coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'मृत्युदर बढाउन वायु प्रदूषण जिम्मेवार’

कोरोना कहर

राजधानी काठमाडौंलगायत देशका अन्य केही स्थानमा जाडोयाममा वायु प्रदूषण बढ्ने गर्छ।वायु प्रदूषणका ससाना कणले फोक्सो तथा रक्त प्रणालीमा सिधै प्रवेश गरेर मुटुरोग, उच्च रक्तचाप, हृदयाघात, फोक्सोको क्यान्सर, मस्तिष्कघातलगायत रोग निम्त्याउने गर्छन्।यसपटक कोरोना महामारीका कारण वायु प्रदूषणको जोखिम थप बढ्ने भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले कोरोना संक्रमितको संख्या तथा मृत्युदर बढाउन वायु प्रदूषण जिम्मेवार रहेको देखाएका छन्। अमेरिकाको हार्वड विश्वविद्यालयले गत सेप्टेम्बरमा प्रकाशन गरेको एक अध्ययनले पिएम २.५ एक युनिटले बढ्दा कोभिड–१९ बाट हुने मृत्युदरमा ८ प्रतिशतले बढोत्तरी हुने देखाएको छ।वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका सूक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गर्ने गरिन्छ।अमेरिकाका ३ हजार काउन्टीमा गरिएको सो अध्ययनले आफ्नो निष्कर्षमा पिएम २.५ मा हुने सानो बढोत्तरीले कोभिड–१९ द्वारा हुने मृत्युदरमा ठूलो बढोत्तरी हुने उल्लेख गरेको छ।

‘कोभिड–१९ को वर्तमान महामारीको सन्दर्भमा हाम्रा तथ्यांकले जनस्वास्थ्यको सुरक्षाका लागि वायुप्रदूषण न्यून गर्ने विद्यमान कानुनलाई थप प्रभावकारी पार्नुपर्ने देखाएका छन्,’ विश्वविद्यालयले आफ्नो वेबसाइटमा भनेको छ।यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले वायु प्रदूषण र कोभिड–१९ को गम्भीर संक्रमणबीच अन्तरसम्बन्ध रहेको देखाएको बिबिसीले मंगलबार जनाएको छ।

‘यस्ता प्रदूषित कणले श्वासप्रश्वास नलीमा प्रभावित पार्ने र भाइरसले पनि श्वासप्रश्वास नलीलाई लक्षित गर्ने भएकाले संक्रमणको जोखिम बढ्छ,’ सो अध्ययनका सहलेखकसमेत रहेको मार्काे ट्राभाग्लिओले बिबिसीलाई भनेका छन्।यसैगरी वायु प्रदूषणका लागि जिम्मेवार मानिने ससाना कण र नाइट्रोजन अक्साइड भाइरसको विस्तारका लागि सहयोगी हुन सक्ने र तिनले कोभिड–१९ को भाइरसलाई हावामा बाँच्न सहयोग पु¥याउन सक्ने तर्क विज्ञको छ ।

हाल सार्वजनिक यातायातमा जोरबिजोर गरिएकाले राजधानीको वायुप्रदूषण त्यति बढेको छैन तर वातावरण विभागको मंगलबारको वायुप्रदूषण अनुगमन तथ्यांकका अनुसार हेटौंडा, दाङ, पोखरा, भरतपुर र महेन्द्रनगरमा वायुप्रदूषण मानवस्वास्थ्यका लागि अस्वस्थ मानिने स्तरमा पुगेको देखिएको छ।‘महामारीको स्तर र जाडोयाम दुवै बढ्दै गरेको अवस्थामा राजधानीमा प्रदूषणका मूल कारकलाई नियन्त्रण गर्न आवश्यक छ,’ वायु प्रदूषणका विषयमा विभिन्न शोध गरेका त्रिभुवन विश्वविद्यालयको भौतिक शास्त्रका प्राध्यापक रामप्रसाद रेग्मीले भने।उनले केही महिनाअघि भौतिक शास्त्रको केन्द्रीय विभागअन्तर्गतको नारेल प्रयोगशालाले प्रदूषण र कोभिडको सम्बन्धबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अध्ययनको प्रस्ताव गरेको तर त्यो अगाडि बढ्न नसकेको बताए।उनी राजधानीको वायु प्रदूषण नियन्त्रणका लागि ल्याइएका कार्ययोजना तथा अन्य कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने ठान्छन् ।

सरकारले गत माघमा ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६’ स्वीकृत गरेको छ।जसअन्तर्गत वायु प्रदूषण रोक्न विभिन्न कानुनी तथा नीतिगत व्यवस्था गरिएको छ।मुख्य रूपमा सवारीसाधन तथा उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण नियन्त्रण, घरायसी तथा कृषिजन्य फोहोरको व्यवस्थापन, उद्योग तथा अस्पताल जन्य फोहोरमैलाका व्यवस्थापनलाई सो कार्ययोजनामा प्राथमिकता दिइएको छ।‘नीतिगत तथा कानुनी व्यवस्थाभन्दा पनि तिनको प्रभावकारी कार्यान्वयनले उचित नतिजा दिन सक्छ,’ प्राध्यापक रेग्मी थप्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन भाइरस र प्रदूषण दुवैले फोक्सोमा आक्रमण गर्ने भएकाले खतरा बढ्नु स्वाभाविक रहेको बताउँछन्।‘धेरै मानिसले अहिले मास्क लगाउने हुँदा त्यसले केही सहयोग त गर्ला तर महामारी रोकथामका उपायसँगै प्रदूषण रोकथामका उपायलाई पनि उत्तिकै महŒव दिनु आवश्यक छ,’ उनी भन्छन् ।नेपाल स्वास्थ अनुसन्धान परिषद्ले सन् २०१५ मा गरेको एक अध्ययनले पिएम २.५ का कणहरूले अत्यधिक मात्राले राजधानी उपत्यकामा श्वासप्रश्वास र निमोनिया रोगी बढेको देखाएको थियो।सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययनले प्रदूषणका कारण राजधानीमा मात्रै झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ ।

यसैगरी विश्व स्वास्थ्य संगठन, विश्व वैंक, युएन इन्भारोमेन्ट तथा क्लाइमेट एन्ड क्लिन एयर कोलिएसन मिलेर सुरु गरिएको ब्रेथलाइफ नामक अन्तर्राष्ट्रिय अभियानका अनुसार नेपालमा घरभित्र र बाहिर हुने दुवैखाले प्रदूषणका कारण बर्सेनि ३७ हजार ३ सय ९९ जनाको मृत्यु हुने गरेको छ।राजधानी काठमाडौं विश्वकै १० प्रमुख प्रदूषित सहरमा पर्छ।विश्वका विभिन्न स्थानको प्रदूषणको तथ्यांक अद्यावद्यिक गर्ने संस्था अक्वा एयरले मंगलबार साँझ जनाएअनुसार वायु प्रदूषणको सूचकांक (एक्विआई) मा १ सय २२ अंकसहित काठमाडौं विश्वको आठौं प्रदूषित सहरमा रहेको छ।सबैभन्दा बढी प्रदूषित सहरमा २०२ एक्विआईसहित चीनको राजधानी बेइजिङ रहेको छ भने दोस्रो स्थानमा १५८ एक्विआईसहित पाकिस्तानको लाहोर रहेको छ ।

प्रकाशित: ५ कार्तिक २०७७ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App