coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जबर्जस्ती करणी मुद्दा प्रहरीमा, पैसामा मिलाउने प्रयास गाउँमा

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबर्जस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ। १६ वर्षीया किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको घट्नालाई लेनदेनमा मिलाउने खेलमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडासदस्य जयकुमार तामाङ र युवा निरकाजी तामाङको नाम जोडिएको छ।  

स्वयं बाकाचोलका वडाध्यक्ष सन्तबिर तामाङले मंगलबार विज्ञप्ती नै जारी गरेर जबर्जस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउनमा आफ्नै वडासदस्य तामाङको संलग्नता रहेको दाबी गरेका छन्। ‘जबर्जस्ती करणीका घट्नालाई मिलाइदिने भन्दै पैसाको लेनदेनको फोन रेकर्ड बाहिरिएको घट्नामा हाम्रो ध्यानाकर्षण भएको छ। अझ वडासदस्यकै नाम जोडिनु झनै दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जनप्रतिनिधि नै जबर्जस्ती करणीजस्तो निकृष्ट घटनामा दोषीलाई कारबाही गरी पीडितलाई न्यायको आभाष गराउनतर्फ लाग्नु पर्नेमा उल्टै घटनामा संलग्न दोषीसँग पैसाको मोलमोलाई गरी पीडितलाई झन् पीडा दिनेर्फ लाग्नु खेदजनक छ।’ पीडक भनिएका युवासँग गरिएको ५ मिनेट र १४ मिनेटको दुई वटा फोन सम्बादको अडियोमा घट्नालाई गाउँमै मिलाउन दुई लाख रुपैयाँ व्यवस्था गर्न प्रस्ताव गरिएको छ।  

गत भदौ १२ गते जबर्जस्ती करणी गरिएको भन्दै पिडकविरुद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। यसबीचमा गाउँमा घट्नालाई पैसामा मिलाउनका लागि कसरत भएको स्थानीय बताउँछन्। गाउँमा जबर्जस्ती करणीका घट्नालाई मिलाउने प्रयासको चर्चा भइरहँदा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले भने पीडकविरुद्ध मृद्धा दर्ता गरेर अनुसन्धान प्रकृया सुरु गरिसकिएको बताएका छन्। प्रहरीमा जाहेरी परेपछि आरोपित युवा फरार छन्। उनले पटक–पटक किशोरीमाथि जबर्जस्ती गरेको जाहेरी परेको प्रहरीले जनाएको छ। आरोपित फरार भएपछि उनका बुवाले खोजीका लागि वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष तामाङले बताएका छन्।  

गत असोज २३ गते वडा कार्यालयमा बोलाइएको पीडित र पीडक पक्षको भेलामा पीडक युवाका बुबाले घट्नालाई लेनदेनमा मिलाउनका लागि रकम व्यवस्था गर्न वडासदस्यले भनेको विज्ञप्तीमा दावी गरिएको छ। वडासदस्य तामाङले भने जबर्जस्ती करणीका घट्नालाई मिलाउनमा आफ्नो संलग्नता नरहेको बताएका छन्। बरु पीडितको न्यायका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पीडितलाई पुर्‍याउन सहयोग गरेको बताए। ‘पीडितले न्याय पाउनु पर्छ भनेर पीडितलाई जाहेरी दिनका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पुर्‍याउने मै हुँ। गाउँमा मिलाइदिन पर्छ भनेर माग आउँदा अस्वीकार गरेँ,’ वडासदस्य तामाङले भने, ‘म माथि झुटो आरोप लगाइएको छ। पुरानो रिसइवि साँधेर मेरो बदनाम गर्ने प्रयास भएको छ।’  

श्रोतका अनुसार निरकाजीले पैसामा घट्ना मिलाउनका लागि आरोपित युवासँग फोनमा कुराकानी गरेका हुन्। सो कुराकानीमा घट्नालाई मिलाउनका लागि पीडितलाई दुई लाख रुपैयाँ दिने र अपुग भए पछि दिनेगरी कुरा मिलाउने भनिएको छ। यद्यपी सो सम्बादमा वडासदस्य तामाङको नाम जोडेको पाइएको छैन।  

वडाध्यक्ष सन्तबीर र वडासदस्य जयकुमार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। तर उनीहरुबीच विगतदेखि नै आन्तरिक द्धन्द्ध छ। अध्यक्ष र वडासदस्यको त्यही द्धन्द्धको झल्को जबर्जस्ती करणीको घट्नामा झल्किएको कतिपयको बुझाई छ।

प्रकाशित: २८ आश्विन २०७७ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App