८ वैशाख २०८१ शनिबार
समाज

कार चालकलाई लगाइयो फोहर टिप्न

वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन्। वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा शङ्खमूल नदी किनारमा वा ७ च २४७५ नंको कार चालकले सुर्ती खाएर खोल नदी किनारमा फालेको देखेपछि अभियानकर्मी डा. लक्ष्मी पौडेल नेतृत्वको समूहले फोहर टिप्न लगाएको हो।  

शङ्खमूल क्षेत्रको वाग्मती र मनोहरा नदी किनारको दोभान क्षेत्रमा ३९० औँ हप्ताको सफाइ अभियान सम्पन्न भएको छ। सफाइ गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले सुनाइन्। यसैगरी पशुपति क्षेत्रको भष्मेश्वरघाट परिसरमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ। त्यस क्षेत्रमा विगत हप्ताभन्दा सफा भेटिएको उनले जानकारी दिइन्।

विष्णुमती माथिल्लो भेग सफाइ अभियानको नवौँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ। चाडबाड एवं कोरोना सङ्क्रमण फैलिरहे पनि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए। यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती र मनोहरा, ललितपुरको गोदावरी खोला तथा चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ। 

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाभियान शुरु भएको थियो। महाभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड एवं मुख्यमुख्य शहर गरी देशभर १०६ स्थानभन्दा बढी ठाउँमा सफाइ अभियान शुरु भएको छ। कोरोनाको महामारीका बीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सबै क्षेत्रमा सफाइ अभियान जारी रहेको जनाइएको छ।

सफाइ महाभियान चाडपर्व, जाडो, वर्षा एवं कोरोनाको महामारीका बीच पनि जारी रहेको छ। कोरोनाका कारण बन्दाबन्दी जारी भएपछि गत चैत ११ गतेदेखि भने नदी किनार नजिकै बस्ने अभियानकर्मीले महाभियानलाई निरन्तरता दिँदै आएका छन्। नदी किनारभन्दा टाढा निवास हुने अभियानकर्मीले भने टोल सफाइ गर्दै कोरोनाविरुद्धको चेतना अभियानलाई समेत निरन्तरता दिएका छन्। रासस

प्रकाशित: १५ कार्तिक २०७७ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App