८ वैशाख २०८१ शनिबार
समाज

‘यसपटक दसैं परिवारभित्रै सीमित राखौं’

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हास्यकलाकार हरिवंश आचार्य १३ दिनदेखि होम आइसोलेसनमा छन्। संक्रमणबाट छुटकारा पाउन उनी र पत्नी रमिला नियमित औषधि सेवन, व्यायाम र योगा गरिरहेका छन्। ‘नियमित व्यायाम र योगले कोरोना भाइरस संक्रमणबाट छुटकारा पाउन केही हदसम्म सहयोग गरेको महसुस भएको छ,’ उनले भने, ‘त्यसबाहेक आत्मबल र सकारात्मक सोच आवश्यक पर्ने रहेछ। अहिले हामी दुवै सामान्य अवस्थामा छौं। आइतबार पुनः पिसिआर परीक्षण गराउनुपर्ने छ।’

गत असोज १९ गते आचार्य दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ‘कोरोना भाइरस संक्रमण पुष्टि हुनुअघि केही दिन ज्वरो आएको अनुभव गरेको थिएँ,’ उनले भने, ‘मौसम परिवर्तनका कारण भाइरल फ्लु भएको आशंका गरेको थिएँ। पत्नीलाई पनि शरीरमा पीडा भइरहेको थियो। पिसिआर गरौंला भन्दाभन्दै एक साता बित्यो। रिपोर्ट पोजेटिभ आएपछि पो झसंग भएँ।’

कोरोनाबाट संक्रमणमुक्त भइहाले पनि यसपटक उनी परिवारका सदस्यबाहेक आफन्तकोमा गएर दसैंको टीका नथाप्ने भएका छन्। ‘कोरोना भाइरसलाई सामान्य रूपमा लिनुहुँदैन,’ उनले भने, ‘फेरि एकपटक संक्रमित भइसकेकालाई पुनः संक्रमण हुने डर तुलनात्मक रूपमा धेरै हुने रहेछ। त्यसैले यसपटक घरमा परिवारका सदस्यबाहेक आफन्तहरूबाट टीका नलगाउने भएका छौं र उहाँहरूलाई पनि टीका लाउन मेरोमा नआउनुहुन विनम्र अनुरोध गर्छु।’ उनले सबै नेपालीलाई यसपटकको दसैं परिवारभित्रै सीमित राख्न आग्रहसमेत गरे।  

गत वर्षको अन्तिमतिर चीनको वुहानबाट संसारभरि फैलिरहेको कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएर नेपालमा पनि आइपुगेको हो। भयावह स्थिति भइरहँदा सरकारले यसको नियन्त्रण तथा रोकथामका लागि ध्यान नदिएको गुनासो उनले गरे। ‘अहिले राजधानी कोरोना संक्रमणको हटस्पट भइसकेको अवस्थामा सरकारले यसको नियन्त्रण तथा रोकथामका लागि ध्यान दिन सकिरहेको छैन,’ उनले भने, ‘त्यसैले सकिन्छ भने घरमा बसौं। बाहिर निस्किनुपरे अनिवार्य मास्क लगाऔं र सामाजिक दूरी कायम गरौं। राजधानीजस्तो ठाउँमा समेत संक्रमितहरू भेन्टिलेटर र आइसियु नपाएर मरिरहेको सुन्दा अत्यास लाग्ने रहेछ।’

कोरोना भाइरस संक्रमित हुनु एक साताअघि पत्नी रमिलालाई शरीर दुख्ने समस्या भएको उनले बताए। ‘संक्रमित भएको थाहा पाउनुभन्दा एक साताअघि रमिला शरीर दुखेर थला परिन्,’ उनले स्मरण गरे, ‘मलाई सामान्य ज्वरो देखियो। बिस्तारै उनले खानेकुराको स्वाद र गन्ध नभएको महसुस गरिन्। त्यसपछि कोरोनाको आशंका गरेर सपरिवार पिसिआर परीक्षण गरायौं। हामी दुई जनाबाहेक परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो।’ पिसिआर परीक्षण गराउनु दुई दिनअघिसम्म उनी र मदनकृष्ण श्रेष्ठ एक विज्ञापनको सुटिङमा साथै थिएँ। ‘म जरुरी अवस्थामा बाहेक घरबाहिर निस्कन्न,’ उनले भने, ‘बाहिर निस्किँदा अनिवार्य मास्क र स्यानिटाइजर लिएर हिँड्छु। भेट्नैपर्ने मानिसलाई सामाजिक दूरी कायम गरेर भेटघाट गर्दा समेत कसरी कहाँबाट कोरोना स¥यो भनेर चाल पाउन सकिरहेको छैन। फेरि कोरोना पोजेटिभ भयो भन्नासाथ मदन दाइको रिपोर्ट के आउँला भनेर अत्तालिएको थिएँ। कारण, उहाँको स्वास्थ्यमा अन्य जटिलता पनि छन्।  

उहाँको रिपोर्ट नेगेटिभ आएपछि राहत महसुस भयो।’  

पत्नीको रमिलाकोमा भन्दा आफ्नो शरीरमा कोरोना भाइरसको कन्टेन्ट धेरै देखिएकाले चिकित्सकको सल्लाहअनुसार आचार्य नियमित रोग प्रतिरोधात्मक क्षमता बढाउन व्यायाममा केन्द्रित भएका हुन्। ‘अहिले छोराबुहारीले खाना तयार गरेर हामी बसेको तल्लो फ्ल्याटमा ल्याएर राखिदिन्छन्,’ उनले भने, ‘सामान्य खानपिन छ। नियमित गुर्जो र बेसार पानी सेवन गरिरहेका छौं। हामी दुवैको स्वस्थ्यमा सुधार भएको महसुस भइरहेको छ।’  

कोरोना भाइरसलाई सामान्य नलिन उनले आग्रह गरेका छन्। ‘मानिसअनुसार यसको लक्षण फरक हुने रहेछ,’ उनले भने, ‘संक्रमण हुन नदिन सचेत हुनु आवश्यक छ। सचेत हुँदाहुँदै पनि मलाई यसले संक्रमित बनायो। अहिले स्वास्थ्य मापदण्ड पालना गरेर अनुशासनमा बस्नु उत्तम हुन्छ।’

प्रकाशित: १ कार्तिक २०७७ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App