१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुत्केरी मृत्यु प्रकरणः अस्पतालको लापर्बाहीले ज्यान गएको आफन्तको दाबी

१८ घण्टापछि आफन्तले बुझे शव

सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन्। गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ घर भइ हाल रुपन्देहीमै बस्ने गीता पुरी बिहीबार दिउँसो अस्पताल भर्ना भएकी थिइन्। उनको बिहीबारै साँझ मृत्यु भएको हो। गर्भमा रहेको शिशुको समेत मृत्यु भएको छ।

१३ गते बिहीबार बच्चा जन्मने अन्तिम मिति भन्दै डाक्टरले ती महिलालाई अस्पताल बोलाएका थिए। अस्पताल भर्ना भएपछि बिहीबार बिहान ११ बजे नै उनलाई व्यथा लाग्ने औषधि दिइएको थियो। चिकित्सकहरुले दिउँसो ४ बजेसम्म पनि बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य भएको बताएका थिए। गीताले पनि आफन्तसंगको फोनमा दिउँसो स्वस्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन्। तर एक्कासी साँझ ७ बजेतिर बच्चाको मृत्यु भएको खबर अस्पतालले गीताका आफन्तलाई सुनाए। राती ९ बजेतिर गीताको पनि मृत्यु भएको जानकारी चिकित्सले आफन्तलाई गराएका थिए।  

अस्पतालमै कार्यरत एक जना स्वास्थ्यकर्मीका अनुसार साढे ५ बजेतिर पेटमै बच्चाको मृत्यु भएको थियो। त्यो खबर सुनेपछि गिताले आफूलाई निकै गाह्रो भएको भन्दै छिटो अप्रेसन गरीदिन आग्रह गरेकी थिइन्। झण्डै एक/डेढ घण्टासम्म पीडाले छटपटिँदा पनि गीतालाई अप्रेसनका लागि नलगिएको ती स्वास्थ्यकर्मीले बताए। गीताका आफन्तले पनि बच्चाको पेटमै मृत्यु भएपछि अत्याधिक पीडाले छटपटिँदा तत्कालै अप्रेसन नगरी घण्टौं त्यसै राखिदा आमाको समेत ज्यान गएको दाबी गरेका छन्। अस्पतालको लापर्बाही कै कारण भाउजु र बच्चाको ज्यान गएको दाबी मृतकका देवर युद्ध पुरीले गरे।  

सुरुमा अस्पतालले मृतकका आफन्तलाई सात बजेतिर बच्चाको मृत्यु भएको जानकारी दिएपनि अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले साँझ ५.३० बजेतिरै बच्चाको मृत्यु भएको नागरिकलाई बताए। तर गीताको भने राती ८ बजेतिर मृत्यु भएको बताइएको छ। 

प्रादेशिक अस्पालका डा. अनुपा थापासंग गीता नियमित सम्पर्कमा रहेको र बिहीबार पनि डा. थापाले नै उनको उपचार गरेको आफन्तले बताएका छन्। डा. थापा कार्यरत निजी क्लिनीकमा गीताले नियमित चेकजाँच गरीरहेको र डेलिभरीका लागि बिहीबार प्रादेशिक अस्पतालमा भर्ना भएको मृतकका श्रीमान बिष्णु पुरीले बताए। सुरुमा गीतालाई कात्तिक ८ गतेको डेलिभरी डेट दिइएपनि सो समयमा व्यथा नलागेपछि कात्तिक १३ गते डा. थापाकै सल्लाहमा अस्पताल भर्ना गरीएको पुरीले बताए।  

गीताका आफन्तले अस्पतालको गम्भीर लापर्बाही कै कारण आमा र बच्चा दुवैको ज्यान गएको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन्। तर अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले चिकित्सकले जानाजान आफ्नो बिरामीको ज्यानमाथि खेलवाड गर्न नसक्ने भन्दै कहिले काँही सडेन डेथका घटना हुन सक्ने बताए। ‘आमा र बच्चा दुवैलाई बचाउन नसक्नु हाम्रा लागि पनि निकै दुःखद् कुरा हो तर कहिले काँही प्रयास गर्दा गर्दै पनि यस्तो अवस्था आउछ’ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. गौतमले भने। बच्चाको मृत्यु भएपछि महिलामा अचानक स्वासप्रश्वासको समस्या देखिएको र अप्रेसन गर्ने तयारी गर्दा गर्दै मृत्यु भएको उनले बताए। मृतक २९ वर्षे गीताको ४ वर्षे छोरी छन्।

१८ घण्टापछि आफन्तले बुझे शव              

अस्पतालको लापर्बाहीका कारण आमा र बच्चाको ज्यान गएको भएको भन्दै मृतकका आफन्तले शुक्रबार दिउँसोसम्म शव बुझेका थिएनन्। तर निश्पक्ष छानविन र उचित क्षतिपुर्तिका लागि कात्तिक २० गते वार्ता गरी निर्णय गर्ने अस्पताल प्रशासनले लिखित सहमती गरेपछि शव बुझ्ने तयारी भइरहेको मृतकका आफन्त कमलराज गिरीले बताए।  

शुक्रबार अस्पताल प्रशासन र मृतकका आफन्त बीच भएको छलफलमा सो सहमती भएको हो। अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई आफ्नी आमा बितेर दुःखमा रहेकाले कात्तिक २० गते वार्ता गर्ने सहमती भएको मृतकका देवर युद्ध पुरीले बताए।

प्रकाशित: १४ कार्तिक २०७७ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App