७ वैशाख २०८१ शुक्रबार
समाज

सिंँगारियो मदन भण्डारीको जन्मघर

बडादशैं २०७७ का सँघारमा जननेता मदन भण्डारी जन्मेको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन्। अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाका अनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मतसम्भार नगरे छाना मक्किएर झर्ने खतरा छ।  

निरौला कुनै बेला पार्टीका सभा, गोष्ठी हुँदा सो घर नेताकार्यकर्ता भरिएर खचाखच हुने गरेको स्मरण गराउँछन्। अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपा निकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन्।

बडादशैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ। अनेरास्ववियुका केही युवाले आइतबार कमेरो माटाले लिपपोत र सरसफाइ गरेका हुन्। निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएकोे जानकारी दिए। लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र वनेमसहित आठ विद्यार्थी नेता कार्यकर्ता ढुङ्गेसांँघु पुगेका थिए।  

अनेरास्ववियु सम्बद्ध नेताहरूले नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसंँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई विशेष रुपले संरक्षण गर्नुपर्ने आवश्यक रहेकोे बताए।  

घरकै अगाडी ढिकी रहेका ठाउँमा भण्डारीको जन्म भएको बताइन्छ। उक्त ढिकी अझै पनि देख्न पाइन्छ। भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो। विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गरेका थिए। पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो। विसं २०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ।  

सो क्षेत्रलाई नमूना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो। पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन भएको छ। विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजीकैको ढुङ्गेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दशैँलगत्तै काम शुरु हुने छ। पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ।

प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालु आर्थिक वर्षमा रु एक  करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए। त्यसका लागि आवश्यक पर्ने जग्गा खोजी भइरहेको र अरु थप तयारी समेत भइरहेको उनको भनाइ छ। रासस

प्रकाशित: ५ कार्तिक २०७७ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App