८ वैशाख २०८१ शनिबार
समाज

महामारीमा काम खोज्दै भारत पस्नेको लर्को

प्युठानको नौबहिनी ३ रुमवाङका लोकेन्द्र खत्री भारतको पञ्जाव स्थित फिरोजपुरमा होटलमा काम गर्थे। १३ जनाको संयुक्त परिवारको गुजाराका लागि उनी र उनका दाजु  भारत पसेको ११ वर्ष भयो। दाजुभाइको कमाइले परिवारको गुजारा राम्रै चलेको थियो। तर कोरोना महामारीले रोजगारी खोसीयो। लकडाउनकै बेला ७० नाघेका बृद्ध बुवा कौशीबाट खसे। बुटवलमा एक महिना राखेर उपचार गर्दा ८० हजार खर्च भयो। ‘भएको पैसा बुवाको उपचारमै सकियो। पिसीआर रिर्पोट नेगेटिभ आए दशैंकै दिन भएपनि भारत जाने तयारीमा बसेको बताए। ‘अब त भारत नपसी  औषधी र नुनतेल जुटाउने उपाय नै छैन’ लोकेन्द्रले भने।पिसीआर रिर्पोट नेगेटिभ आए दशैंकै दिन भएपनि भारत जाने तयारीमा बसेको बताए।‘हामी जस्ता गरिबलाई सहयोग गर्छन की भनेर गाँउपालिकाका अध्यक्षलाई पनि भेटे तर उनले दशैंपछि नाका खुकुलो हुन्छ भारत जान सक्छौ भनेर फर्काइदिए’ लोकेन्द्रले भने।  

कोरोना महामारीबाट जोगीन गत बैशाखमा भारतको मुम्बैबाट घर आएका गुल्मीको सत्यवती ३ सिङदीका छबिलाल सिङजाली भारत फर्केको एक साता भयो। भारतमा कोरोनाले थुप्रै मान्छे मरिरहेको खबर सुनेपनि नेपालमा काम नपाएपछि बध्य भएर बम्बै (मुम्बइ) फर्कनु परेको छबिलालकी श्रीमती राजकुमारी सिङजालीले बताइन। ‘बालबच्चालाई भोकै राख्नु भन्दा मरे मै मरुला भन्दै एक साता अघि हिड्नु भएको हो’ राजकुमारीले भनिन। पोहोरको पहिरोले खेतबारी लगेपछि ४ जनाको परिवार  छबीलालकै कमाइमा मात्रै आश्रीत थियो। ‘दैव पनि गरिवलाई नै लाग्दो रैछ। पोहोर पहिरोले खेतबारी लग्यो। यसपाली कोरोनाले केही हुने हो की भन्ने डरले भोक निन्द्रा केही लाग्दैन’ नागरिकसँगको फोन संवादमा राजकुमारीले गला अबरुद्ध पार्दै भनिन्।

रुपन्देहीको हाटिबनगाइका रामपाल पासीलाई कोरोना बिगबिगीका बेला आफ्ना छोरालाई भारत पठाउने इच्छा नै थिएन। त्यसैले त उनले छोरा निरञ्जनलाई लिएर भैरहवा–लुम्बिनी करीडोरका उद्योगमा धेरै  पटक धाए। तर भनेजस्तो काम पाएनन। मुम्बइको गार्मेन्ट उद्योगमा काम गर्ने निरञ्जन कोरोना महामारीबाट जोगीन बैशाखमा घर फर्केका थिए। उनको परिवारमा ७ जना छन। जम्मा ६ कठ्ठा खेत छ। आफु नै बेरोजगार भएर बस्दा परिवारको बिचल्ली हुने देखेपछि निरञ्जन गत शुक्रबार भारत पसेको बुवा रामपालले बताए।

भारतमा अहिले पनि कोरोनाको जोखीम र मृत्युदर नेपालमा भन्दा निकै बढी छ। तर जोखीमका बाबजुद काम खोज्दै भारत फकर्ने नेपालीहरुको संख्या दिनहुँ बढ्दो छ। कोभिडकै कारण रोजगारी गुमाएकाहरुले स्वदेशमा काम नपाएपछि दसैंको मुखैमा परिवारलाई छोडेर भारत पसिरहेका छन्। कोही दशैं लगत्तै जाने तयारीमा छन।  रुपन्देही,कपिलबस्तु,नवलपरासी,बाँके र बर्दियाका मुख्य र सहायक नाकाबाट दैनिक सयौं नेपालीहरु भारत गएका छन। मुख्य नाकामा भारतीय पक्षले रासन कार्ड र पिसीआर रिर्पोट माग्ने भएकाले भित्री नाकाबाट नेपालीहरु भारत पसेको रुपन्देहीकै एक जना सुरक्षा अधिकारीले बताए। प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि कोरोना जोखीमका बाबजुद प्रदेशका नागरिकहरु काम खोज्दै भारत पसीरहेको स्वीकार गरे।

प्र्रदेश सरकारले यसपाली कोभिडकै कारण रोजगारी गुमाएकाहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याएको थियो। जसमा ४२ हजारलाई रोजगारी श्रृजना हुने गरी कोभिड १९ कृषि विशेष कार्यक्रमकालागि ६५ करोड बिनीयोजन गरेको छ। स्मार्ट कृषि गाँउकालागि  ४८ करोड छुट्याइएको छ। मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम, लघु,घरेलु तथा साना उद्योग, पशुपालन,शिप परियोजना मार्फत तालिम,अनुदान सहुलियत प्रदान गरी स्वराजगार सृजना गर्न करोडौं छुट्याइएको छ। गत बर्षकै बजेटबाट कोभिड विशेष कृषि कार्यक्रम मार्फत ५१ करोड रोजगारी गुमाएकाहरुलाई अनुदान दिने निर्णय जेठ १ को मन्त्रिपरिषदले गरेको थियो।  

तर सरकारका ती कार्यक्रम र बजेट गरिब विपन्न सम्म पुग्न सकेको छैन। पालिकाहरुमा आएका अनुदान र रोजगारमुलक कार्यक्रममा पहुँचवालाहरुकै हालीमुहाली देखिन्छ। समाजिक विकास मन्त्री बरालले कोभिड १९ ले निम्त्याएको आर्थिक शंकट र बेरोजगारी समस्याको समाधानकालागि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई मुख्यमन्त्री रोजगार योजनाको रुप दिएर १०९ वटै तहमा पठाइसकेको बताए। ‘रोजगारी गुमाएका गरिव विपन्नलाई समेट्न कार्यविधि नै परिवर्तन गरेर स्थानीय तहहरुमा पठाइसकेका छौं’ मन्त्री बरालले भने। उनले ती कार्यक्रमको कार्यान्वयन पक्षमा कमीकमजोरी भएको हुन सक्ने भन्दै त्यसलाई सुधारेर अगाडि बढ्न स्थानीय तहहरुलाई आग्रह गरे।

प्रदेश सांसद वीरबहादुर रानाले प्रदेशको कोभिड विशेष बजेट र कार्यक्रम प्रभावहिन हुँदा महामारीमा ज्यानकै माया मारेर प्रदेशका नगारिक भारत पस्न बाध्य भएको बताए। बेरोजगारहरुको तथ्याङ्क समेत निकाल्न नसकेको प्रदेश सरकारको बजेट र कार्यक्रमबाट पहुँचवालाहरुले मात्रै फाइदा लिइरहेको उनले बताए। सामाजिक विकास मन्त्रालय अन्तर्गतको श्रम रोजगार शाखाका अधिकृत सन्तोष खनालले तथ्याङ्क संकलनकालागि स्थानीय तह र श्रम कार्यालयसँग समन्वय भइरहेको बताए।

 

प्रकाशित: ५ कार्तिक २०७७ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App