६ वैशाख २०८१ बिहीबार
समाज

अलपत्र विद्युतीकरण अगाडी बढाउन माग गर्दै राजमार्ग अवरुद्ध

राप्तीपारी अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम तत्काल अगाडी बढाउन दवाव दिँदै बाँके, राप्तीपारीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राप्तीसोनारी र नरैनापुरका ३ वटा वडामा विद्युतीकरण गर्न ठेकेदार ‘उष्मा/गौरी पार्वती जेभी’ नामक कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि लामो समयदेखि काम अलपत्र परेको थियो। ठेक्का सम्झौताको म्याद गुज्रिएको लामो समयपछि नेपाल विद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोडेर काम आफै गर्न खोजेपठि ठेकेदार कम्पनीले केहीदिन अघि तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा हालेको थियो।  

‘विद्युत विस्तार संघर्ष समिति राप्तीसोनारी नरैनापुर’ को अगुवाईमा उपस्थित भएका स्थानीयले बाँकेको अगैयामा दिउँसो १२ बजेबाट राजमार्ग अवरुद्ध पारेका हुन्। संघर्ष समितिका संयोजक एवम् पूर्वसभासद पट्टु थारुले उक्त आन्दोलनको नेतृत्व गरेका छन्। ‘कतैबाट पनि न्यायको अनुभुती गर्न पाएनौं, अहिले बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको हो,’ थारुले भने।

पूर्व निर्धारित कार्यक्रम अनुसार दुई घण्टासम्मका लागि राजमार्ग अवरुद्ध पारिएको संघर्ष समितिका सह–संयोजक डिल्ली ओलीले बताए। ‘ठेकेदारले वर्षौदेखि विद्युतीकरणको काम अलपत्र पारेको छ, अहिले विद्युत प्राधिकरणले ठेक्का तोडेपनि ठेकेदारले अदालतमा मुद्दा हालेर कामलाई अल्झाउन खोजिरहेको छ, त्यसकारण हामीहरु आन्दोलित हुन बाध्य भएका हौं,’ उनले भने। संघर्ष समितिले यसअघि विद्युतीकरणका लागि दवाव स्वरुप जिल्ला प्रशासन कार्यालय बाँके, विद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्ज, राप्तीसोनारी गाउँपालिका कार्यालय लगायत निकायमा ज्ञापन पत्र बुझाएको थियो।

अदालतमा अर्को मुद्दा परेपछि राप्तीपारी साबिक बैजापुर र नरैनापुरका स्थानीय बासिन्दा यतिबेला फेरि निराश भएका छन्। विद्युतीकरणको काम सुचारु गर्ने विषयमा प्राधिकरण, ठेकेदार र स्थानीय उपभोक्ता समितिबीच लामो समयदेखि विवाद छ। उक्त विवाद पटक–पटक अदालतसम्म पुग्ने गरेको छ। यसअघि कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन निर्माणको जिम्मा लिएको सोही ठेकेदार कम्पनीले समयमा काम नगरेको भन्दै प्राधिकरणले ठेक्का तोडेको थियो। प्राधिकरणविरुद्ध ठेकेदार कम्पनी र विद्युत उपभोक्ता समितिले छुट्टा–छुट्टै मुद्दा हालेका थिए। विवादका बीच प्राधिकरणले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईनको काम गतवर्ष आफै सम्पन्न गरेको थियो।  

ठेकेदारले काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिकाले पनि आफ्नो केही बजेट विद्युतीकरणमा लगानी गरेको छ। गाउँपालिकाले वडा नम्बर ३ मा गत वर्षदेखि विद्युतीकरणको काम थालेको हो। गतवर्ष २०७६/०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड रुपैयाँ छुट्याएको छ। गाउँपालिकाका अनुसार वडा नम्बर ३ मा विद्युतीकरणको काम झण्डै ८० प्रतिशत सम्पन्न भइसकेको छ, भने वडा नम्बर ४ को काम पुरै बाँकी छ। उक्त वडामा प्राधिकरणले पुरानो ठेक्का तोडेर विद्युतीकरणको बाँकी काम आफै गर्ने योजना बनाइरहेका बेला ठेकेदारले अदालतमा रिट हालेपछि प्राधिकरण अहिले अन्यौलमा छ।  

ठेकेदारले अदालतमा मुद्दा हालेपछि विद्युतीकरणको काम दु्रत गतिमा सम्पन्न गर्ने योजना प्रभावित हुने नेपाल विद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले बताएका छन्। ‘ठेक्का तोडिएपछि विद्युतीकरणको काम दु्रत गतिमा गर्ने योजना थियो, अब मुद्दा परिसकेपछि अदालतले बाटो नखोल्दासम्म हामीले केही गर्न सक्दैनौं,’ उनले भने। प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत कामलाई लगभग पुर्णता दिइसकेको छ। राप्तीपारी विद्युतीकरणका लागि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा निर्मित विद्युत सव–स्टेशन अझैसम्म प्रयोगमा आउन सकेको छैन।

प्रकाशित: २२ आश्विन २०७७ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App