८ वैशाख २०८१ शनिबार
समाज

रसुवाको पर्यटकीयस्थललाई प्लाष्टिक मुक्त बनाइने

पर्यटकीय क्षेत्र क्यान्जिन उपत्यका तस्बिरः हिमनाथ/नागरिक

रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।  

दशै सकिए लगत्तै मंसिर १५ गतेसम्म अभियान सञ्चालन हुने छ। पर्यटकीय क्षेत्रहरूमा प्लाष्टिकजन्य फोहोर बढ्दै जाँदा पर्यटन क्षेत्रमा नकरात्मक असर पर्ने भएकाले दिगो वातावरणीय तथा पारिस्थितिक प्रणाली व्यवस्थापन (सिम) नेपालले हरियाली नेपाल अभियान अन्र्तगत अभियानलाई अघि बढाउन लागेको हो।  

यसका लागि पहिलो चरणमा गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला निकायसँग छलफल कार्य अघि बढाइएको छ। सिम नेपालका अनुसार क्यान्जिन लाङटाङ हुँदै स्याफ्रुबेसीसम्म, गोसाइँकुण्ड ठुलोस्याफ्रु हुँदै स्याफ्रुबेसीसम्म र गोसाइँकुण्डदेखि धुन्चेसम्म गरी तीनवटा पदमार्गमा अभियान सञ्चालन गरिने छ।  

अभियानमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने र लाङटाङ, क्यान्जिन, गोसाइँकुण्ड, ठुलोस्याफ्रु, स्याफ्रुबेसी लगायतका स्थान र पदमार्गमा भेटिएका पोलेथिनजन्य वस्तुको व्यवस्थापन गरिने शून्य पोलिथिन अभियन्ता एंवम सिम नेपालका संरक्षक ढाकामोहन अधिकारी (निपेश ढाका) ले बताए।  

पछिल्लो समय बढ्दै गएको पोलिथिन प्रयोगले वातावरणमा प्रतिकुल असर पारेको र अहिलेको परिवेशमा प्लास्टिकको प्रयोगमा बन्देज लगाउने कुरा सम्भव नभएकाले अभियान सञ्चालन गरिरहेको उनले बताए। प्लास्टिकले माटो र पानीका स्रोतलाई समेत दुषित गरि लाखौ जीवजन्तुहरुको नास भएको विभिन्न तथ्यांकले देखाएका छन्। पोलिथिन नकुहिने र जलाउँदा पनि असर गर्ने भएकाले यसको व्यवस्थापनमा नै उचित ध्यान दिनुपर्ने उनको भनाइ छ।  

पोलिथिनको प्रयोगलाई रोक लगाउने र विभिन्न सार्वजनिक स्थल, टोल छिमेक वरिपरि एकछत्र फालिएका पोलिथिनको व्यवस्थापन गर्नु आजको आवश्यकता रहेको संस्थाले जनाएको छ। संस्थाले माटो र पानीलाई असर गर्ने अव्यवस्थित फोहर सम्बन्धी विभिन्न समुदायमा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवस्थापन कार्यलाई समेत सिकाउने काम गरिरहेको छ।  

जिल्लाको पर्यटकीयस्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको थियो। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुसदेखि विदेशी पर्यटकको आगमन शुन्य भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७७ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App