coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटको आठ पालिकाका कर्मचारीले पाएनन् तलब

रौतहटको आठ स्थानीय तहका कर्मचारीले दशैंजस्तो चाडपर्वको समयमा पनि तलब भत्ता खान पाएका छैनन् । गत साउनदेखि तलब भत्ता खान नपाएका कर्मचारीहरुले दशैंमा पनि वञ्चित भएका छन् ।  

जिल्लाको १८ स्थानीय तहमध्ये आठवटा स्थानीय तहको पहिलो चौमासिकको रकम निकासा नहुँदा सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षकहरु तलब पाउनबाट बन्चित भएका छन् ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नगर तथा गाउँ सभा सम्पन्न गरेर योजना बाँडफाँड गरेको कार्यहरु सुत्रमा अभिलेखिकरण गरेर प्रमुख कार्यकारी अधिकृतलाई लिखित रुपमा अख्तियारी दिनुपर्ने स्पष्ट प्रावधान रहेको छ तर रौतहटको आठ वटा स्थानीय तह उक्त प्रावधानको पालना नगर्दा निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय गौरले जनाएका छ ।

पहिलो चौमासिक रकम निकासा गर्नका लागि शर्त पुरा गर्ने गौर, चन्द्रपुर, गरुडा, राजपुर, मौलापुर, इशनाथ, गढीमाई, वृन्दावन, माधवनारायण र परोहा नगरपालिकाको निकासा समयमै गइसकेको जानकारी निमित्त प्रमुख कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले दिए । यसबाहेक यमुनामाई गाउँपालिकाको नगरसभा सम्पन्न भए पनि प्रमुख प्रशासकीय अधिकृतको विवाद अदालतमा चलिरहदा त्यहाँबाट निराकरण नभएसम्म निकासा गर्न असमर्थ रहेको ढकालले स्पष्ट पारे ।

पहिलो चौमासिक रकम निकासा नभएका राजदेवी, बौैधीमाई, देवाही गोनाही, कटहरिया, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरु चाँडपर्वमा तलव सुविधाबाट बंचित भएका छन् ।

जनप्रतिनिधिहरुको कमिकमजोरीका कारण नियमित समयमा नगर÷गाउँ सभा सम्पन्न नगर्दा सोको मर्का अहिले कर्मचारीमाथि परेको छ । नगरसभा सम्पन्न भए पनि बन्द सत्रमा योजना बाँडफाँडमा विवाद रहेको हुँदा सभाको कार्य अघि नबढ्दा बडादशै जस्तो पर्वमा कर्र्मचारीहरु रित्तो हात पर्व मनाउनुपर्ने अवस्था सृजना भएको छ ।

निजामती सेवा नियमावलीमा चाँडपर्वको वेला विशेष सुविधा सहितको तलव १५ दिन अगावै पाउनुपर्ने प्रावधान भए पनि दशैको मध्यसम्म समेत तलव पाउने कुनै आशा नदेखिदा अहिलेको शासन प्रणालीप्रति गम्भीर प्रश्न चिन्ह खडा भएको कर्मचारीहरुको आरोप छ ।

राजदेवी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले आफू भर्खरै यस आएकोे हुँदा दशै अगाडी सम्भव नरहेको हुँदा कात्तिक १४ गते पछि नगर अधिवेशन गराउने योजना रहेको बताएका छन् । यहाँ मेयर र उपमेयर विचको विवादको कारण निर्धारित समयमा नगरसभा नभएको कारण निकासा नभएको हुँदा कसरी तलव दिन नसक्ने अवस्था रहेको स्पष्ट पारे ।  

दुर्गा भगवती गाउँपालिकाको प्रमुख अरुण साहले गाउँ सभा भईसकेको तर निकासाको लागि आवश्यक कागजातहरु समेत तयार भईसकेपनि निकासा लिने अब समय नरहेको हुँदा २ करोड ५३ लाख रकम सापटी लिएर शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, कर्मचारी र करारमा रहेका सबै कर्मचारीको खातामा रकम पठाइसकेको हुँदा उहाँहरु आफनो तलव वापतको रकम बैंकमा गएर लिन समेत आग्रह गरेका छन् ।

देवाही गोनाही नपाको दुई दिन अघि नगर सभा सम्पन्न भएको हुदा निकासाको लागि चाहिने आवश्यक कागजातहरु तयार भईसकेको हुँदा कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा पेश गरी यथाशीघ्र तलव दिने मेयर धर्मेन्द्र पटेलले बताए ।

प्रकाशित: ६ कार्तिक २०७७ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App