१६ चैत्र २०८० शुक्रबार
समाज

‘यो पटक टीका थाप्न नआउनू होला’

कोरोना कहरमा दसैं

कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुक अन्नपूर्ण आधार शिविर पदमार्ग (एबिसी) प्रवेशद्वारमा पर्छ। कोरोना भाइरस संक्रमण दिनैपिच्छे बढिरहेको र नजिकिएको दसैं–तिहारको मुखैमा पर्यटकीय गाउँ घान्द्रुकले बिहीबार एउटा निर्णय ग¥यो– यो दसैंमा मावली पनि नजाने, छोरी–ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।’

खासमा दसैंका दिन टीका र जमरा लगाई मान्यजनबाट आर्शीर्वाद लिने चलन छ। दसैंमा टीका थाप्न आउनु भनेर कसैलाई निमन्त्रणा पनि गर्नुपर्दैन। तर घान्द्रुककवासीले यो पटक छोरी–ज्वाइँ, भान्जाभान्जी, तथा नातेदारलाई टीका थाप्न नआउनु भन्न थालेका छन्। टीका थाप्न आउने आफन्तबाटै कोरोना संक्रमण फैलिने खतरा भएपछि यो पटक टीक थाप्न नआउनु भन्दै आफन्तलाई जनाउ दिन घान्द्रुकवासीले यस्तो निर्णय गरेका हुन्।

‘मेरा छोरी–ज्वाइँ पोखरा बस्छन्। दसैंमा टीका थाप्न उनीहरु घान्द्रुक आउने तयारीमा थिए। मैले त फोन गरेरै अहिले टीका थाप्न नआउनू भनिसकें,’ घान्द्रुकका अगुवा ध्रुव गुरुङले भने, ‘दसैं–तिहार अर्काे वर्ष मनाऔंला। यो पटक घरमै बस्नु होला।’ सिंगो घान्द्रुकका प्रत्येक परिवारले दसैंमा टीका थाप्न आफन्तकहाँ पनि नजाने र आफन्तलाई पनि नबोलाउने भन्ने निर्णय गरेपछि सबैले मान्नुपरेको उनले बताए।

‘मैले दसैंमा फोन गरेर टीका थाप्न नआउनुभन्दा त छोरी नै अचम्मित भइन् तर वास्तविकता बताएपछि सहमत भइन्,’ गुरुङले भने, ‘यो कोरोना एकाघरको समस्या मात्र होइन। यसलाई थप फैलिन नदिन सिंगो समाजले गरेको निर्णय सबैले मान्नुपर्छ।’

दसैंमा निमन्त्रणाबिना नै टीका लगाउन आउजाउ गर्ने चलन छ तर यो वर्ष कोरोना संक्रमण फैलिने भयले आफन्तलाई टीका थाप्न आउजाउ नगर्न अग्रिम सूचना दिनुपरेको घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङले बताए। उनी भन्छन्, ‘यो दसैंमा हामी मावली पनि नजाने भनेका छौं, ससुराली पनि जाँदैनौं। अनि छोरी–ज्वाइँलाई पनि माइती–ससुराली नआउनु भनेका छौं। त्यस्तै भान्जा–भान्जी र नातेदारलाई पनि यो पटक टीका थाप्न नआउनू है भनेर खबर गरेका छौं।’ सरकारले पनि जो जहाँ छ, त्यहीं बसेर दसैं मनाउनु भनिरहेको अवस्थामा अहिलेसम्म कोरोनाबाट सुरक्षित घान्द्रुकमा दसैंका कारण संक्रमण फैलिने त्रास भएकाले आफन्तलाई नआउनु भनेको उनले बताए। ‘टीका थाप्न आउने सम्भावित पाहुनालाई फोन गरेर नआउनू भनेका छौं,’ उनले भने, ‘यो हामी एकजनाका लागि मात्र भनेको होइनौं। सिंगो समाजलाई सुरक्षित राख्नु हामी सबैको दायित्व हो।’ तल्लागाउँ र क्याकोथर टोलमा पुगेर आफन्तलाई सूचना गरिसकेको अध्यक्ष गुरुङले बताए।

दसैंमा निमन्त्रणाबिना नै टीका थाप्न आउजाउ गर्ने चलन छ तर यो वर्ष कोरोना संक्रमण फैलिने भयले आफन्तलाई टीका थाप्न आउजाउ नगर्न घान्द्रुकवासीले अग्रिम सूचना दिएका छन्। उनीहरूको निर्णय छ– यो दसैंमा मावली पनि नजाने, छोरी–ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।

पर्यटन विकास समितिका उपाध्यक्षसमेत रहेका ध्रुव गुरुङ आफैंले कोटगाउँ, डाँडागाउँ, गैहगाउँमा पुगेर त्यहाँका बासिन्दालाई यसबारे जानकारी दिइसकेका छन्। ‘अहिलेसम्म हाम्रो गाउँ सुरक्षित छ। पोखरा र काठमाडौंमा महामारी फैलिएको छ। त्यसैले कसैलाई अब घान्द्रुक आउन अनुमति छैन,’ उपाध्यक्ष गुरुङले भने, ‘सबैले आफन्तलाई सूचना दिनु भनेर म आफैं टोलटोलमा पुगेर भनिसकेको छु। सहरका आफन्तलाई गाउँलेले फोनबाटै समाजको सुचनाबारे जानकारी गरारहेका छन्।’ स्थानीयका अनुसार बजारमा रहेका घान्द्रुकवासी भने घर फर्किन पाउनेछन्। उनीहरु पनि जथाभाबी गाउँ डुल्न भने पाउने छैनन्।

जिल्ला प्रशासन कार्यालय स्याङजाले पनि शनिबारदेखि लागु हुने भन्दै केही दिनअघि सूचना निकालेको थियोे। सूचनामा लेखिएको थियो–कोरोना भाइरस संक्रमण बढिरहेको बेला उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा पछिल्लो ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ। रिपोर्ट नहुनेले तोकिएको क्वारेन्टिनमा बस्नपर्ने सूचनामा लेखिएको थियो। प्रशासनले सूचना अवज्ञा गर्नेलाई कारबाही हुनेसम्म भनेपछि सामाजिक सञ्जालमा त्यसको प्रशंसा र विरोध दुवै भयो।

स्याङजा हुँदै सिद्धार्थ राजमार्गबाट दैनिक सयौं ठूला र साना सवारी पोखरा आउजाउ गर्छन्। पोखरालाई पश्चिम नेपालसँग जोड्ने यो नै अहिलेसम्मको छोटो राजमार्ग हो। पश्चिमका धेरै सहरसम्म यही राजमार्ग हुँदै ठूला तथा साना सवारी ओहोरदोहोर गर्छन्। अहिले प्रशासनले जिल्ला प्रवेशमा कडाइ गरेपछि राजमार्ग हुँदै आउजाउ गर्ने पनि दोधारमा परे। लगत्तै स्याङजा प्रशासनले शुक्रबार बेलुकी फेरि अर्काे सूचना जारी ग¥यो। सोे सूचनामा लेखिएको छ– जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न जो जहाँ छ त्यहीं बसेर दसैं मनाउनू , जिल्ला आउनै परेमा उच्च जोखिममा रहेका देश र स्थानबाट आउनेले पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने अन्यथा क्वारेन्टिनमा बस्नुपर्नेछ। ‘यो सर्वसधारणलाई गरिएको अपिल मात्र हो। राजमार्ग भएर आउजाउ गर्न कुनै रोकावट छैन,’ सूचनामा छ।

यस्तो सूचनाले यात्रामा कुनै अवरोध नभएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए। ‘हामीले पिसिआरको नेगेटिभ रिपोर्ट खोज्दा बाहिरबाट घर (स्याङजा) फर्किन खोजेका जो कोही आफन्त निरुत्साहित हुन सक्छन्। जो जहाँ छ त्यहीं बसेर दसैं मनाउँदा संक्रमण फैलिन पाउँदैन भनेर यस्तो सूचना गरेका हौं,’ उनले भने, ‘तर, सर्वसाधारण बढी त्रसित भए। पिसिआर नेगेटिभ रिपोर्ट पेस गरेमात्र जिल्ला भित्रिन पाइन्छ भनेर कडाइ गर्न सकिने अवस्था छैन।’

जिल्लामा बाहिरबाट जथाभावी आवागमन नहोस् भनेर मात्र यो खालको सूचना निकालेको प्रजिअ बस्नेतले बताए। ‘दसैंमा घर नआउनू भनेर घरकै मान्छेले पनि आफन्तलाई भन्न सकेनन्। यस्तोमा प्रशासनको भूमिका खोजिएको मात्र हो,’ उनले भने, ‘हामीले सर्वसाधारणको भाषा बोलिदिँदा गलत बुझाइ भएको हो। कसैले पनि हेलचक्रयाइ नगरुन भनेर यो खालको सूचना जारी गरेका मात्र हौं। तर, रिपोर्ट खोजेर बस्ने अवस्था रहन्न। जो कोही गाउँ भित्रिए पनि उनीहरु यताउता नडुल्ने हो भने जोखिम कम हुन सक्छ।’

दसै– तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा विभिन्न जिल्ला, स्थानीय तह, टोलले गाउँमा भित्रिने आफन्तका लागि कडा सर्त अघि सारेका छन्। संक्रमण फैलिने त्रासले सकेसम्म जो जहाँ छ, त्यहीं बसेर चाड मनाऔं भन्नका लागि यी सर्त अघि सारेको उनीहरुले बताएका छन्। आफन्तसँग भेटघाट र टीका थाप्ने निहुँमा आउजाउ गर्दा कोरोना संक्रमण फैलिने भएकाले आउजाउमा अलि कडाइ गर्नुपरेको उनीहरुको प्रष्टीकरण छ। समाजशास्त्री दिनेश प्रसाइँ भन्छन्, ‘कोरोना भाइरस नियन्त्रणमा देशको रणनीति नै भएन। स्थानीय तहको भूमिका नै नहुने होइन। तर सरकारसँग फ्रेमवर्क नै नभएपछि स्थानीय तह पनि रणनीतिविहीन भए। त्यही भएर गाउँटोलमा आ–आफ्नै तगारा लागेका हुन।’

भावनात्मक रुपमा यी तगारा अघि बढेको उनले बताए। संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा अवरोध, बाटोमा तगारो राख्नु, संक्रमितलाई घरबाटै निकाल्नु र घरमा ढुंगा हान्नु, जिल्ला भित्रिन पिसिआर चाहिन्छ भन्नु सरकारी रणनीतिको अभावमा उब्जिएका समस्या भएको उनले बताए। ‘यो बेला संक्रमण फैलिने डरले सचेत हुनु जरुरी छ। तर, बारम्बार समुदायमै तगारो हाल्न खोज्नु अराजकता हो,’ उनले भने, ‘सरकारले बलियो नीति नबनाउँदा जसले जे गरे पनि हुने भएको छ।’ अप्ठेरो परेको बेला सरकारको क्षमता जाँचिने भए पनि अहिले ऊसँग कोरोना नियन्त्रणको योजना नभएको उनले बताए।

प्रकाशित: २ कार्तिक २०७७ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App