८ वैशाख २०८१ शनिबार
समाज

अझै खुलेन कब्रिस्तान

कब्रिस्तानमा कोरोना संक्रमितलाई गाडिएको स्थल। तस्बिर: नागरिक

धनगढी उपमहानगरपालिका–२ की ५७ वर्षीया मुस्लिम महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मुस्लिम संस्कारअनुसार धनगढी–१, मा रहेको कब्रिस्तानमा अन्तिम संस्कार गरियो। गाउँको बीचमा रहेको कब्रिस्तानमा कोरोना संक्रमितबाट मृत्यु भएका मानिसको शव गाडेको भन्दै स्थानीयले कब्रिस्तानको मूल गेटमा विरोधसहित गरिएको तालाबन्दी शुक्रबार दिउँसोसम्म खुल्न सकेको छैन।  

धनगढी उपमहानगरपालिका–१, शान्ति नगरमा रहेको कब्रिस्तान वरपर पशुपति टोल, त्रिवेणी टोल र सन्तोषी टोल छ। कब्रिस्तानसँगै जोडिएको बस्तीमा जोखिम बढेको भन्दै स्थानीयले बिहीबार बिहानदेखि आन्दोलित छन्। कोरोनाका कारण मृत्यु भएकी महिलाको शव ल्याएर गाउँकै बीचमा रहेको कब्रिस्तानमा गाडिँदा आफूहरु असुरक्षित महसुस गरिरहेको बताउँदै स्थानीय धनबहादुर कोलीले भने, ‘कब्रिस्तानको तीनतिर पर्खाल छ, तर पछाडिको भागमा पर्खाल नहुँदा रातिको समयमा स्याल तथा कुकुरले शव निकालेर खाने हुँदा बस्ती जोखिममा परेको हो ।’ 

उनले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव कब्रिस्तानमा नगाडेर बस्तीभन्दा टाढा गाडिनुपर्ने माग राखे। ‘अन्य समुदायको शव टाढा जंगलमा व्यवस्थापन गरिन्छ, तर मुस्लिम समुदायको शव जानी जानी बस्तीको बीचमा रहेको कब्रिस्तानमा गाडिँदा हामी जोखिममा परेका हौं,’ उनले भने, ‘अब पनि यस्तो नहोस् भनेर हामीले सचेत गराउन आन्दोलित भएका छौं।’ आफूहरुले कहिल्यै मुस्लिम समुदायको कब्रिस्तानको विरोध नगरेको बताउँदै  अर्का स्थानीय अमित जैरुले भने, ‘तर कोरोना माहामारीबाट मृत्यु भएकी महिलाको गाउँकै बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थापन गर्दा भने जोखिम बढेको महसुस भएर आन्दोलित भएका हौं ।’ आफूहरुले अब कोरोना संक्रमितलाई कब्रिस्तानमा गाड्न नपाउने, कब्रिस्तान वरपरको जमिनमा सेनेटाइजर गरिनुपर्ने, कब्रिस्तानमा गाडिएको शवमाथि ढुंगा राखेर सुरक्षित बनाइनुपर्ने र कब्रिस्तान शिल गरिनु पर्ने लगायतका माग रहेको उनले बताए।  

आफूहरुका यी माग पूरा नहुन्जेलसम्म कब्रिस्तानको मूल गेटमा लगाइएको तालाबन्दी नखोलिने बताउँदै संघर्षसमितिका संयोजक समेत रहेका धनबहादुरले भने, ‘कोरोना संक्रमितको शव ल्याइएको शव वाहनलाई पनि हामी बाहिर ल्याउन दिँदैनौँ ।’ संक्रमित शव बोकेर आएको शव बाहन गाडी पनि बिहीबारदेखि कब्रिस्तान भित्रै रहेको छ।  

बिहीबार बिहान कब्रिस्तानमा शव व्यवस्थापन गर्न थाल्दा स्थानीयले जानकारी पाएपछि विरोध गरेका हुन। उनीहरुले कब्रिस्तान अगाडि नाराबाजी गर्दै विरोध जनाएका थिए। कोरोना संक्रमणबाट मृत्यु भएकाको बस्ती रहेको बीचमा व्यवस्थापन गर्दा विरोध गरेको बताउँदै स्थानीय अमृत बिसीले भने, ‘सरकारले हाम्रै टोलमा ल्याएर कोरोना संक्रमित महिलाको शव गाडिदिँदा हामी असुरक्षित महसुस गरिरहेका छौँ ।’  उनले यसरी टोलमै संक्रमितको शव गाड्दा आफूहरु त्रसित बनेको उनले बताए।  

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कोरोना संक्रमितको शव व्यवस्थापनमा कब्रिस्तानमा भएको विवादबारे आफूहरु स्थानीय समुदायसँग छलफलमै रहेको बताएका छन्। ‘हामीले सम्बन्धित स्थानीय र मुस्लिम समुदाय दुवैसँग छलफलमै छौँ,’ उनले भने, ‘चाँडै केही निकास निकाल्छौँ ।’ बिहीबार बिहानदेखि कब्रिस्तान वरपर स्थानीय आन्दोलित भई नाराबाजी गरिरहेका छन।  शुक्रबार बिहान भने धनगढी उपमहानगरपालिकाको पहलमा कब्रिस्तान सडक खण्ड र कब्रिस्तानमा सेनेटाइजर गरिएको छ। उपमहानगरपालिकाले दमकलमा सेनेटाइजर बोकेर पशुपति टोल र शान्तिनगर टोलमा सेनेटाइजर गरेको हो।  

सेती प्रादेशिक अस्पतालको कोभिड–१९ अस्थायी अस्पतालमा उपचाररत ५७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको थियो। उनको मृत्युपश्चात् स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए। हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानव बस्तीभन्दा टाढा रहेको स्थानमा गर्दै आएको थियो ।

कब्रिस्तान नखुल्दा आँगनमै शव  

मानववस्तीसँगै जोडिएका कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध स्वरुप कब्रिस्तानमा गरिएको तालाबन्दी नखुल्दा अर्को शव व्यवस्थापनमा समस्या सिर्जना भएको छ। दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रबार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहमद जमसेदको शव व्यवस्थापनमा समस्या भएको आफन्तले गुनासो गरेका छन्। ‘कोरोना संक्रमितलाई कब्रिस्तानमा गाडिएको भन्दै स्थानीयले कब्रिस्तानमा लगाएको तालाबन्दीले गर्दा मैले बुबाको शव व्यवस्थापन गर्न सकेको छैन,’ मृतक जमसेदका छोरा सद्दामले भने, ‘हाम्रो संस्कारअनुसार कब्रिस्तानमै शव गाड्नुुपर्छ। तर, कब्रिस्तानमा  तालाबन्दी गरिएपछि अन्तिम संस्कार गर्न नपाउँदा बिहानदेखि शव आँगनमै राखेका छौँ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कब्रिस्तानमा गरिएको तालाबन्दीका कारण अर्को शव व्यवस्थापनमा समस्या आएकाले मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षसँग छलफल गरिरहेको बताए।  

प्रकाशित: १४ कार्तिक २०७७ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App