४ वैशाख २०८१ मंगलबार
समाज

गढीमाई नगरपालिकाका तीन इन्जिनियरलाई कारवाही

रौतहटको गढीमाई नगरपालिकाले तीन कर्मचारीमाथि कारबाही गरेको छ।  कारबाहीमा पर्नेमा एक इन्जिनियर र दुई सब–इन्जिनियर रहेका छन्।  नगरपालिकाको कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता कर्मचारीहरुले पालना नगरेको र आचार संहिताविपरीत कार्यालयलाई बदनाम गराउने मनसायले सामाजिक सञ्जालमा सूचना प्रवाह गरेकोमा नगरपालिकाले कारबाही गरेको जनाएको छ।  

गढीमाई नगरपालिकाले सिभिल इन्जिनियर दीपेन्द्रकुमार यादव र सिभिल सब–इन्जिनियर पप्पु यादवलाई निलम्बन गरेको छ।  यसै गरी अर्का सिभिल सब–इन्जिनियर कमलेशकुमार पटेललाई स्पष्टीकरण सोधेको छ।  

कार्यालयबाट अन्तिम छानबिन तथा अनुसन्धानको प्रक्रिया पूरा नहुञ्जेलसम्म दुई कर्मचारीलाई निलम्बन गरिएको नगरपालिकाले जनाएको छ। स्पष्टीकरण सोधिएका सब इन्जिनियर पटेलमाथि नगरपालिका कार्यालयमा आउने सेवाग्राहीसँग आचार संहिता विपरीत व्यवहार गरी कार्यालयलाई बदनाम गराउने कामकाज गरेको आरोप लगाइएको छ।  

निलम्बन तथा स्पष्टीकरण सोधिएको कर्मचारीको पत्रमा नपालाई बदनाम गराउने काम गरेको व्यहोरा लेखिएको भए पनि मदनपुरको उपभोक्ता समितिको विवाद मुख्य कारण रहेको बुझिएको छ।  गढीमाई नपा ५ मदनपुरमा उपभोक्ता समितिमार्फत सञ्चालित आयोजनाहरु सम्पन्न भए पनि निलम्बित दुवै र स्पष्टीकरण सोधिएका कर्मचारीसमेतमाथि उपभोक्ता समितिसित रकम माग गरेको आरोप रहेको छ।  गत असोज २८ मा जनता समाजवादी पार्टीको नगर समितिले लिखित रुपमै नगरपालिकामा तीन कर्मचारीले रकम माग गरेको र रकम नदिए कुनै पनि हालतमा आयोजनाहरुको भुक्तानी नहुने धम्की दिएको भन्दै ज्ञापनपत्र बुझाउँदै कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्ने माग गरेको थियो।  

नगरपालिकाले पनि गुनासोको सम्बन्धमा हरिकिशोर साह अध्यक्ष, बालकिशोर राय सदस्य सचिव तथा दीपेन्द्र श्रेष्ठ सदस्य गरी तीन सदस्यीय छानबिन समिति गठन गरेर आरोपहरुमाथि अनुसन्धान गरेको थियो।  एक हप्ताभन्दा लामो समयको अनुसन्धानपछि समितिले दुई जनालाई निलम्बन र एक जनालाई स्पष्टीकरण सोध्ने कारबाहीको सिफारिश गरेको थियो।  सोही सिफारिश अनुसार कर्मचारीमाथि कारबाही गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी गराएका छन्।  

 

 

प्रकाशित: ७ कार्तिक २०७७ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App