दिलबहादुर छत्याल/पुष्पराज जोशी
कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख गाउँका गरिब र भूमिहीन परिवारमा जन्मेका थिए गोविन्द विक। बाल्यकालमै बुबा गुमाएका गोविन्द परिवारका माहिला सन्तान हुन्। उनी पढाईमा अब्बल र क्षमतावान् भएकाले उनका दुई भाइले मजदुरी गरेर गोविन्दलाई पढाए। भूमिहीन र सामान्य परिवारका लागि प्रहरी सहायक निरीक्षकको जागिर आफैमा सपना थियो। तर, गोविन्दले विविएस पूरा गरेर त्यो सपना पूरा गरे। २०७४ असार ६ गते उनको भर्नासँगै परिवारमा खुसी छायो। तर, त्यो खुसी धेरै समय टिक्न सकेन। सीमा क्षेत्रमा तस्करी रोक्न खोज्दा उनले सीमा क्षेत्रमै तस्करद्वारा घाँटी रेटेर हत्याको नियती भोग्नु प¥यो। १२ जनाको परिवारको एक्लो साहारा र भरोसा रहेका गोविन्दको अवसानसँगै भूमिहीन परिवारका सपना र खुसीहरु एकैसाथ चुँडिए। ‘तीन भाइ मध्येको सबैभन्दा क्षमतावान र अब्बल भएकाले गोविन्दलाई पढाउनमै पूरै परिवार मजदुरीमा होमियो,’ गोविन्दका जेठा दाजु रमेश बिकले भने,‘अब सुखका दिन आए भन्ने सोचेका थियौँ, तर हाम्रो साहारा नै खोसियो।’
दुई कठ्ठा ऐलानी जमिनमा सानो छाप्रो बनाएका गोविन्दका दाजु, भाउजू, आमा, भाइ र श्रीमती तथा छोराछोरीहरु ख गाउँमै बस्छन्। आफू र कान्छो भाइ मिलेर शाहुको एक बिघा जमिन अधियाँ खेती गर्दै आएका छन्। अधियाँबाट पनि परिवारलाई वर्षभरि खान नपुगेको बताउँदै रमेशले भने,‘हाम्रो साहारा भनेकै भाइ गोविन्द थियो।’
गोविन्दकी पत्नी पूजा पेट सम्बन्धी बिरामी थिइन्। उनलाई उपचारका लागि धनगढीमा डेरा गरेर गोविन्दले राखेका थिए। घटनासँगै उनी विक्षिप्त बनेकी छिन्। उनको अवस्था नाजुक भएपछि आफन्तले आइतबार नै पुनर्वासस्थित घरमा पुगाएका छन्। उनको मात्रै नभई दमको रोगी रहेकी गोविन्दकी ५० वर्षीया आमा कलावती पनि घटना सुनेदेखि बेहोस छिन्। ‘भाइ बुहारी एकातिर विक्षिप्त छिन्,’ दाजु रमेशले भने,‘उता दमको रोगी रहेकी आमाको अवस्था के हुने भन्ने चिन्ताले पिरोलेको छ।’ असई गोविन्दले केही महिना अघि प्रहरी निरीक्षक पदका लागि दरखास्त दिई शारीरिक तथा मेडिकल जाँचको परीक्षा दिइसकेका थिए।
‘घुस खाएको भए ज्यान जान्थेन’
जागिरे बनेको थोरै अवधि भए पनि उनको क्षमता र कार्यशैली देखेर संवेदनशील मानिने नाका जुगेडाको अस्थायी प्रहरी पोष्टमा जिम्मेबारी पाएका थिए। धनगढीको जुगेडा नाका तस्करी हुने मध्येको मुख्य र संवेदनशील नाका मानिन्छ। दुई देशका तस्करहरुको सञ्जालले यो नाकाबाट वर्षौदेखि तस्करी गर्दै आइरहेको स्थानीय बताउँछन्। तीन महिना अघिमात्रै सरुवा भएर आएर गोविन्दका लागि यो नाकामा तस्करी कडाइ गर्नु नै अभिसाप बन्यो। केही दिन अघि मात्रै भाइसँग कुरा गर्दा गोविन्दको भनाई उदृत गर्दै रमेशले भने,‘जुगेडामा धेरै तस्करी हुने रहेछ, म यसलाई नियन्त्रण गर्न लागेको छु भनेर सुनाएको थियो।’ मेरो भाइ इमान्दार भएर तस्करबाट पैसा नलिएर तस्करी रोक्न खोज्दा ज्यान गुमाएको उनको भनाइ छ। ‘मेरो भाइले तस्करबाट घुस खाएको भए आज ज्यान जाने थिएन,’ उनले भने,‘देशको राजस्व बढाउनमा लाग्यो, र त यस्तो नियती भोग्नु प¥यो।’
तस्करी रोक्न असईको सक्रियता बढेको थियो
दस जनाको कमाण्ड सम्हालेका असई गोविन्द अहोरात्र ड्युटीमा खटिन्थे। तीन महिनामा उनले दिनरात नभनी अवैध नाकाको तस्करी रोक्न कडाई गरेका थिए। तीन महिनाको अवधिमा त्यहाँबाट उनले गुट्खा तथा सुर्तीजन्य पदार्थ, लुगा धुने सोडा लगायतका सामाग्रीहरु बरामद गरेका थिए। सुदूरपश्चिम प्रदेश कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले असई गोविन्दले जुगेडा नाकामा तस्करी रोक्न हाजिर भएदेखि सक्रियता बढाएको बताए। उनले भने, ‘गोविन्दले त्यो नाकाबाट हुने तस्करी रोक्न रातदिन खटिएका थिए।’ तस्करी रोक्नमा सक्रिय भएकै कारण उनी तस्करहरुको आँखाको तारो बनेको उनी बताउँछन्। ‘तस्करकै कारण असई गोविन्दको ज्यान गएको हो,’ उनले भने,‘यसबारे हामी गहन अध्ययनमै छौँ।’ केही दिन अघि मात्रै असई गोविन्दले तस्करीका सामान बरामद गरेर कारबाही अगाडि बढाएको उनले बताए। ‘उनको पृष्ठभूमि हेर्दा अपराधिक गतिविधि विरुद्ध खरो देखिन्छन्,’ एसएसपी सिंहले भने।
हत्यारा कारबाहीको माग गर्दै प्रदर्शन
असई गोविन्द बिकको हत्या गरेको विरोधमा आफन्त तथा स्थानीय ट्रयाक्टर रिजर्व गरी पुनर्वासबाट धनगढी आएर प्रदर्शन गरेका छन्। उनीहरुले धनगढी ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालय धनगढीसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले असई गोविन्दका हत्यारा यथाशक्य पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए। प्रदर्शनमा रहेका उनका मामा भरमल सुनारले भने,‘मृतकलाई शहिद घोषणा, दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको व्यवस्था अब सरकारले गरिदेओस् भन्ने हाम्रो माग हो।’ असई बिकको शव पोष्टमार्टमपछि सोमबार नै आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
साउँदको अवस्था अझै अज्ञात
असई गोविन्द विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ। घटनास्थल नजिक प्रहरी जवान साउँदको एउटा जुत्ता र मोबाइल भेटिए पनि उनको अवस्था बारे अहिलेसम्म केही थाहा हुन नसकेको प्रहरी बताउँछ। वरिष्ठ प्रहरी उपरीक्षक सिंहले खोजिकार्य जारी भए पनि प्रहरी जवान साउँदको अवस्था पत्ता लाग्न नसकेको बताए। असई र प्रहरी जवान दुवैको मोबाइल भने फेला परेको उनको भनाइ छ। अहिलेसम्म १३ जना संदिग्धलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउँदै प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले भने,‘हामी प्रारम्भीक अनुसन्धानमा छौँ।’
तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरेर शव मोहना नदीमा फालेका थिए भने उनीसँगै गएका प्रहरी जवान साउँदको अवस्था अझै अज्ञात छ।
प्रकाशित: ४ कार्तिक २०७७ ०३:५५ मंगलबार