६ चैत्र २०८० मंगलबार
समाज

‘टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नुहोला’

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले केही दिनअघि सामाजिक सञ्जालमा स्टाटस लेखे, ‘कोरोना महामारीजन्य विषम परिस्थितिका कारण यसपटकको दसैंमा छोरीज्वाइँ, नातिनातिना टीका लगाउन नआउनुहोला, तपाईंहरूलाई हाम्रो आशीर्वाद छँदैछ। हामी पनि अग्रजसँग टीका थाप्न आउनेछैनौं। तपाईंहरुको आशीर्वाद पनि हामीलाई छँदैछ। यसपटक क्षमा गरिदिनुहोला। टीका लगाउन आउन पनि बाटो छेक्यो नभन्नुहोला।’

दसैंको मुखमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रूप लिइरहँदा चारैतिर त्रास छाएको छ। दसैंमा टीका थाप्न आउनेजाने आफन्त तथा नाताकुटुम्बबाटै संक्रमण फैलने सम्भावना भएपछि गाउँ, टोल, नगरले मात्र नभई व्यक्तिले नै आफन्तलाई टीका लाउन नआउनू भन्न थालेका छन्। संस्कृतिकर्मी श्रेष्ठले त राजधानीमा रहेका तीन छोरीलाई फोन गरेरै दसैंमा टीका थाप्न नआउनू भनिसकेका छन्। ‘ती नातिनातिनालाई यसपटक दसैंमा मामाघर नआऊ भन्दाको पीडा बताइसाध्य छैन,’ श्रेष्ठले भने, ‘तर पनि छातीमा मुड्की हानेर भए पनि भन्न बाध्य भए।’ श्रेष्ठका तीन छोरी काठमाडौंमै छन्। बुबाआमाको हातको टीका थाप्न छोरीहरू सधैं पोखरा आउने गर्थे। तर यसपटक फोन गरेर छोरीज्वाइँ, नातिनातिनालाई पोखरा नआउनू भनिसकेको श्रेष्ठले बताए। ‘मैले छोरीहरूलाई फोन गरेर नआउनू भनिसकें। टीकाको भोलिपल्ट हाम्रो हातको टीका थाप्न उनीहरू सधैं पोखरा आउँथे,’ श्रेष्ठले भने, ‘तर यसपटक नआउँदा राम्रो हुन्छ भनेर भनिसकेको छु। छोरीहरूलाई भन्दा पनि नातिनातिनालाई मामाघर नआउनू भन्दा साह्रै नमज्जा लाग्यो।’ उनले थपे, ‘अग्रजको हात हाम्रो निधारमा आउने हो। टीका लगाएर अग्रजको चरणमा पर्ने भएपछि दुवैलाई असुरक्षा हुन्छ,’ उनले भने। आशंकैआशंकाको पीडा थपिएको उनले बताए।

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका कोतघरमा लगाइने सामूहिक टीका पनि यसपटक नहुने भएको छ।

तीर्थजस्ता संस्कृतिकर्मी मात्र नभई गाउँ, समाजले पनि आफन्त, छरछिमेक, नाता कुटुम्बलाई दसैंमा टीका लगाउन नआउनू भन्न थालेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका कोतघरमा लगाइने सामूहिक टीका पनि यसपटक नहुने भएको छ। ठिनीका गाउँ मुखिया राजेन्द्रकुमार थकालीले यसपटक कोतघरमा सामूहिक टीका लगाउने कार्यक्रम रद्द गरिएको बताए। ‘हामीले कटुवाल लगाएरै यसपटक टीका लगाउन कोतघरमा नआउनू भनिसकेका छौं,’ उनले भने, ‘कोरोना संक्रमणले गर्दा यसपटक सबैतिर त्रास छ। संक्रमण सर्ने डरले गर्दा पनि यसपालि सामूहिक कार्यक्रम नगर्ने निर्णय गरेका छौं।’ उनका अनुसार गाउँमा अग्रजको हातको टीका थाप्न जोकोही जाने गरेका थिए। त्यस्तै पाको उमेरका मुखियाकहाँ पनि टीका थाप्न जाने चलन छ। ‘स्वैच्छिक टीका ग्रहणको कार्यक्रम सामूहिक रूपमा कोतघरमा हुने गरेको थियो,’ उनले भने, ‘टीका लगाउन आऊ भनेर बोलाउनुपर्ने पनि होइन, आफैं आउने चलन हो। तर, यसपटक कसैलाई पनि नआउनू भनिसकेका छौं।’

लम्जुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङका बासिन्दाले पनि आफन्तलाई दसैंमा टीका थाप्न नआउनू भनिसकेका छन्। वडाध्यक्ष खिमबहादुर गुरुङले कोरोना महामारीका कारण गाउँमा संक्रमण फैलिने त्रास भएपछि सामूहिक कार्यक्रम पनि नगर्ने निर्णय गरेको बताए। उनका अनुसार दसैंमा सामूहिक टीका लगाउने, पिङ राख्ने, नाचगान गर्ने, भोजभतेर गर्नेलगायत कार्यक्रम हुने गरे पनि यसपालि त्यस्ता सबै कार्यक्रम रद्द गरिएको छ। ‘झन्डै चार सय घरको आँगन एउटै जस्तो छ। गाउँ पुग्ने बाटो पनि एउटै हो, पानीको मूल पनि एउटै हो। केही गरी एकजनालाई मात्र संक्रमण भयो भने गाउँमा थामिसक्नु हुन्न,’ उनले भने, ‘त्यही भएर यसपटक गाउँमा सामूहिक कार्यक्रम नगर्नू, टीका लगाउन बाहिरबाट पनि नआउनू र गाउँ छाडेर बाहिर पनि नजानू भनिसकेका छौं।’

वडाका सदस्य र गाउँका अगुवाको बैठक बसेर यसबारे छलफल गरेको उनले बताए। गाउँलेका अधिकांश आफन्त पोखरा, काठमाडौं र चितवनमा बस्छन्। उनीहरू दसैं मान्न घर फर्किंदा संक्रमण पनि फैलाउन सक्ने त्रास भएकाले सामूहिक कार्यक्रम र आउजाउ नगर्न भनेको उनले बताए। ‘जो जहाँ छ, त्यही बसेर दसैं मनाउनू भनिसकेका छौं,’ उनले भने। दसैंमा टीका थाप्न आउन नसकेका चेलिबेटीलाई दसैंभाग भनेर कोसेली पठाउने चलन भए पनि यसपटक त्यो परम्परा पनि रोकिएको वडाध्यक्ष गुरुङले बताए।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका बासिन्दाले पनि यसपटक दसैंमा मामाघर र ससुराली नजाने र टीका थाप्न पनि नबोलाउने निर्णय यसअघि नै गरिसकेको छ। गाउँमा संक्रमण फैलिन त्रासले घान्द्रुकका स्थानीयले धमाधम आफन्तलाई फोन गरेर नै टीका थाप्न नआउनू भनिसकेका छन्। अहिलेसम्म संक्रमणबाट मुक्त रहेका गाउँमा दसंैमा आफन्तको आउजाउका कारण संक्रमण फैलने त्रास रहेको स्थानीयको भनाइ छ।

प्रकाशित: ६ कार्तिक २०७७ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App