१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

परनिर्भर बन्दै राउटे समुदाय

राउटे समुदायका स्पष्ट तीन मान्यता थिए, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने । राउटे समुदाय पछिल्लो समय परम्परागत मान्यताबाट पछि हट्दै गएको देखिन्छ । राउटे समुदायका बालबालिका अक्षर चिन्न थालेका छन् । पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्छ । केहीले तत्कालिन जिल्ला वन कार्यालय र उनीहरुसँग काम गरिरहेको सामाजिक सेवा केन्द्र (सोसेक)मार्फत अस्थायी जागिर पनि खाए ।

पर्यावरणीय प्रभावका कारण आहारामा कमि हुनु, बाह्य समाजसँगको घुलमिल र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यता बोकेको एक अवशेष राउटे परिवर्तनको संघारमा पुगेको देखिन्छ । उनीहरु रहरले नभएर बाध्यताले पनि आफ्नै प्राचिन मान्यता र परम्पराबाट पछाडी हट्दै गएका छन् । दशकअघिसम्म उनीहरु अन्य समुदायबाट धेरै टाढा हुन्थे । काठका भाँडावर्तन बनाएर अन्नसँग साँट्थे । त्यसैले उनीहरुको गुजारा चल्थ्यो । २०६४ सालदेखि सरकारले उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन थाल्यो । उनीहरु जंगल छोडेर मानव बस्ती नजिकै बस्ती सर्न थाले ।

शहरीया खानेकुरामा आकर्षित भए । ‘अन्य समुदायका राम्रा कुरा सिकेनन्, नराम्रा कुराहरुलाई अनुसरण गर्दै गए,’ उनीहरुसँग काम गर्दै आएका हिरासिंह थापाले भने, ‘सरसफाईमा ध्यान दिन छोडे, मदिरा र अन्य कुलतमा फस्दै गए ।’ राउटे समुदायका बालबालिकादेखि बृद्धसम्मले मदिरा सेवन गर्छन् ।  

काठका भाँडाकुँडा बनाएर अन्नसँग साट्ने राउटे समुदायको पछिल्लो पुस्ताले आफ्नो सीप बिर्सिसकेको छ । ‘पहिले जस्तो हामीले बनाएका भाँडाकुँडा विक्री हुँदैनन्, बनाएर मात्रै के गर्नु ?’ तीन जना मुखिया मध्येका एक सूर्यनारायण शाहीले भने, ‘सरकारले महिना–महिनामा भत्ता दिन्छ, दिनदिनै मान्छेहरु आएर पैसा र खानेकुरा दिन्छन्, त्यसैले पहिलेजस्तो भाँडाकुँडा बनाउँदैनौं ।’ राउटे समुदायले अहिले कसैलाई उपहार दिनका लागि मात्रै कोसी, मधुसलगायतका काठका सामाग्री बनाउने गरेको छ ।

राउटेलाई घर र थप भत्ता

कर्णाली प्रदेश सरकारले राउटे समुदायका लागि घर निर्माण गरिदिने भएको छ । दशैंको अवसरमा सुर्खेतको चिंगाड गाउँपालिका–४ मा बस्दै आएका राउटे समुदायलाई भेट्न गएका कर्णाली प्रदेशका मख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्थायी परिचयपत्र लिएको ठाउँ दैलेखको गुराँस गाउँपालिका–८ मा राउटेहरुका लागि घर निर्माण गर्ने बताए । उनले राउटे सुरक्षा कोषमार्फत उनीहरुलाई खाना, नाना र छानाको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । ‘नेपालको एकमात्रै फिरन्ते समुदायलाई सामाजिकीकरण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘उनीहरुको परम्परालाई बचाउँदै आधुनिक समाजमा रुपान्तरण गर्न प्रदेश सरकारले खाना, नाना र छानाको व्यवस्थापन गर्छ ।’

मुख्यमन्त्री शाहीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राउटे बालबालिकाको शिक्षा र स्वास्थ्यमा पनि सरकारले ध्यान दिने बताए । ‘मदिरा सेवन र पोषण खाना नखादाँ राउटे बालबालिकामा कुपोषणका साथै मृत्युदर पनि अत्याधिक रहेको पाइयो,’ उनले भने, ‘मदिरा निषेध गर्नका लागि राउटे बस्तीमा सुरक्षाकर्मी परिचालन गर्नुका स्वास्थ्यकर्मीहरुको पनि हामी व्यवस्थापन गछौं ।’

यस्तै अघिल्लो वर्ष मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत राउटे समुदायले गरेको वृक्षारोपण क्षेत्रमा राउटे बाटिका निर्माण गर्नका लागि बजेटका व्यवस्थापन गर्ने मुख्यमन्त्री शाहीले घोषणा गरे । शनिबार मुख्यमन्त्रीसँगै सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री विमला केसीलगायत राउटे बस्ती पुगेका थिए । राउटे समुदायलाई मुख्यमन्त्रीसहितले खाना खुवाउनुका साथै खाद्यान्न वितरण गरेका थिए ।

प्रकाशित: ९ कार्तिक २०७७ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App