७ वैशाख २०८१ शुक्रबार
समाज

मोरङमा १२ दिनका लागि निषेधाज्ञा

मोरङमा १२ दिनका लागि निषेधाज्ञा जारी गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण रोक्न १२ दिनका लागि निषेधाज्ञा गर्ने भएको हो ।  

चाडपर्वमा अझै धेरै संक्रमण फैलन सक्ने सम्भावन बढेको भन्दै चाडपर्व लक्षित निषेधाज्ञा लगाएको प्रशासनले जनाएको छ । कात्तिक ३ देखि १५ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।  

जिल्ला सुरक्षा समितिको आइतबार भएको बैठकले कात्तिक ३ देखि १५ गतेसम्मका लागि मुख्यतः मठमन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलनलगायतका कार्यमा रोक लगाएको सहायक प्रजिअ केशरीले बताए ।  

जिल्लाभर राति ८ बजेबाट बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दुरीका बाहेक अन्य सवारीको आवतजावतमा पूर्णरूपमा प्रशासनले रोक लगाएको छ । त्यसैगरी चाडपर्वका क्रममा जिल्लाभरका मठमन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रूपमा नित्य पूजा बाहेक सामूहिक रूपमा पूजा, भजनकीर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने प्रशासनले जनाएको छ ।  

‘दशैंका लागि घर आउने तथा जानका लागि हाल रोक लगाएका छैनौं,’ सहायक प्रजिअ केशरीले भने, ‘संक्रमण बढ्दै गएको र चाडपर्वमा अझ अवस्था गम्भीर हुने हुँदा स्थानीयलाई सजग हुन भनेका छौं । प्रशासनबाट जारी भएको निषेधाज्ञा कसैले पनि उल्लंघन नगर्न आग्रह गर्दैछौं ।’  

साताभरिका लागि जारी गरिएको निषेधाज्ञा सबैले पालना गर्न र नगरेको भेटिए कानुन बमोजिम कारबाही हुने मोरङ प्रशासनले जनाएको छ ।

प्रकाशित: २ कार्तिक २०७७ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App