coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दम्पतीसहित एकैदिन आठ संक्रमितको मृत्यु

श्रीमान्– श्रीमतीसहित कोरोना भाइरस संक्रमित आठजनाको एकैदिन  विराटनगरमा मृत्यु भएको छ। पाँच महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, विराट शिक्षण अस्पताल, न्यूरो, विराट नर्सिङ होम, मोरङ सहकारी अस्पताल र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।

मोरङको रंगेली–३ का ८५ वर्षीय वृद्ध पुरुष र ८१ वर्षीय वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको हो। दुवै श्रीमानश्रीमती कोरोना भाइरस संक्रमित भई अस्पतालमा उपचाररत थिए। वृद्ध पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको विराट नर्सिङ होमले जनाएको छ। असोज २८ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।  

वृद्धा महिलाको मंगलबार बिहान ११ बजेतिर उपचारका क्रममा मोरङ सहकारी अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ। गत मंगलबार ज्वारो, उल्टी आएपछि अस्पताल भर्ना गरिएको थियो। वृद्धाको अस्पताल भर्नासँगै गरिएको स्वाब पिसिआर परीक्षणको रिपोर्ट ५ दिनपछि आउँदा पोजेटिभ देखिएको मृतकका छोराले बताए। ‘अस्पताल भर्ना गरेको ५ दिनपछि पोजेटिभ रिपोर्ट आयो,’ मृतकका छोराले भने, ‘कोरोनाकै कारण बुवाआमालाई एकै दिन (राति र बिहान)जस्तो गुमाउनु प¥यो।’ छोराका अनुसार वृद्धालाई दमको पुरानो समस्या रहेको र अहिले निमोनिया देखिएको अस्पतालले बताएको उनले जानकारी दिए।  

त्यस्तै, विराटनगर–१२ की ६४ वर्षीया वृद्धाको मंगलबार बिहान ४ः४५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि सोमबार उपचारका लागि कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। त्यसैगरी, मोरङ कटहरी–२ की २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसीकै उपचार केन्द्रमा मृत्यु भएको हो। आइतबार कोरोना पुष्टि भएपछि उपचारका लागि त्यही दिन केन्द्रमा भर्ना गरिएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जनाकारी दिए।

सुनसरीको इटहरी–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोसीमै मृत्यु भएको छ। उनको रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसन बस्दै आएको र सोमबार दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि केन्द्रमा भर्ना गरिएको बस्नेतले बताए। विराटनगर–१० का ६४ वर्षीय वृद्धको मंगलबार बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ। असोज १५ गते कोरोना पुष्टि भएका उनलाई असोज २४ न्यूरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

विराटनगर–७ की ६९ वर्षीय वृद्धा महिलाको मंगलबार बिहान ८ बजेतिर उपचारका क्रममा मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ। असोज २६ गते रिपोर्ट पोजेटिभ आएको र स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  

झापा विर्तामोड– ४ की ७६ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा मंगलबार बिहान ८ः५० बजेतिर मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७७ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App