coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुर अदालतको अत्याधुनिक भवन बन्ने

भूकम्पले जिर्ण हालको जिल्ला अदालत भवन। तस्विरः महेश्वर

भूकम्पले जिर्ण भवनबाट काम चलाउँदै आएको उदयपुर जिल्ला अदालतको सुविधा सम्पन्न रअत्याधुनिक नयाँ भवन बन्ने भएको छ। वर्षैंअघि बनेको जिर्ण र भूकम्पले क्षति पुगेको भवनमा काम गर्न बाध्य अदालतले आउँदो ३ वर्षभित्र निर्माण सक्ने गरी नयाँ भवनको सिल्यान्यास भएको छ।  

झण्डै साढे १३ करोड लागतमा बन्ने नयाँ भवनको शनिबार एक कार्यक्रमका बीच सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले  सिल्यान्यास गरे। नयाँ भवन जिल्लाकै ठूलो, सुविधा सम्पन्न र आधुनिक बन्ने अदालतले जनाएको छ। अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले भवन मूल्य अभिबृद्धि कर (भ्याट) सहित १३ करोड ४२ लाख ८१ हजार ९ सय २६ रुपैयाँ लागतमा बन्ने बताए।

सिल्यान्यास कार्यक्रममा कार्कीले दिएको जानकारी अनुसार साँढे तीनतले भवन जिल्लाका अन्य कार्यालयको दाँजोमा महंगो र ठूलो तथा सुविधा सम्पन्न हुनेछ। अहिलेसम्म कुनै कार्यालयमा नभएको २ वटा विद्युतीय भ¥याङ (लिफ्ट) यो भवनमा जडान हुने उनले बताए। एउटा कर्मचारी प्रयोजनका लागि र अर्को लिफ्ट सेवाग्राहीका लागि प्रयोगमा ल्याइने प्राविधिक इस्टीमेट रहेको कार्कीले बताए। साथै भवन अपाङ्गतामैत्री, बृद्धबृद्धा तथा बालमैत्रीसहितको हुनेछ। भवनमा थुनुवा विश्राम कक्ष र सेवाग्राही विश्राम कक्षसमेतको निर्माण गर्ने इस्टीमेट रहेको पनि स्रेस्तेदार कार्कीले बताए।  

पुरानो भवन जिर्ण र अपाङ्गमैत्री नभएकाले न्याय लिने कार्यालयजस्तो संवेदनशील ठाउँमा सेवा लिन कठिनाई भएको गुनासो अधिकारकर्मीहरुले गर्दै आएका थिए। त्यस्ता गुनासा सम्बोधन गर्न नयाँ भवनमा सबैखाले नागरिकले सेवा पाउन सहज हुनेखालको सुविधायुक्त बनाउन लागिएको उनले बताए।  

साँघुरो र जिर्ण एउटै भवनमा बसेर काम गर्नुपर्दा अहिले सबै खाले मुद्धाको सुनुवाई गर्न कठिनाई रहेकाले नयाँ भवनमा एउटा बाल इजलाससहित विभिन्न ५ इजलास रहने छन्। सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै भवनभित्र र परिसरक्षेत्रमा क्लोज सर्किट (सिसी) क्यामेरा जडान गर्ने व्यवस्थासमेत मिलाइने स्रेस्तेदार कार्कीले बताए।

अदालतको आफ्नै स्वामित्वमा रहको १२ कठ्ठा ८ धुर क्षेत्रफल जमिनमा निर्माण हुने भवनको पछाडिको खाली जग्गामा सुरक्षा व्यारेक, अगाडि सुविधायुक्त चमेना गृह, माथिल्लो तलामा बैठककक्षको व्यवस्था गरिने छ। भवनका ३ वटै तला र परिसरमा महिला, पुरुष र अपाङ्गताका लागि छुट्टाछुट्टै शौचालय, खानेपानी सुविधा मिलाइने योजना रहेको छ।  

अदालतका सूचना अधिकारी तथा तहसिलदार राजकुमार आचार्यका अनुसार आउँदो तीनवर्ष अर्थात २०८० जेठ ३० गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्ने गरी निर्माणको जिम्मा सिएम÷कृष्णलक्ष्मी जेभी काठमाडौँले पाएको छ। २ महिनाअघि अर्थात गत असार ९ गते नै अदालत र व्यवसायीबीच दुईपक्षीय सम्झौता भए पनि कोविड हामारीका कारण सिल्यान्यास कार्य ढिला हुन गएको आचार्यले बताए।

प्रकाशित: १ कार्तिक २०७७ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App