। जुन माटोको भाडामा हालेर पकाएर बनाइन्छ। कुनै बेला रौतहटमा मात्र पाइने यो परिकार अहिले राजधानी (काठमाडौं) हुँदै पश्चिम नेपालमा पनि लोकप्रिय बन्दै गएको छ।  

बाँकेका ओमप्रकाश चापागाईंले कटियाका पारखीका लागि होटल नै सञ्चालन गरेका छन्। बाँकेको कोहलपुर वडा नं २ को मनकामना चोकमा उनले ‘अर्गानिक होटल एन्ड डिभाइन डिस’ खोलेर ग्राहकलाई कटियाको स्वाद चखाइरहेका हुन्।  

होटल सञ्चालक चापागाईंले खसीको मासुबाट बन्ने निकै मीठो परिकार कटियाले ग्राहकलाई लोभ्याउने विश्वासले नै होटल खोलेको बताए।  

नेपालमा यो स्वादिष्ट परिकार सबैभन्दा पहिले रौतहटको गरुडामा बनाउने प्रचलन सुरु भएको बताइन्छ। वैदेशिक रोजगारीका सिलसिलामा ८ वर्ष मलेसिया बस्ने क्रममा रौतहटकै साथीबाट कटिया बनाउन सिकेको चापागाईंले सुनाए।  

माटोको भाँडामा पकाएको मासु अर्थात् कटियाको मौलिक स्वादसहित मासुका अन्य विभिन्न स्वादिला परिकार पनि आफ्नो होटलमा पाइने उनले जानकारी दिए।  

मटन बिर्यानी, चिकन समोसा, लोकल कुखुरा, मार्सी चामल, घीउ, मह, सिमीलगायत अर्गानिक खाद्य पदार्थको स्वाद पनि आफ्नो अर्गानिक किचनमा पाइने चापागाईंले जानकारी दिए।  

डिभाइन डिसले माटोका भाँडामा बनाइएका खानेकुरालाई पहिलो प्राथमिक्तामा राख्ने गरेको छ। ‘हामी ग्राहकलाई सकेसम्म अर्गानिक खुवाउने पक्षमा छौं,’ नागरिकसँग उनले भने।  

कसरी बन्छ कटिया ?  

माटोको विशेष खालको भाँडोमा पकाइने खसीको मासुलाई कटिया भनिन्छ। प्याज, जिरा, अदुवा, सुकेका खुर्सानी, मरिच, बेसार, लोकल लसुन, मसला र खसीको मासु माटोको भाँडोमा हालेर करिब डेढ घन्टा कोइलाको तापमा पकाएपछि कटिया तयार हुन्छ।  

माटोकै भाँडामा पकाएको खसीको बिर्यानी पनि खुवाउने गरेको होटल डिभाइन डिसका सञ्चालकले कटिया कसरी बनाइन्छ भन्नेबारे पनि हामीलाई जानकारी दिएका छन्।  

घरमै यसरी बनाउनुहोस् मटन कटिया  

आवश्यक सामग्री : खसीको मासु ३५० ग्राम जिरा, धनियाँ, ल्वाङ, सुकमेल, तेजपत्ता, स्टारफूल, दालचिनी, ठूलो इलाइची, मरिचका दाना, प्याज, लसुन, नुन र बेसार। डिभाइनमा विषेश खालको मसला पनि राखिन्छ, जुन आफ्नै रेसिपी हो। १७ वटा मसला हालेर गरम मसला बनाइन्छ, जुन दुई चम्चा हाल्ने।  

बनाउने विधि : बलिरहेको कोइलाको आगोमा माटोको भाँडो (मट्का) बसाल्ने। अनि ५० ग्राम तेल हाल्ने। यसअघि तयार मसला, नुन, बेसार र खुर्सानी हाल्ने। यी सबै मसला नपिसीकन अर्थात् खडा मसला हाल्ने ।  

अब मासु र प्याज राख्ने। आगोमा डेढ घण्टा पकाउने। बीच–बीचमा मासुलाई चलाउने। माटोको प्यालाले छोप्ने। अब तयार भयो तपाईको मटन कटिया।  

डिभाइन डिसले अहिले ५ जना अर्गानिक कुकलाई रोजगारी दिएको छ। ६ सय रुपैयाँ मूल्य निर्धारण गरिएको कटिया खान टाढाटाढाबाट ग्राहक आउने गरेको चापागाईंले बताए। उनी भन्छन्, दाङ, सुर्खेत, नेपालगन्ज, बर्दियाबाट मात्र नभई कैललीदेखि दैलेखसम्मका मानिस यहाँ आउनुहुन्छ, आफ्नो गन्तव्यमा हिँडेका यात्रु पनि यहाँ कटिया खाएर जानुहुन्छ।’

पश्चिम नपालकै उत्कृस्ट कटिया हाउस बनाउने लक्ष्य रहेको उनले बताए। बजारिया मसला प्रयोग नगरी एकदमै अर्गानिक खानेकुरा खुवाउने गरिएको उनको भनाइ छ।  

उनका अनुसार माटोका भाँडोमा पकाइएका चिया, भक्तपुरको प्रसिद्ध जुजु धौको मजा पनि यहाँ आउने ग्राहकले लिन सक्नेछन्। अझ विशेषगरी लामो दूरीका यात्रुको रोजाइमा ‘डिभाइन डिस’ पर्ने गरेको उनले सुनाए।

प्रकाशित: १९ कार्तिक २०७७ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App