coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर उठाउने नगरले उठाउँदैन फोहोर

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ तोक्मेडाँडा हटियामा नगरपालिकाले फोहोर उठाउन छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङबजारको तोक्मेडाँडामा विगतदेखि नै मङ्गलबार र शनिबार गरी हप्ताको दुई दिन हटिया बजार लाग्दै आएको छ।  

स्थानीय कृषकले उत्पादन गरेको सागसब्जी, भटमासबाट तयार पारिएको किनिमा, स्थानीय दिदीबहिनीले बनाएको जाँडरक्सीका लागि मर्चा साथै स्थानीय उद्यमीहरुको आफ्नो उत्पादन बिक्री गर्ने केन्द्र विन्दु हो, हटिया बजार। यहाँ जिल्लाका साना तथा घरेलु उद्योगदेखि गाउँघरका उत्पादन, वनजङ्गलमा पाइने निगुरो, याङबेङ जस्ता अर्ग्यानिक वस्तु खरिद बिक्री हुने गर्दछ। गाउँगाउँ उत्पादन गरेको सागसब्जी बिक्री गर्ने प्रमुख थलो हो, हटिया बजार। तर त्यहाँ फोहोर मैला थुपारिएको दृश्य जो कोहीले सजिलै हेर्न सकिन्छ। फोहोरमा बसेर व्यापार व्यवसाय गर्ने नियती बन्दै गएको स्थानीयवासी सुकमाया राईले बताइन्।  

नगरपालिकाले सुनदेखि नुनसम्मको कर उठाउने गरेको भए पनि त्यहाँको फोहोर उठाउने गरेको छैन। कर तिरेपछि फोहर मैलामा बसेर आफ्नो उत्पादन गरेको सागसब्जी बिक्री गर्नुपर्दा आफैंले नमज्जा लागेको अर्का किसान निर्मला राईको भनाइ छ। क्रेता तथा बिक्रेता भेट हुने प्रमुख केन्द्र हटिया भएकाले यहाँको फोहोर उठाउन सरोकारवालाले ध्यान दिनुपर्ने हटियामा किनमेल गर्न आएका तेज भट्टराई बताए।

बजारबाट निस्किएको फोहोर मैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर ठाउँ—ठाउँमा डस्टबिन राख्नुपर्ने माग स्थानीवासीको छ। बजारमा फोहोर मैला त हुने नै भो तर नगरले प्रत्येक बिक्रेताबाट १० रुपैयाँदेखि एक सयसम्म बहाल विटौडी कर उठाउँदै आएकाले यहाँको फोहोर मैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने ज्ञानेद्र पौडेलको भनाइ छ।

फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा पाँच लाख ५१ हजार रुपैयाँ तथा चालु आर्थिक वर्षमा दुई लाख ५१ हजार रुपैयाँमा राजकुमार तामाङलाई हटियाको ठेक्का दिएको छ। हटिया बजारमा मात्र होइन फुङलिङ बजारमै  पनि फोहोर मैला व्यवस्थापन हुन सकेको छैन। तोक्मेडाँडा बसपार्कदेखि लिएर विभिन्न चोकमा साथै ढलहरुमा फोहोर मैला भरिएको छ। फुङलिङ नगरपालिकाभित्र डस्टबिन राखेको छैन। फुङलिङ नगरपालिकामा फोहोर मैला व्यस्थापन गर्नका लागि आव २०७६÷७७ मा कुमार लिम्बूले १७ लाख रुपैयाँमा ठेक्का लिएको थियो। कोरोनाका महामारीका कारणले गर्दा फोहोर मैला व्यवस्थापनमा समस्या आएपछि चार महिनाको पाँच लाख ६६ हजार ३३४ रुपैयाँ छुट नगरपालिकाले दिएको थियो।  

पाँच लाख ६६ हजार ८३३ रुपैयाँ यस अगाडि नै नगरपालिकामा ठेकेदर लिम्बूले भुक्तानी गरिसकेको छ, भने पाँच लाख ६६ हजार ८३३ रुपैयाँ नगरपालिकामा भुक्तानी गर्न बाँकी रहेको फुङलिङ गरपालिकाका सूचना अधिकारी भुपाल सेन्दाङले जानकारी दिए। यस आर्थिक वर्षको फोहोर मैला व्यवस्थापनका लागि चार पटक ठेक्का आह्वान गर्दा पनि कुनै ठेक्का नपरेको सूचना अधिकारी सेन्दाङले बताए। यस आवमा ठेक्का नलागेपछि नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्दै आएको र नगरवासीसँग कुनै शुल्क पनि अहिलेसम्म नलिएको सूचना अधिकारी सेन्दाङले बताए।  

हटिया बजारमा भएको सार्वजनिक शौचालयदेखि त्यहाँको सरसफाइ गर्न एकजना कर्मचारी नै राखेर फोहोरमैला व्यवस्थापन भइरहेको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्यकुरेलले बताए। रासस 

प्रकाशित: १ कार्तिक २०७७ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App