१३ मंसिर २०७७ शनिबार
समाज

तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड

धार्मिकस्थल गोसाइँकुण्ड । तस्बिरः हिमनाथ/नागरिक

गोसाइँकुण्ड क्षेत्रमा होटल व्यवसाय गरिरहेका सुमन तामाङ दुई साता अघि होटल पुगे। होटल जाँदा दुई पाथी आलु र खाद्यान्न मात्र लिएर गएका थिए। तीर्थयात्रीको आगमन भर्खरै सुरु हुन थालेकाले उनले धेरै सामग्री लगेका थिएनन्।  

विस्तारै तीर्थयात्री आउने क्रम बढ्न थाल्यो। अनि उनले होटलमा चाहिने सामग्री ल्याउन थाले। ‘सुरुमा त तीर्थयात्री आउँछन् कि आउँदैनन् भन्ने थियो,’ उनले भने, ‘त्यसकारण थोरै सामग्री लिएर होटल खोल्न गएको थिए।’  

अहिले त्यहाँ उनको होटल मात्र सञ्चालनमा छ। अर्को होटल सञ्चालनमा आउने चरणमा छ। ‘तीर्थयात्रीको चाप बढ्न थालेपछि अरु होटल पनि सञ्चालनमा आउँछ’, उनले भने, ‘यहाँ आएपछि खान बस्न समस्या छैन।’

चन्दनबारीका होटल व्यवसायी सुब्बा लामालाई सुरुमा होटल सञ्चालनमा ल्याउँदा डर लागेको थियो। कोभिड–१९ को त्रास बढीरहेको अवस्थामा लामो समय होटल बन्द भएको थियो। पछि तीर्थयात्री आउन थालेपछि समस्या भयो। गएका तीर्थयात्री कुनै पनि होटलले राख्न मानेन्।

‘गोसाइँकुण्ड जानका लागि केही तीर्थयात्री आएका थिए’, उनले सुरुका दिन सम्झँदै भने, ‘बल्लतल्ल एउटा होटलले राख्यो।’ तीर्थयात्री फर्किएको कति दिनसम्म व्यवसायीले तीर्थयात्री बसेको कोठामा जान पनि डराउँथे। अहिले त्यस्तो अवस्था छैन। आएका तीर्थयात्रीलाई खान र बस्न समस्या छैन।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुसदेखि नै स्वदेशी तथा विदेशी पर्यटकको आगमन शुन्यमा झरेको थियो। कोभिड–१९ कै कारण गोसाइँकुण्ड मेला प्रभावित भएको व्यवसायी बताउँछन्। जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलामा यस वर्ष करिब १ हजार तीर्थयात्रीले स्नान गरे। गंगादशहरा मेलामा एक जना पनि तीर्थयात्री आएनन्।  

पदमार्गमा सञ्चालित होटल सञ्चालन

गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटल, लज तथा चिया पसल विस्तारै खुल्न थालेका छन्। कोभिड–१९ का कारण अस्थायी रूपमा बन्द भएका होटल, लज तथा चिया पसल दुई साताअघिदेखि खुल्न थालेका हुन।  

गोसाइँकुण्डमा जाने तीर्थयात्रीको संख्या बढ्न थालेपछि पदर्मागमा सञ्चालनमा रहेका होटल खुल्न थालेका चन्दनबारीका होटल व्यवसायी सुप्पा तामाङले बताए। ‘अहिले दैनिक १६ जनासम्म तीर्थयात्री आइरहेका छन्’, उनले भने, ‘तीर्थयात्रीको आगमन सुरु भएसँगै व्यवसायी उत्साहित भएका छन्।’  

अहिले गोसाइँकुण्ड जाने तीर्थयात्रीमा नेपाली छन्। कोभिड–१९ का कारण विदेशी आउन पाएका छैनन्। गोसाइँकुण्ड पदमार्गको खेन्दी, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डमा होटलहरू सञ्चालनमा रहेका छन्।  

पहिले मेलामा मात्र तीर्थयात्री आउँथे  

केही वर्ष अघिसम्म गंगादशहरा र जनैपूर्णिमामा मात्र तीर्थयात्री गोसाइँकुण्डमा पुग्थे। पछिल्लो समय गोसाइँकुण्डमा हिउँ पर्ने समयमा भन्दा बाहेक अन्य समयमा तीर्थयात्री जान थालेका छन्। यहाँ वार्षिक १८ हजार भन्दा बढी तीर्थयात्री पुग्ने गरेका गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाको तथ्यांक छ।  

रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले सरकारले पर्यटन प्रवद्धनमा करोडौं लगानी गर्नुभन्दा पनि आउने पर्यटकका लागि सहज वातावरण बनाउने र कोभिड–१९ त्रास कम गराउन सकेमा मात्र होटल तथा पर्यटन व्यवसाय पुनः पुरानै लयमा फर्कने बताए।  

तीर्थयात्रीलाई स्वागत गर्न आतुर छ गोसाइँकुण्ड  

गोसाइँकुण्डमा विस्तारै तीर्थयात्रीको आगमन हुन थालेको छ। वार्षिक हजारौं तीर्थयात्री पुग्ने यस कुण्डमा यसपाली कमै तीर्थयात्री पुगेका छन्। गोसाइँकुण्ड वरपर अन्य १६ वटा कुण्ड पनि रहेका छन्। यी सबै कुण्ड तीर्थयात्रीलाई स्वागत गर्न आतुर छन्। गोसाइँकुण्ड वरपर रहेका कुण्डमा सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, गणेश कुण्ड, चन्द्रकुण्ड, क्युमाछोकुण्ड, रक्तकुण्ड, बतासकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, रानीकुण्ड, ब्रदकुण्ड लगायतका कुण्ड छन्।  

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाडौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो।  

काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ। त्यसपछि काठमाडौँ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी मार्गबाट तीर्थयात्री जाने गरेका छन्। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन।  

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।  

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ।

प्रकाशित: ५ कार्तिक २०७७ १९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App