६ वैशाख २०८१ बिहीबार
समाज

सीमामा गस्ती गर्दागर्दै जान्छ सशस्त्र प्रहरीको दसैं

नेपाल–तिब्बत सीमा क्षेत्र टिपतालामा रहेको नेपालतर्फको सीमास्तम्भ नजिक पुगेको ओलाङचुङगोला बिओपीको टोली । तस्बिर: एपीएफ

‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार’ हरेक सालका दसैं तिहारका बेला घन्कने यि गीतका शब्द र शैली जति सदाबहार छन्, कर्मक्षेत्रमा खटिने सुरक्षाकर्मीका सयौं पीडा तिनै गीतका भावले मेट्ने गर्छन्। यि गीतका भावहरुले पीडा मात्र भुलाउँदैनन्, फौजीहरुको पौरखी र कर्तव्यलाई समेत प्रतिबिम्वत गरिरहेका हुन्छन्।  

सशस्त्र प्रहरीको नेतृत्वमा बनेको यहिँ गीतको म्युजिक भिडियोले दर्शाए झैं दसैंका बेला नागरिकहरु घरघरमा परिवारसंग रमाइरहँदा उत्तरी सीमावर्ती क्षेत्र ताप्लेजुङको ओलाङ्चुङगोलामा रहेको बोर्डर आउट पोष्ट(बिओपी)मा कार्यरत सशस्त्र प्रहरीको टोली भने सीमावर्ती क्षेत्रमा गस्तीमा व्यस्त रहेको छ।  

ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बिओपी टोली बुधबार सीमावर्ती क्षेत्र टिपतालासम्म पुगेर फर्किएको हो। ‘अहिले पनि नियमित गस्तीका कार्यहरु भइरहेका छन्’ सशस्त्र प्रहरी बल १ नं गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले भने। उनले सीमा क्षेत्रबाट हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि अब यो टोली नियमित रुपमा कार्यस्थलमा खटिइ रहने जानकारी दिए।  

फक्ताङ्लुङ गाउँपालिकाको मौवाटारमा रहने बिओपी तत्कालका लागि ओलाङ्चुङगोलमा रहने गरी असोज २१ गते स्थापना भएको थियो। स्थापना भएदेखि नै बिओपी टोलीले आफ्नै दैनिकीका लागि लय लिएको गुल्मपति श्रेष्ठले जानकारी दिए। स्थायी रुपमा बिओपी भने ओलाङ्चुङगोलाबाट करिव १३ किलोमिटर टाढा मौवाटारमा रहन्छ। अहिले त्यहाँ भौतिक संरचना बन्ने क्रममा रहेकोले सो संरचना नसकिञ्जेलसम्म मौवाटारमा रहने बिओपी टोली ओलाङ्चुङगोलामै रहेको छ। गोलाबाट नेपाल–तिब्बत सीमावर्ती क्षेत्र टिपताला पुग्न करिव २५ किमी पैदल यात्रा पार गर्नुपर्छ।  

तत्कालका लागि २० जनाको संख्यामा रहेको बिओपी टोलीको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक(इन्सपेक्टर) युवराज खड्काले गरिरहेका छन्। भवनसहितका सबै संरचना बनेपछि मौवाटारमा रहने बिओपी टोलीमा भने करिव ५० जनासम्म सशस्त्र प्रहरी कर्मचारी रहने श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ६ कार्तिक २०७७ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App