८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा कोरोनाबाट थप दुईजनाको मृत्यु

कर्णालीमा कोरोनाको संक्रमणबाट बिहीबार र शनिबार थप दुईजनाको मृत्यु भएको छ। प्रदेश राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–९ का ४२ वर्षीय पुरुष र गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो।

गुर्भाकोटका ती युवक असोज २८ गते शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए। मुखमा फिज आएको अवस्थामा उपचारका लागि प्रदेश अस्पतालमा ल्याइएको थियो। जटिल अवस्थामा रहेका उनको २९ गते कोरोना परीक्षण गरिएको थियो भने सोही दिन दिउँसो उनको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। उनको मृत्युपश्चात् कोरोना पोजेटिभ भएको रिपोर्ट आएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए। उनका अनुसार शनिबार बिहान थप अर्का एकजनाको मृत्यु भएको छ। १० दिनदेखि ज्वरो आएका उनलाई शुक्रबार प्रदेश अस्पताल भर्ना गरिएको थियो।

‘मृतकलाई मेडिकल हलमा टाइफाइटको सुइँसमेत दिइएको रहेछ,’ स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत कँडेलले भने, ‘त्यहाँ सञ्चो नभएपछि उनलाई प्रदेश अस्पताल ल्याइयो।’ पछिल्लो समय कर्णालीमा कडाखालको कोरोना भाइरस देखिन थालेको उनको भनाइ छ। योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।

प्रकाशित: १ कार्तिक २०७७ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App