६ वैशाख २०८१ बिहीबार
समाज

डा. केसीको पक्षमा बाँकेमा रिले अनशनको तयारी

डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाएका मागको पक्षमा समर्थन जनाउँदै बाँकेमा दबाब समूह गठन गरिएको छ।  

बिहीबार सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको अगुवाइमा बसेको बैठकले समूह गठन गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक समेत गरेको हो।  

अधिवक्ता एवम सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजित तिवारीको संयोजकत्वमा गठन गरिएको समूहको सदस्यमा गैसस महासंघ बाँके प्रतिनिधि, कृष्णदेबी पाण्डे, जयसिंह केसी र ललित रौनियार रहेका छन्।  

समूहले डा. केसीको माग र जीवन रक्षाका लागि दबाबमुलक कार्यक्रमको पनि घोषणा गरेको छ। शुक्रबार समूहले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै साझ विपी चोकमा दबाबमुलक प्रदर्शन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ। शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी नागरिक समाजको तर्फबाट अनिश्चितकालिन रुपमा रिले अनशन गर्ने तयारी भएको समूहका संयोजक तिवारीले बताए।  

विगत लामो समयदेखि आमरण अनशनमा बसेका केसीको माग तथा जिवन रक्षाका लागि सरकारले ठोस कदम नचालेपछि तत्काल सम्बोधन गर्न दबाबका कार्यक्रम तय गर्नु परेको समूहका संयोजक विश्वजित तिवारीले बताए।

स्वास्थ्य, शिक्षा र सुशासनको विषयमा हरदम जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा. केसी २५ दिनअघि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमाडौको त्रिभुवन यूनिभर्सिटीको टिचिङ्ग हस्पिटलमा आमरण अनशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगी सक्दा समेत उनका माग पुरा भएका छैनन्।  

नेपाली जनता, नागरिक समाज, स्वास्थ्यकर्मी समेतको व्यापक दवाबका कारण बुधबार सरकारले केसीसँग वार्ता गर्ने गरी वार्ता टोली गठन गरेको प्रति बैठकले खुसी समेत व्यक्त गरेको छ।

प्रकाशित: २२ आश्विन २०७७ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App