१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाल र भारतका सुरक्षा अधिकारीबीच विभिन्न विषयमा छलफल

सीमा जोडिएको नेपाल र भारतका केही जिल्लाका सुरक्षा प्रमुखहरुबीच बाराको कलैयामा छलफल सम्पन्न भएको छ। भारतको बिहार राज्यको पूर्वी चम्पारण तथा पश्चिम चम्पारण जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तथा ती भारतीय जिल्लासित सीमा जोडिएको नेपालका रौतहट, बारा, पर्सा, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठक बाराको कलैयामा भएको हो।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति तथा सुव्यवस्था कायम गर्ने, सीमा क्षेत्रमा हुने अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण, अपराध तथा सोको नियन्त्रण सम्बन्धी सूचनाहरुको आदानप्रदान गर्ने, चोरी निकासी एवम् तस्करी नियन्त्रण गर्ने, कोभिड –१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरुको आदानप्रदान गरी सामूहिक रुपमा अगाडि बढ्ने, भारतको बिहार राज्यको तेस्रो चरणमा हुन गइरहेको राज्यसभाको निर्वाचनलाई स्वच्छ एवम् मर्यादित रुपमा सम्पन्न गर्न तीन दिन सिमा सिल गरी यातायात र मानिस आवतजावत बन्द गर्ने लगायतको एजेन्डामा दुवै देशका सीमावर्ती अधिकारीहरुबीच छलफल गरिएको हो।  

भारतीय जिल्लाका सुरक्षा अधिकारीहरूको नेतृत्व पूर्वी चम्पारण जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट शिर्सत कपि अशोकले तथा नेपालको तर्फबाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नेतृत्व गरेका थिए। संयुक्त बैठकमा नेपालतर्फका २६ र भारततर्फका २३ गरी ४९ जनाको सहभागिता रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।  

प्रकाशित: २१ आश्विन २०७७ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App