७ वैशाख २०८१ शुक्रबार
समाज

असई र प्रहरी जवान हत्या प्रकरणः सेटिङ मिलाउन नमानेपछि हत्या गरेको खुलासा

हत्या गर्ने तस्करको समूहमध्ये ७ जना पक्राउ

कैलालीको धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बि.क. र प्रहरी जवान रामबहादुर साउँदको हत्या गर्ने तस्करको समूहमध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेर मंगलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । ७ जनाले असई र प्रहरी जवानको हत्या गरेको स्विकारेको कैलालीका प्रहरी उपरिक्षक दिलिप देउवाले बताएका छन् । हत्यामा संलग्न २ जना भने अझै फरार रहेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. १० वस्ने ३१ बर्षिय पर्कु भन्ने रोहित राना, २० बर्षिय राजेन्द्र राना, ३० बर्षिय चोर भन्ने सुरेश राना, २५ बर्षिय गव्वर भन्ने राजकुमार राना,२२ बर्षिय रान निवास राना,२९ बर्षिय दलराम राना, वडा नम्वर ११ का २५ बर्षिय गोपाल राना रहेको उनले बताए । ७ जना बिरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको प्रहरीले बताएको छ । कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले योजनाबद्ध ढंगमा तस्करहरुले हत्या गरेको अनुसन्धानवाट खुलेको बताए ।

तस्करीको सेटिङ मिलाउन नमानेर तस्करी रोक्न खोजेकाले असई गोविन्द र प्रहरी जवान साउँदको हत्या भएको खुलेको छ । अघिल्लो दिन पनि भारतवाट तस्करी गरि ल्याएको सुर्तीजन्य पदार्थ असई गोविन्दले बरामद गरेको थियो । कात्तिक १ गते बिहानै तस्करहरुको समूह अस्थाई प्रहरी पोष्टमा पुगेर असईलाई भटेर तस्करीका लागी सेटिङ मिलाउने कोशिस गरेको प्रहरीको एक उच्च अधिकारीले बताए ।‘हत्यामा संलग्न यहि समुह बिहान प्रहरी पोष्टमा पुगेर तस्करी गर्नका लागी कुरा मिलाउन पुगेको थियो, असईले इन्कार गरिदियो’उनले भने,‘तस्करी गर्न छुट नपाएपछि हत्या गरिएको खुलेको छ ।’

यसरी गरियो हत्या

शनिवार राती ८ः३० बजे खाना खाएर असई गोविन्द प्रहरी जवान साउँद लाई मोटरसाईकलमा पछाडी वसालेर गस्तीमा निस्के । एउटा घरमा मोटरसाईकल राखेर उनीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा पुगे । अस्थाई पोष्ट देखि करिव ५ किलोमिटर दक्षिण पश्चिम तर्फ पर्छ । तस्कर समान ओसार्ने वाटो नजिकै एउटा झ्याङमा असई र प्रहरी जवान वसिरहे । राती १०ः३० बजेतिर भारततर्फ लैजान गोरुगाडामा मटर राखेर तस्करको समुह आयो । असई र प्रहरी जवानले गोरुगाडालाई रोकेर समान नियन्त्रणमा लिन खोजे । 

प्रहरी जवान गोरुगाडाको एकातर्फ र असई अर्को तर्फ उभिएका थिए । शुरुमा उनीहरुले प्रहरी जवान र असईलाई पैसा दिएर समान छुटाउन कोसिस गरेको हत्यामा संलग्नको बयानलाई उदृत गर्दै कैलालीका प्रहरी उपरिक्षक देउवाले बताए । समान छोड्न नमानेपछि गोरुगाडाका एकापट्टी रहेका प्रहरी जवानलाई तीन जनाको समुहमा रहेका तस्करले टाउकोमा लठ्ठीले हिर्काए । जवान साउँद त्याहावाट अलि पर भागे । त्यसपछि अर्कोपट्टी रहेका असई माथी पनि प्रहार गरियो । असईको फरुवाले हिर्काएर पहिले हत्या गरेको प्रहरी उपरिक्षक देउवाले बताए । प्रहरी जवान साउँद उम्केर भागेका थिए तर तस्करको समुहले लखेट्दै गएर उनको त्यसपछि हत्या गरे । अलग ठाउँमा हत्या गरेपछि दुवै जनालाई उखुवारी छेउमा खाल्डो जस्तो ठाउँमा ल्याएर शुरुमा त्याहाँ जमिन मुनी गाड्ने प्रयास गरेको हत्यामा संलग्नले प्रहरीलाई बयान दिएका छन । 

जमिनमै खनेर गाडेपछि थाहापाईहालिने देखेपछि उनीहरुले नदीको बिच भागमा खाल्डो खनेर गाड्ने सोच बनाए । शुरुमा प्रहरी जवानलाई नदीको बिच भागमा लगेर खाल्डो खनी गाडे । त्यसपछि त्यसको करिव ५० मिटर दक्षिण तिर नदीको बिच भागमा असईलाई खाल्डो खनेर गाडेको उनीहरुले बयान दिएका छन । नदीमा गाडेपछि उनीहरुले माटो खनेर ल्याएर रगतलाई नदेखिने गरी ढाकेका थिए । ‘घटनाको ढाकछोप गर्न सकेसम्म कुनै सवुत प्रमाण वाँकी नरहुन भनेर धेरै प्रयास गरेको देखिन्छ’उनले भने । उनीहरुले हत्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पुगाएका बयान दिएका छन ।

हत्यामा संलग्न ७ जना मध्य २ जना सोमवार दिउसो र ५ जना राती पक्राउ गरिएको हो । हत्यामा संलग्न मध्यका २ जनाले नदीको बिच भागमा गाडेको स्थान देखाएपछि मंगलवार बिहान दुई दिन पछि प्रहरी जवान साउँदको शव फेला परेको प्रहरीले बताएको छ ।

हत्यापछि असईको पेस्तोल र मोवाईल नदीमा फालेका थिए । मंगलावर पेस्तोल पनि फेला परेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले तस्करीको समान नियन्त्रण लिदाँ तस्करको समुहले एकाएक फरुवा हानेर हत्या गरेको बताए । असई सँग पेस्तोल थियो । तर उनले पेस्तोल समेत झिक्ने मौका नपाउदै आक्रमण भएको उनले बताए ।‘पेस्तोल झिक्ने मौका नै पाएन, उनीहरुले जे हातमा छ, त्यसले एक्कासी प्रहार गरे’डिआईजी सुवेदीले भने,‘फरुवाले टाउकोमा र घाँटीमा हिर्काएर हत्या गरेको बुझिएको छ ।’ असई गोविन्द र प्रहरी जवान साउँदको शव घाटी पुरै काटिएको अवस्थामा फेला परेको थियो ।  

३ महिना अघि मात्र अस्थाई प्रहरी पोष्ट जुगेडमा गएका असही गोविन्दले ३, ४ पटक समान समातेका थिए । उनी आएपछि तस्करी गर्न जटिलता भएकाले तस्करहरुलाई समस्या भएको थियो । दुवै देशका तस्करहरुको सन्जालमा तस्करी हुने र उनको हत्या भएको ठाउँ दुवै देशका तस्कर जम्मा हुने ठाउँ रहेको स्थानिय बताउछन । भारतका तस्करको संलग्नता रहेको बारे अझै खुल्न नआएको प्रहरीले बताए ।

घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करहरुको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन् । यो नाका भएर भारतमा मटर, भटमास तथा दलहन बस्तु तस्करी हुने गर्छ भने भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामाग्री मध्ये चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डबेयरका सामग्री, इलेक्ट्रिक्स सामानहरु अवैध आयात हुने गर्छ । प्रहरीकै सेटिङमा वर्षौदेखि नियमित तस्करी हुने गरेकोमा असई गोविन्दले तस्करी रोक्न खोजेकाले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् । जुगेडामै अस्थायी प्रहरी पोष्टका साथै नेपाल सशस्त्र प्रहरीको विओपी पोष्ट रहेको छ । तर तस्करी नियन्त्रण गर्न भन्दा तस्करवाट महिनावारी पैसा उठाउनमा ध्यान दिने गरेको स्थानीय बताउँछन् ।

प्रहरी र सशस्त्रकै सेटिङमा तस्करी हुने गर्छ तर तीन महिना अघि अस्थायी प्रहरी पोष्टको इन्चार्ज आएर आएका असई बिकले तस्करीमा कडाइ गरेका कारण उनले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् ।  

कंचनपुर पुनर्वास नगरपालिका वडानम्वर ९ घर भएका असई बि.क. भुमिहिन परिवारका हुन । उनी २०७४ सालमा असईमा भर्ना भएका थिए । उनका ५० वर्षीया आमा, श्रीमती र दुई छोरी छन् । बाल्यकालमै बुवा गुमाएका उनी तीन भाईमध्यका माईला हुन । यसैगरि अछाम बान्नी जयगढ गाउँपालिका वडा नम्वर ५ निवासी साउद २०६७ सालमा नेपाली प्रहरी सेवामा प्रवेश गरेका थिए । २ वर्षदेखि कैलालीमा कार्यरत साउँदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ दाजभाई मध्य साउँद साईला हुन ।

प्रकाशित: ४ कार्तिक २०७७ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App