१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकैगाउँमा ४ हजार बोट गाँजा फँडानी

उदयपुरको एउटै गाउँपालिकामा लगाइएको ४ हजारभन्दा बढी गाँजाको बोट प्रहरीले फाँडेर नष्ट गरेको छ। जिल्लाको ताप्ली गाउँपालिका ५ रुपाटार प्रहरी चौकीबाट खटेको टोलीले बिहीबार र शुक्रबार दुई दिन लगाएर ताप्लीका विभिन्न गाउँबस्तीमा लगाइएको गाँजा खेती फँडानी गरेको हो।  

बिहीबार खटेको टोलीले ताप्ली ४ लखनडाँडास्थित एउटै गाउँमा लगाइएको ६ रोपनी जमिनको गाँजा खेती नष्ट गरेको थियो । त्यस्तै सोही चौकीबाट खटेको शुक्रबारको टोलीले सोही वडाको थुम्की र थानागाउँको २ रोपनी क्षेत्रफल जमिनमा लगाइएको १ हजार बोट गाँजा खेती नष्ट गरेको चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा लगाइएको अवैध गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत टोली खटाएर बिभिन्न ठाउँमा गाँजा फँडानी गर्ने क्रम चलिरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।  

उनका अनुसार यसअघि पनि प्रहरीले ३१ हजार बोट गाँजा फँडानी गरेर नष्ट गरिसकेको छ । यसअघि जिल्लाको बेलका नगरपालिका ७ र ८ नं.वडामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको टोलीले बेलका ७ र ८ का विभिन्न गाउँमा लगाइएको ३१ हजारभन्दा बढी बोट गाँजा दुईदिन लगाएर फँडानी गरी नष्ट गरेको हो । खासगरी पहाडी भेगमा मौलाउँदै गरेको गाँजा खेती नष्ट गर्ने क्रम वर्षेनी प्रहरीले गर्दै आएको छ । वर्षेनी फँडानी गरेर नष्ट गर्ने गरे पनि गाँजा खेती गर्ने क्रम भने रोकिएको छैन ।  

पहाडी भेगमा सिंचाईको सुविधा नभएका कारण अन्नबाली राम्रो उत्पादन नहुने हुँदा परम्परागत कृषि पेशाप्रति स्थानीयको बिकर्षण हुदा नगदे बाली गाँजा खेती मौलाउने गरेको हो । अन्न उत्पादन कमी आउँदा स्थानीयले परिवार पाल्न र दैनिक जिविकोपार्जनका लागिसमेत गाँजा खेतीलाई नै माध्याम बनाउने गरेका कारण यसप्रति आकर्षण बढ्ने गरेका उनीहरुको भनाइ छ । नगदे बाली गाँजा खेती कानुनी रुपमा वर्जित रहे पनि कारबाहीको जोखिम मोल्दै पनि स्थानीय आफ्नो बारीमा गाँजा उत्पादन गर्दै आएको पाइएको छ ।  

गाँजा जस्तो सुकै जमिनमा सिंचाई, मल र गोडमेल नगरी आम्दानीको राम्रो स्रोत हुने गरेकाले स्थानीय यसप्रति आकर्षित हुने गरेका छन् । कानुनी रुपमा अवैध मानिने भएकाले गाँजा उत्पादन, प्रशोधन, बिक्री वितरण र ओसारपसार तथा प्रयोग गरेको आरोपमा वर्षेनी दर्जनौं किसान, व्यापारी, प्रयोगकर्ता र उत्पादकहरु पक्राउ पर्दै कानुनी कारबाहीको भागीदार हुँदै आएका छन् । पक्राउमध्ये कतिपय वर्षौंसम्म जेल जीवन व्यतित गर्न बाध्य हुँदै आएका छन् भने कतिपय प्रहरी कस्टडीको तितो कष्ट भोग्न तथा आर्थिकरुपमा दण्ड जरिवानाको भागीदार हुने गरेका छन् । गैरकानुनी काम गरेको आरोपमा सजायको भागीदार बनिरहँदा पनि गाँजा खेती गर्नेको कमी नआउनुले गाँजालाई वैद्यता दिनु एक मात्र बिकल्प नभएको आवाजसमेत उठ्दै आएको छ । प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले गएको अधिवेशनमा संसदमा गैरसरकारी विधेयक दर्ता गरेरै गाँजालाई कानुनी मान्यता दिन माग गरिसकेका छन् । उनले गाँजालाई करको दायरामा ल्याउदै राजश्व संकलन र स्थानीय किसानलाई आयआर्जनको माध्याम बनाउनुपर्ने दलिल पेश गरिरहँदा उनको विधेयक संसदमा विचाराधीन अवस्थामा छ । गाँजा खपतको मुख्य बजार भारतीय सहर बजार भएकाले नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिनसके राष्ट्रिय आयस्रोत बढेर देशकै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने जिकिर सांसद तामाङको छ ।  

पछिल्लो समय सामाजिक अगुवाहरुबीचसमेत गाँजालाई कानुनी मान्यता दिएर राजश्व संकलन र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा बाक्लो बहस हुन थालेको छ । तराईका भावरदेखि उच्च पहाडी भेगको चिसो भूभागमा उत्तिकै सप्रने गाँजाको कानुनी वैद्यताबारे चलिरहेको बहसलाई राज्यले किनारा नलगाएसम्म प्रहरी प्रशासनको गाँजा फँडानी र निरीह किसानको खेती गर्ने क्रम नरोकिने सामाजिक अगुवाहरुको ठम्याई छ ।  

 

क्याप्सनः गाँजा फँडानी गर्दै प्रहरी । तस्विरः महेश्वर

 

प्रकाशित: १५ कार्तिक २०७७ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App