७ वैशाख २०८१ शुक्रबार
समाज

आइसीयू बेड खोज्दाखोज्दै गयो उपमहानगरका कर्मचारीको ज्यान

गत मंगलबारदेखि कोरोना पोजेटिभ देखिएका बुटवल उपमहानगरका एक जना वडा सचिवको उपचार नपाएरै शनिबार साँझ मृत्यु भएको छ। असोज २७ गते कोरोना पोजेटिभ देखिएका बुटवल उपमहानगर ८ का ४९ वर्षे ती वडा सचिव होम आइसोलेसनमा बसेका थिए।  

शुक्रबार रातीदेखि उनको स्वास्थ्यमा समस्या देखियो। परिवारले शनिबार बिहानै पाँच बजेदेखि नै बुटवल भैरहवाका कोभिड अस्पतालहरुमा बेड मिलाइदिन अस्पताल प्रशासन, चिकित्सक सबैसंग अनुरोध गरे। तर कोभिड अस्पतालहरुमा बेड खाली नभएपछि चिकित्सकहरुले भैरहवा मेडिकल कलेजमा लैजान सुझाव दिए। त्यहाँ पनि बेड खाली नभएपछि अन्ततः उनलाई बिहान ८ बजे लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा लगियो।

तर विडम्बना प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा पनि बेड खाली थिएन। जसका कारण स्वासप्रश्वासमा समस्या भएका ती संक्रमितलाई झण्डै डेढ घण्टा एम्बुलेन्स भित्रै राखियो। साढे ९ बजे फिबर क्लिनीकमा बेडको जुगाड गरेर बल्ल उनलाई एम्बुलेन्सबाट निकालीयो। चिकित्सकहरुले तत्कालै आइसीयू उपचार गर्नुपर्ने भनेका ती बिरामीलाई दिउँसो साढे ४ बजेसम्म फिबर क्लिनीकमै समान्य अक्सिजनको भरमा राखीयो।  

चारैतिर भनसुन र दवाव दिएपछि साँझ पाँच बजे धागो कारखानामा रहेको कोरोना अस्पताल लगिएको उनका आफन्तले नागरिकलाई बताए। अन्ततः शनिबार साँझ ६ बजेतिर ती संक्रमितको मृत्यु भयो। अस्पतालमा रहेका १७ बेड आइसीयु पहिले नै भरिएकाले समयमै भर्ना गरेर उपचार गर्न नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। ‘हामीले सक्दो प्रयास गरेका हौं तर आइसीयू भेन्टिलेटर खाली नै नभएपछि थपिएका संक्रमितको उपचारमा निकै समस्या भइरहेको छ’ डा. गौतमले भने।

संक्रमितका आफन्तले पनि दिनभर हारगुहार गर्दा समेत उपचार नपाएरै बिरामीको ज्यान गएको भन्दै आक्रोस व्यक्त गरेका छन्। ‘प्रदेश सरकारले बुटवलमा के को रमिता हेरेर बसीरहेको छ? राष्ट्र सेवक कर्मचारीकै लागि हारगुहार गर्दा पनि उपचार नपाएर ज्यान गुमाउनु पर्छ भने सामान्य नागरिकको अवस्था के होला? मृतकका एक जना आफन्तले आक्रोस पोखे। केही दिनअघि पनि बुटवलका दुई पुरुष, तिलोत्तमाकी एक महिला र नवलपरासी र अर्घाखाँचीका एक/एक जनाको आइसीयू बेड खोज्दा खोज्दै मृत्यु भएको थियो।

रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँचीका संक्रमितहरुलाई उपचाका लागि बुटवल ल्याइन्छ। तर बुटवलको कोरोना अस्पतालका आइसीयू, भेन्टिलेटरसहित आइसोलेसन बेडहरु भरिएका छन्। भैरहवाको भिम अस्पतालमा पनि बेड भरिएका छन्। लुीम्बनी प्रादेशिक अस्पताल बुटवलको फिबर क्लिनीकमा पनि बेड खाली नभएकाले गम्भीर लक्षण देखिएका संक्रमितको उपचारमा समस्या भइरहेको अस्पतालका डा. बिष्णु गौतमले बताए।

रुपन्देहीमा मात्रै कोरोनाबाट ४९ जनाको मृत्यु भइसकेको छ। संक्रिय संक्रमितकै संख्या १५ सय नाघेको छ। पछिल्लो पटक थपिएका संक्रमित मध्ये अधिकांश लक्षणसहितका छन्। तर लक्षणसहितका संक्रमितको अनुपातमा कोभिड अस्पतालहरुमा शैया, जनशक्ति र उपकरण थपिएको छैन। कोरोना संक्रमणको प्रारम्भिक चरणमा तयार गरिएका संरचनाले नै अहिले सम्म काम चलाइएको छ। जसका कारण दिर्घरोग भएका वा गम्भीर लक्षणसहितका संक्रमितहरु समेत होम आइसोलेसनमा बस्न बाध्य छन्।  

उनीहरुले अस्पतालमा भर्ना पाउन सकेका छैनन्। आइसीयू भेन्टिलेर मात्रै हैन अक्सिजनको समेत पर्याप्त व्यवस्था नहुँदा दिर्घरोग नभएका र युवा उमेर समूहकाले समेत ज्यान गुमाउनु परिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

प्रकाशित: २ कार्तिक २०७७ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App