coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीद्वारा साढे ३१ हजार बोट गाँजा फँडानी

मैनामैनीमा गाँजा फँडानी गर्दै प्रहरी टोली । तस्बिरः महेश्वर

प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले वैधानिकता प्रदान गरेर नागरिकको आयआर्जनको माध्यम बनाउनुपर्ने माग गर्दै दर्ता गरेको गैरसरकारी विधेयक संसदमा विचाराधीन रहेका बेला अवैध गाँजा खेतीको क्रम गाउँगाउँमा रोकिएको छैन। यसरी गाउँमा भईरहेको अवैध गाँजा खेती उदयपुर प्रहरीले ठूलो मात्रामा फँडानी गरेको छ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरले गाँजा खेती नष्ट गर्ने अभियानै सुरु गरेको जनाएको छ। जस अनुरुप सुरुमा बेलका नगरपालिका र ताप्ली गाउँपालिकाका हजारौं बोट गाँजा यो साता नष्ट गरेको छ। दुई स्थानीयतहमा लगाइएको दुई सय बढी रोपनी जग्गाको गाँजा साढे ३१ हजार बोट प्रहरीले भर्खर फँडानी गरेर नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले बेलका नगरपालिका ७ मैनामैनीका बिभिन्न ठाउँमा लगाइएको गाँजा फँडानी गरेर नष्ट गरेको छ। मैनामैनीका बिभिन्न गाउँमा १ सय ७७ रोपनी क्षेत्रफल जग्गामा लगाइएको २९ हजार ९ सय ५ बोट गाँजा भर्खरै फँडानी गरेर टोली फर्केको छ।  

त्यस्तै, रुपाटार प्रहरी चौकीबाट खटेको टोलीले ताप्ली गाउँपालिका ३ को इनामेमा ४० बोट र ताप्ली ५ को रुपाटारमा लगाइएको १ हजार ५ सय बोट गाँजा नष्ट गरेको छ। दुवै टोलीबाट ३१ हजार ४ सय ४५ बोट गाँजा फँडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए। उनका अनुसार अवैध गाँजा खेती गाउँगाउँमा फस्टाईरहेको भन्ने खवरका आधारमा टोली खटाएर नष्ट गर्ने अभियान थालिएको हो।  

उनका अनुसार गाँजा खेती गर्नु कानुनी रुपमा अवैध मानिएकाले फँडानी अभियान चलाइएको हो। हरेक वर्ष असोजदेखि मंसिरसम्म प्रहरी यो अभियान चलाउँदै आएको छ। गाँजा खेती वैशाख, जेठदेखि साउन, भदौसम्म लगाउने गरिएको र असोज, कात्तिकदेखि मंसिरसम्मा परिपक्व (पाक्ने) हुने हुनाले अहिलेदेखि फँडानी अभियान थालेको दाहालले बताए।  

उर्वराशक्ति नभएको माटो भएको जिल्लाका पहाडी भेगका बिभिन्न ठाउँमा कृषि उत्पादन नहुने भएपछि जीवनयापनका लागि स्थानीयले गाँजा खेती गर्ने गरेको पाइएको छ। सिँचाइ अभाव र माटोको उर्वराशक्ति नहुँदा अन्नबाली लगाउँदा नफल्ने भएकाले स्थानीयलाई वर्षभरी छाक टार्न परिवार पाल्न गाँजा खेतीको विकल्प नभएको भन्दै लुकीछिपी यो खेती हुने गरेको छ। मकै, कोदो र फापरजस्ता अन्न बाली मात्र लगाउने सिँचाइ सुविधा नभएका ठाउँमा फसल राम्रो उत्पादन नहुने भएकाले गाँजा खेती गरेर जिवीकोपार्जन गर्दै आउनु परेको स्थनीयको भनाई छ।  

जिल्लाका ताप्ली, रौतामाई, उदयपुरगढी, लिमचुङबुङ गाउँपालिका, चौदण्डीगढी, बेलका, कटारी र त्रियुगा नगरपालिकाका पहाडी वडामा गाँजा खेती राम्रो फस्टाउने गरेको छ। सिँचाइ अभावले अन्नबाली उत्पादन कम हुने भए पनि गाँजा खेती भने राम्रो फल्ने भएकाले स्थानीयको आकर्षण त्यसमा जाने गरेको तर, अवैधानिक भन्दै प्रहरीले वर्षेनी फँडानी गर्ने गरेको जनप्रतिनिधिहरु बताउँछन्।  

उदयुरमा लुकिछिपी उत्पादित गाँजा सिराहा, सप्तरी, सुनसरी र धनुषा हुँदै भारतीय बजारमा बिक्री वितरण हुने गरेको छ। बेलकाको गाँजा उदयपुर र सुनसरी सीमानाका चतारा हुँदै सुनसरी भएर भारतीय बजार पुग्ने गरेको छ भने पश्चिम पहाडी भेगमा उत्पादन भएको गाँजा सिराहा, सप्तरी र धनुषासँग जोडिएको सीमानाका भएर रातारात भारत पुग्ने गरेको जानकारहरु बताउँछन्। कानुनी रुपमा अवैध मानिएसम्म खेती गरेको गाँजा फँडानी गर्नै, तयारी गाँजा पक्राउ गरी कारबाही गर्ने जस्ता नियन्त्रण र न्यूनीकरणको काममा लागिरहनु प्रहरीको दायित्व भएको एसपी दाहाल बताउँछन्।

प्रकाशित: २९ आश्विन २०७७ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App