७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना जोखिम बढ्दै, सर्वसाधारण मास्क लगाउन छोड्दै

धनगढी हाटबजारमा मास्क प्रयोग नगरेका सर्वसधारण । तस्बिर : दिलबहादुर छत्याल

धनगढीको केन्द्र मानिने एल एन चोकमा रहेको एक पुस्तक पसलमा पुस्तक किन्न आएकी कलेज पढ्ने दुई किशोरीले मास्क लगाएका थिएनन्। मास्क किन नलगाएको भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो,‘हामीले त मास्क लगाउन छोडिसक्यौं, बरु तँपाई पनि नलगाउनु मास्क, कोरोना लागेपनि निको भईहाल्ने हो, मास्क लगाउने झन्झट को गरोस।’

साँझको बेला रातोपुल नजिक एक रेस्टुरेन्टमा ग्राहकहरु खचाखच भरिएका थिए। खाईसकेर एउटा ग्राहकले खल्तीबाट झिकेर मास्क लगाएपछि मास्क नलगाई काउन्टरको कुर्चिमा बसिरहेका रेस्टुरेन्ट संचालक चुप रहन सकेनन् र उनले भने,‘सबैभन्दा बढी कोरोनाको डर तपाईलाई रहेछ, मास्क लगाउनुको कुनै अर्थ छैन, कोरोना सोरोना केही होइन, कोरोनाको नाममा बेकारमा एक वर्षपछि धकेलिदियो।’

धनगढी चौराहको हाटबजारमा माछा बेच्नेदेखि, चिया, चाउमिन लगायतका खाजा बनाउनेहरु कसैको मुखमा पनि मास्क थिएन। माछा किन्न आउने ग्राहक, खाजा खान आउने ग्राहकको मुखमा पनि मास्क थिएन। ‘सवैले मास्क लगाउन छोडिसके, कोही पनि मास्क लगाउदैनन्’ माछा व्यवसायी नरेश साहनीले भने,‘सवैलाई डर मरिसक्यो।’

यि केही प्रतिनिधि उदाहरण मात्र हुन। गत चैत १४ गते धनगढीमा सुदूरपश्चिम प्रदेशकै पहिलो संक्रमित देखा पर्दा सवैजनामा त्रास छाएको थियो। संक्रमणबाट जोगिन मास्क, सेनिटाईजर लगाउने लगाएतका सावधानी अपाउन थालेका थिए। कोरोनाको संक्रमण डरलाग्दो रुपमा बढ्दै गएको छ। संक्रमण समुदायस्तरमा फैलिसकेको छ। समुदायको महामारी फैलिने खतराका बीच कोरोनाको संक्रमणबाट जोगिन थप सावधानी अपनाउनु पर्ने बेला सर्वसधारणले चरम लापरवाही गर्न थालेका हुन। बजारका भिडभाडमा करिव आधा जति मास्क नलगाएका देखिने गरेका छन्। ‘जतिवेला त्यति डर थिएन सवैले मास्क र सेनिटाइजर प्रयोग गरेको देखिन्थ्यो तर अहिले कोरोनाको संक्रमण समुदायमा व्यापक रुपमा फैलिएर डरलाग्दो अवस्था हुँदा मास्क लगाउन छोड्ने र सेनिटाइजर प्रयोग नगर्ने अचम्म लाग्दो अवस्था छ’ शिक्षक संजयपन्त भन्छन्,‘यसले त अवस्था भयावह होला जस्तो संकेत देखिएको छ।’

सर्वसधारणले समान्य नियम पनि पालना नगर्ने, सावधानी नअपनाउने र लापरवाही गर्नाले स्थिती भयावह बन्दै गइरहेको विज्ञहरुले बताएका छन्।

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार बिभाग प्रमुख डा. शेरबहादुर कमरले स्थिती नियन्त्रण बाहिर गइसकेको बताए। ‘भिडभाड पनि बढेको छ, त्यसैमा मास्क लगाउने गरेका छैनन्, अन्य सावधानी पनि अपनाएको देखिदैन’उनी भन्छन्,‘अवस्था जटिल बन्दै गईरहेको छ र नियन्त्रण गर्न नसकिने भैसकेको छ।’

समुदायमा भित्रभित्रै कोरोनाको संक्रमण फैलिरहेको उनी बताउँछन्। अहिले जटिल प्रकृतिका संक्रमित पनि बढेको उनी बताउँछन्। पहिले संक्रमण देखिएकोमा लक्षणरहित हुने र लक्षण भएकोमा पनि समान्य मात्र लक्षण हुने गरेको बताउदै उनी भन्छन्,‘पहिले संक्रमितलाई आईसियुमा राख्नु पर्ने अवस्था थिएन, अहिले जटिल प्रकृतिका संक्रमित बढ्न थालेका छन्।’ मास्क नलगाउने, दूरी कायम नराखी भिडभाड गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने लगायतका सावधानी नगरि लापरवाही बढेकोमा अझै स्थिती जटिल बन्ने उनको भनाई छ।

विज्ञ तथा वरिष्ट फिजिसियन चिकित्सक शुभेस राज कायस्थ चरम लापरवाहीले कोरोनाको संक्रमण अझै तीव्र रुपमा बढेर अवस्था भयावह हुने चिन्ता व्यक्त गर्छन्। ‘५० प्रतिशतले मास्क नलगाई हिडिरहेको देखिन्छन्, भिडभाड पनि त्यस्तै छ, पसलमा पनि दूरी कायम गर्ने लगायतका समान्य नियम पनि पालना गरेको देखिदैन’उनी भन्छन्,‘यो चरम लपवारही भैरहेको छ, यस्ले त संक्रमणको महामारी तीव्र रुपमा फैलिएर भयावह अवस्था हुने देखिन्छ।’

सर्वसधारणले पनि मास्क नलगाउने, समान्य नियम पालन नगर्ने लापरवाही गरेका छन् भने सरकारले पनि समान्य नियम पालना गराउने कडाई गर्नुपर्नेमा त्यो नगरेर लापरवाही गरिरहको उनी बताउँछन्। ‘सरकार र सर्वसधारण दुवैतिरबाट लापरवाही देखिन्छ’उनले भने।

प्रदेश स्वास्थ्य निर्देशनाल दिपायलका अनुसार सुदूरपश्चिममा ८ हजार २ सय ५ जना संक्रमित भएका छन् भने ६ हजार ९ सय ४ जना निको भएर घर गएका छन्। १ हजार ३ सय १ जना संक्रिय संक्रमित रहेका छन्। सुदूरपश्चिम प्रदेशकै अस्पतालमा १९ र प्रदेश बाहिर ५ जना गरेर सुदूरपश्चिम प्रदेशका २४ जनाको संक्रमणबाट ज्यान गइसकेको छ।

प्रकाशित: २८ आश्विन २०७७ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App