८ वैशाख २०८१ शनिबार
समाज

अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन

सञ्चारकर्मी निर्मला मृत्यु प्रकरण

कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत सञ्चारकर्मी २२ वर्षीया निर्मला पहराईका आफन्त तथा विभिन्न दलित संघसंगठनले न्यायको माग राखेर शुक्रबार कैलालीको सुख्खडमा प्रदर्शन गरेका छन्। आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

‘निर्मला हत्याका धेरै तथ्य छन्, हत्या गरेको भनेर किटानी उजुरी दिइएकालाई पनि अदालतले धरौटीमा रिहा गर्नु दुर्भाग्यपूर्ण हो,’ दलित अधिकारकर्मी चक्र बिकले भने, ‘दोषीलाई उन्मुक्ति दिने खेल सुरु भएकाले न्यायका लागि आन्दोलनको घोषणा गरेर प्रदर्शन गरिएको हो।’

उनीहरूले पत्रकार पहराईका हत्यारालाई कारबाही गर, हत्यारालाई हामी छाड्दैनौंलगायत नारा लगाएका थिए भने पूर्वराजमार्गअन्तर्गत सुख्खड सडकमा टायरसमेत बालेका थिए।

‘मेरी बहिनीको हत्या गरिएको हो, हत्यारालाई अदालतले नै धरौटीमा रिहा गरेकाले अब न्याय पाउन कहाँ जाने ?’ निर्मलाका दाजु विशाल पहराईले भने, ‘यसैले न्यायका लागि सडकमा आएका हौं।’ प्रदर्शनअघि विभिन्न संघसंगठनले धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक संयुक्त विज्ञप्तिमा निर्मलाको हत्या नै भएको र निर्मलालाई न्याय दिलाउन बाध्य आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताएका थिए। ‘निर्मलालाई न्याय दिलाउन हामी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

यसैगरी विज्ञप्तिमा प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार शवनजिकै चप्पल मिलाएर राखिएको, लेडिज छाता नजिक रहेको, हातको घडी २७ फिट टाढा फिता चुँडिएको अवस्थामा फेला परेको, निर्मलाको मोबाइल हालसम्म फेला नपरेको, खुट्टाको औंलामा माटो गाडिएको तर चप्पलमा कुनै माटो नदेखिएको, कुर्ता च्यातिएको, माथिको कपडा समेटिएको र खुट्टामा रगत देखिएको उल्लेख छ। सुर्के गाँठो नभई दुई÷तीनवटा हाडेगाठोले दोपट्टाले रुइनाको रुखमा झुन्ड्याइएको अवस्थामा लास फेला परेको उल्लेख छ।

भिसेरा जाँचको रिपोर्ट नआउँदै, निर्मला झुन्डिएको दोपट्टालगायत लुगाको ल्याब टेस्ट नगरेको, फिँगर जाँच नगरेको, धेरै प्रमाण अझै संकलन हुन बाँकी रहेको बेला अदालतले धरौटीमा रिहा गरेकाले आर्थिक चलखेल र राजनीतिक शक्तिकेन्द्रको प्रभावमा दोषीलाई उन्मुक्ति दिन खोजिएको निर्मलाका दाजु विशाल बताउँछन्।

पोस्टमार्टम रिपोर्टमा पनि आफन्त र दलित अधिकारकर्मीले आशंका व्यक्त गरेका छन्। निर्मलाको हत्या गरेको भन्दै उनका दाजुले दिएको किटानी जोहरीका आधारमा उनका प्रेमी भनिएका ललित जाग्री र रिया भनिने धना साउदका नाममा जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो। बिहीबार न्यायाधीश बाबुकाजी बानियाँको एकल इजालसले थुनछेक बहसमा दुईजनालाई जनही एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

कैलाली घोडाघोडी नगरपालिका–४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन्। त्यसै दिनदेखि सम्पर्कविहीन भएकी थिइन्। ३ दिनपछि भदौ २ गते घोडाघोडी नगरपालिका–५ को फूलबारी सामुदायिक वनभित्र रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

करिब ६ वर्षदेखि २४ वर्षीय ललित जाग्रीसँग उनी प्रेम सम्बन्धमा रहेको दाजु विशालले बताए। दलित भएको थाहा पाएर ललितले बिहे गर्न नसकिने भन्दै आफ्नी बहिनीसँग प्रेम सम्बन्ध तोडेर नयाँ प्रेमिका खोजेको उनले बताए। ‘दलित भएको थाहा पाएपछि नयाँ प्रेमिका बनाएका ललितले भदौ ३१ गते घरमा बोलाएकाले बहिनी गएकी हो,’ उनले भने।

प्रकाशित: १ कार्तिक २०७७ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App