७ वैशाख २०८१ शुक्रबार
समाज

सीमावर्ती क्षेत्र भारततर्फ भेटियो युवकको शव

युवकको शव बिहीबार बिहान सामवर्ती क्षेत्र भारतको जोगबनी बजार नजिकै भेटिएको छ। दशगजा पारी जोगबनीतर्फ मृत भेटिएको युवक अन्दाजी २५/२६ वर्ष रहेको प्रहरीले जनाएको छ।

कसैले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीका अनुसार मृतक युवकको नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम देखिएकाले हत्या भएको हुनसक्ने आशंका गरिएको छ।  

‘जोगबनीमा मृत भेटिएका युवाको पहिचना हुन नसक्दा सनाखत भएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘नेपाली हो कि भनेर फोटो खिचेर सबै प्रहरी कार्यालयमा पहिचानका लागि पठाएका छौं। भारततर्फ भएको हुँदा भारतीय प्रहरीले पोष्टमार्टमलगायत अन्य त्यहाँको कानुनी प्रक्रिया पूरा गरेर छानबिन थालेको छ।’  

घटनास्थल विराटनगर–१६ दक्षिण गेटबाट लगभग सय मिटर पारी भारततर्फ रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए। सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको भनेर प्रहरीलाई खबर गरे पनि स्पष्ट पहिचान खुल्न सकेको छैन।

लागुऔषध सेवनका लागि नियमित रूपमा जोगबनी आउजाउ गर्ने गरेका कारण स्थानीयले इटहरीका युवा भनेर चिनेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा हत्या हो या लागुऔषधको अत्याधिक सेवनका कारण मृत्यु भएको भन्ने यकिन गर्न नसकिने प्रहरीले जनाएको छ।  

युवाको दुवै हातमा ट्याटु रहेको, सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको र खुला चौरमा लडेको अवस्था रहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रका बासिन्दाले इटहरी घर बताएकाले इटहरी प्रहरीमार्फत मृतकको अभिभावक र आफन्तको खोजी थालिएको प्रहरी निरीक्षक थापाले बताए।

प्रकाशित: ६ कार्तिक २०७७ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App