८ वैशाख २०८१ शनिबार
समाज

विकासको काममा व्यापक लापरवाही भएको गुनासो

केन्द्र सरकारद्वारा सञ्चालित विकास निर्माणको काममा व्यापक लापरवाही भएको गुनासो सम्बन्धित क्षेत्रका स्थानीयबासीले गरेका छन्। मुख्य गरी सहरी विकास मन्त्रालयद्वारा सञ्चालित विभिन्न विकास परियोजनामा व्यापक लापरवाही भएको गुनासो स्थलगत अनुगमन गर्न गएको टोलीसमक्ष सम्बन्धित क्षेत्रका स्थानीयबासीले गरेका हुन्।

रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साह, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहरी डिभिजन कार्यालय वीरगंजका डिभिजनल इन्जिनियर रञ्जन दास तथा पूर्वाधार निर्माणको ठेक्का सकार गरेका निर्माण व्यावसायी तथा सञ्चारकर्मीहरुको टोली योजनास्थलको निरीक्षण तथा अनुगमनको क्रममा पुग्दा योजनाअनुसार काम नभएको पाइएको छ। यसैगरी विकासको काममा व्यापक सुस्तता देखिएको अनुगमनमा रहेका डिभिजनल इन्जिनियर दासले बताएका छन्।  

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ मा सञ्चालित करिब २२ करोडको विभिन्न योजनाहरुको ठेक्का सकार गरेको ढुकुछुक कन्स्ट्रक्सनले काममा ढिलाइ गरेको, योजना अनुसार काम नगरेको र गुणस्तरहीन काम गर्नुका साथै पेटी ठेकेदार राखेर काम गराइरहेको स्थानीयले टोलीसमक्ष गुनासो गरेका थिए।

योजनाहरुको सही कार्यान्वयन भए नभएको हेर्न टोलीका प्रतिनिधिहरुले सर्वसाधारणलाई पनि सचेत पारेका छन्। सांसद साहले गुणस्तरीय कामको लागि सबै पक्षले निरन्तर दबाब दिनुपर्ने बताउँदै निगरानीका लागि स्थानीयबासी र सञ्चारकर्मीलाई आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी यादवले पनि सबै विकास निर्माणको काम समयमा सम्पन्न गर्नुपर्ने तथा आवश्यक सबै किसिमको रचनात्मक सहयोग गर्ने बताएका छन्। जिल्लाको मौलापुर, गरुडा, कटहरिया लगायतको नगरपालिकामा निर्माणाधीन सडक, नाला, भवनलगायतका पूर्वाधारहरुको स्थलगत अनुगमन निरीक्षण गरिएको छ।  

अनुगमनको लागि टोली पुगेपछि योजनास्थलमा काम गरिरहेका इन्जिनियर, सब इन्जिनियर तथा ठेकेदारहरु सबै तर्सिका थिए। अब कुनै लापरवाही नहुने उनीहरुले बताएका छन्।

प्रकाशित: २९ आश्विन २०७७ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App