१५ चैत्र २०८० बिहीबार
समाज

कब्रिस्तानमा कोरोना संक्रमित शव गाडेको भन्दै विरोध

कब्रिस्तान अगाडि विरोध गर्दै स्थानीय। तस्बिरः दिलबहादुर छत्याल

पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल कब्रिस्तान छ। वर्षैंदेखि मुस्लिम समुदाय कब्रिस्तानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए। तर, बिहीबार भने पशुपति टोलमा फरक माहोल सिर्जना भयो। कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी–२, की ५७ वर्षीया मुस्लिम महिलाको मृत्युपश्चात् मुस्लिम समुदायले धार्मिक परम्पराअनुसार कब्रिस्तानमै शव व्यवस्थापन गर्ने निर्णय गरे। सोहीअनुसार शव व्यवस्थापनमा खटिएका नेपाली सेनाले कब्रिस्तानमै मुस्लिम परम्परा अनुसार व्यवस्थापन गरिदिए। तर, समुदायको बीचमा रहेको कब्रिस्तानमा कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गर्दा आफूहरु असुरक्षित भएको भन्दै स्थानीय भने आन्दोलित बने।  

हामीले कहिल्यै मुस्लिम समुदायको कब्रिस्तानको विरोध गरेनौ र गर्दैनौ पनि, तर कोरोना माहामारीबाट मृत्यु भएकी महिलाको गाउँकै बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थापन गर्दा भने जोखिम बढेको महसुस आफूहरुले गरेको स्थानीय भरत बिकले बताए। उनले भने,‘समुदायको बीचमै रहेको कब्रिस्तानमा कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गर्दा महामारी गाउँमै फैलन सक्ने भन्दै स्थानीय त्रसित बनेका छौँ।’ ‘कमसेकम गाउँको बीचमा रहेको कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा अन्य धार्मिक तथा सामुदायका व्यक्तिमा कस्तो असर पर्ला भनेर प्रशासनले सोचेन,’ उनले भने। कब्रिस्तानसँगै जोडिएको मानवबस्तीमा कोरोनाको संक्रमण बढ्ने डर कायमै रहेको भन्दै स्थानीयले व्यवस्थापन गरेको शव झिकेर बस्तीभन्दा टाढा व्यवस्थापन गर्न आग्रह गरेको बताउँदै अर्का स्थानीय अमृत बिसीले भने,‘बस्ती बीचमा रहेको कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा समुदायमा समस्या भएको हो।’  

बिहीबार बिहान कब्रिस्तानमा शव व्यवस्थापन गर्न थाल्दा स्थानीयले जानकारी पाएपछि विरोध गरेका हुन्। उनीहरुले कब्रिस्तान अगाडि नाराबाजी गर्दै विरोध जनाएका थिए। कोरोना संक्रमणबाट मृत्यु भएकाको बस्ती रहेको बीचमा व्यवस्थापन गर्दा विरोध गरेको अर्का स्थानीय धनबहादुर कोलीले बताए। ‘कोरोना संक्रमण फैलिन्छ भन्दै ६ महिनासम्म लकडाउन गरियो, सबै सजग बन्यो,’ कोलीले भने,‘तर अहिले आएर हाम्रै टोलमा ल्याएर कोरोना संक्रमित महिलाको शव गाडियो।’ यसरी टोलमै शव गाड्दा आफूहरु त्रसित बनेको उनले बताए। जिल्ला प्रशासन कार्यालय धनगढीले कोरोनाबाट मृत्यु भएकी मुस्लिम समुदायकी महिलालाई धनगढी उपमहानगरपालिका–१, स्थित पशुपति टोलमा रहेको कब्रिस्तानमा शव व्यवस्थापन गरेको हो। मानववस्तीसँगै रहेको कब्रिस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले विरोध गरेको धनगढी उपमहानगनरपालिका वडा नम्बर १ वडाध्यक्ष सन्तोष मुडभरीले बताए। उनले भने,‘शव व्यवस्थापन सम्बन्धी हामीलाई केही थाहा थिएन, एकाएक स्थानीयले टोलमै रहेको कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै विरोध गरेपछि थाहा पाएँ।’ उनले यस सम्बन्धी जानकारी प्रशासनबाट लिने बताए।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि दोस्रो संस्करण २०७७ को दफा २ मा कोभिड–१९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएका अन्त्यष्टि गर्ने स्थानमा नै विशेष सावधानी अपनाई अन्त्यष्टि गर्नुपर्ने र मृतकको धर्म परम्पराअनुसार शवको सम्मान गर्दै निजका आफन्तहरुलाई समेत सुरक्षित राख्नुपर्ने उल्लेख गरेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउँदै भने,‘हामीले कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन कार्यविधिअनुसार नै गर्न खोजेका हौँ।’ टोलका बीचमा कब्रिस्तान भएका कारण विरोध भएको बताउँदै उनले भने,‘आगामी दिनमा हामी अब त्यसलाई सच्चाएर लैजान्छौं।’ 

विरोधपश्चात् अहिले सो ठाउँमा नारा जुलस भइरहेको छ। स्थानीय प्रशासनले कब्रिस्तान वरपर प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाएको जनाएको छ।  

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत ५७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको थियो। उनको मृत्युपश्चात् स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए। हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानव बस्तीभन्दा टाढा रहेको स्थानमा गर्दै आएको थियो।

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App