१६ चैत्र २०८० शुक्रबार
समाज

कब्रिस्तान विवाद : ‘मेरो श्रीमानको बाटो खुलाइदिनुस्’

तस्बिरः पुष्पराज/ नागरिक

शनिबार बिहान नागरिककर्मी मोहमद जमसेदको घरमा पुग्दा उनकी ४५ वर्षीया पत्नी हदिता खातुन आलाप गर्दै पत्रकारलाई गुहार्दै थिइन्–‘हजुर मेरो श्रीमानको बाटो खुलाइदिनुस् ।’ धनगढी उपमहानगरपालिका–१, पशुपति टोलका ५० वर्षीय मोहमद जमसेदको शुक्रबार बिहान मृत्युपछि उनको मुस्लिम संस्कारअनुसार अत्येष्टि हुन सकेको छैन। जमसेदको शुक्रबार बिहान दुवै मिर्गौलाले काम गर्न छाडेपछि सेती प्रादेशिक अस्पतालमै मृत्यु भएको थियो। गत विहीबार कोरोना संक्रमित एक मुस्लिम महिलालाई प्रशासनले कब्रिस्तानमा शव व्यवस्थापन गरेपछि आन्दोलित स्थानीयले सोही दिनदेखि कब्रिस्तानको मूल गेटमा तालाबन्दी गरेका थिए। तालाबन्दीका कारण मृत्यु भएका मोहमद जमसेदको शव २४ घण्टादेखि अत्येष्टि हुन नसकेको हो।  

‘हिजोदेखि शव घरमै राखेर बसेका छौँ,’ पत्नी खातुनले नागरिकर्मीसँग भनिन्, ‘धेरै समय भयो, शव अत्येष्टि गर्न पाएका छैनांै, श्रीमानको शव अन्त्येष्टिका लागि बाटो खुलाइदिन सहयोग गरिदिनुस् ।’ पुस्तौंदेखि कब्रिस्तानमा शव व्यवस्थापन गर्दै आएको बताउँदै उनका छोरा सद्दामले भने,‘हाम्रो परबाजे र बाजेलाई त्यही कब्रिस्तानमा गाडिएको छ, बुबालाई पनि त्यहीँ अन्त्येष्टि गर्न पाउनुपर्छ ।’  

केही स्थानीयका कारण कब्रिस्तानमा गरिएको तालाबन्दीले आफ्नो बुबाको शव मुस्लिम संस्कारअनुसार अन्त्येष्टि गर्न नपाएको भन्दै उनले दुःखेसो पोखे। २०१५ मा स्थापना भएको कब्रिस्तान वरपर अहिले आएर बस्ती बसेका कारण तुरुन्तै हटाउनु पर्ने माग गलत भएको बताउँदै उनले भने,‘२४ घण्टादेखि शव आँगनमै छ, यस्तो बेला मानवीयता देखाउनुको साटो झन दुःख दिनु गलत हो ।’ प्रशासनले पनि चाँडो निकास निकालेर बुबाको अन्त्येष्टिका लागि सहजीकरण गरोस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए।  

नेपाली नूरी जामा मस्जिद संघका सदस्य पप्पु कुरैसीले २४ घण्टादेखि शव आँगनमै रहँदा पनि सरकार र प्रशासनले कुनै पहल नचालेको भन्दै आक्रोस पोखे। उनले भने, ‘यस्तो दुःखको घडीमा त कमसेकम शव व्यवस्थापन गर्न दिनु पर्ने हो ।’ कोरोना संक्रमितको शव गाडिएको प्रति आफूहरुलाई कुनै जानकारी नभएपनि मिर्गौलाका कारण मृत्यु भएको छिमेकीको शव भने त्यही कब्रिस्तानमा गाड्न पाउनु पर्ने आफूहरुको माग रहेको उनले बताए। ‘हामी २४ घण्टादेखि धैर्य छौ,’ उनले भने, ‘हाम्रो सीमाको बाँध नफुटोस् र धार्मिक सद्भाव पनि नबिग्रियोस् भन्ने चाहेका छौँ ।’  

मानववस्तीसँगै जोडिएको कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध स्वरुप कब्रिस्तानमा गरिएको तालाबन्दी नखुल्दा उनको शव व्यवस्थापनमा समस्या सिर्जना भएको हो।  जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले स्थानीय र मुस्लिम समुदायबीच शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताए। उनले भने,‘हामी चाँडै यसको समाधान निकाल्छौँ ।’  

प्रकाशित: १५ कार्तिक २०७७ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App