coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अरनिको राजमार्गको एक लेन ध्वस्त

संघीय राजधानीलाई मध्यपूर्वी पहाड र तातोपानी नाका हुँदै छिमेकी चीन जोड्ने अरनिको राजमार्गको तामाघाट–धुलिखेल खण्डको एउटा लेन ‘अधिक भार बोकेर आउने सवारी’ का कारण ध्वस्त बनेको छ।  

करिब ६० बर्ष अघि बनेको अरनिको राजमार्गको यो खण्ड अधिक भार बोकेका सवारीको चाप र कमजोर भु–बनोटका कारण धसिदै गएकाले बेलैमा जगैदेखी नयाँ निर्माण गर्न सडक बिभागका अधिकारीहरुले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छन्।    

अरनिको राजमार्गको सुर्यबिनायकदेखि काभ्रेको दोलालघाटसम्मको खण्ड रेखदेख गर्दै आएको सडक डिभिजन कार्यालय भक्तपुरले प्रत्येक तीनदेखि चार बर्षको अन्तरालतमा धुलिखेल– तामाघाट खण्ड मर्मतमा मात्र १५ देखि २० करोड रुपैंयासम्म खर्चिदै आएको छ।  डिभिजनले धुलिखेल तामाघाट सम्मको खण्ड १५ करोड रुपैंया खर्च गरेर २०७५ भदौमा ३ बर्ष लगाएर अस्फाल्ट कंक्रिट प्रविधिबाट ओभरले (माथिल्लो तहमा पुरै कालोपत्रे थप्ने काम) गरेको थियो।    

तर उक्त कालोपत्रे समेत दबिएर मर्मतको दुई बर्ष नपुग्दै पाँचखालबाट धुलिखेल तर्फ जाने बायाँ तर्फको लेन ध्वस्त बनेको छ।  तिनपिप्ले देखी माथिल्लो क्षेत्र तर्फ केराघारी हुँदै धुलिखेलसम्मकै भागमा बायाँ लेन दबिनुका साथै खाल्डै खाल्डा बनेको छ।  बाँया बिग्रदै गएपछि अधिक भार बोकेर आउने सवारीले यो खण्डका कतिपय स्थानमा दाँया लेन च्यापेका कारण ठाउँ ठाउँमा पुरै सडक खाल्डैखाल्डा र अस्तव्यस्त बनेको छ।   १५ किलोमिटरको खण्ड बिग्रेका कारण अस्तव्यस्त हुँदा सवारी जाम बढ्नुका साथै गाडीहरुका खर्च समेत बढेका छन्।  कतिपय ठाउँमा दुर्घटना समेत बढेको स्थानीयले बताएका छन्।  

सडकमा भेटिएका ट्रक चालक कृष्ण खत्रीले कालोपत्रे भासिएका कारण यात्रामा जोखिम बढेको सुनाए।  ‘डेढ बर्ष अघि सम्म चिल्लो सडकमा हिड्न पाईन्थ्यो’ उनले भने – ‘तर अब त डिलै डिलै परेर कच्ची सडक जस्तै भएको छ, कतिपय ठाउँमा त भासिएर गहिरो लिक समेत परेको छ।’    

सुनकोशी र ईन्द्रावतीबाट अधिक भार सहित पानी चुहाउदै बालुवा बोकेर गएका ट्रिपरलाई निर्वाध ढंगले चल्न दिईएकै कारण सडकमा भौतिक पूर्वाधारले वर्षेनी ठूलो धनराशी खर्च गर्नुपरेको हो।  ‘३५ टनसम्म बोकेर आउने ट्रिपरको क्षमता खानी वा क्रसरबाटै नियन्त्रण गर्न नसकेकै कारण चीनसंग समेत जोड्ने राष्ट्रिय राजमार्गको यो खण्ड अस्तव्यस्त बनेको हो’ पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले भने – ‘प्रहरीको आँखा छल्दै पानी चुहाएर जाने गरेका ट्रिपरका अधिक भार र पानी चुहाउने काम क्रसर र बालुवाखानीबाटै नियन्त्रण गर्ने उपाय नखोजुञ्जेल यो खण्डले यस्तै दुख दिईरहन्छ।’  उनले यो सडक राजमार्ग हेर्ने काम सडक विभाग र चेकजाँचको काम प्रहरीको भएकाले नगरपालिकाले आफ्नो तर्फबाट पटक पटक कुरा उठाएको सुनाए।  

सडकमा गुड्ने ट्रिपरले ३५ टन सम्म निर्माण सामग्री बोकेर राजधानी प्रवेश गर्ने गरेका छन्।  डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सडकको क्षमता १० टन मात्रै छ।  ‘१० टन भनेको ठ्याक्कै १० मात्रै बोक्न पाईने भन्ने होईन’ सडक डिभिजन कार्यालय भक्तपुरका निमित्त प्रमुख कर्ण केसीले भने –एउटा ट्रिपरको अगाडिको पांग्राले १० र पछाडीको पाङग्राले १० टन गरेर यो सडकमा एउटा ट्रिपरले २० टन भन्दा माल बोक्न सडकको क्षमताले मिल्दैन भनेर प्राविधिक रुपले ईष्टमेट गरिएको हुन्छ।’ केसीले यो सडकमा ४० टनसम्म माल बोकेर सवारीहरु आउजाउ गरिरहेको सुनाए।  

स्थानीयका अनुसार त्यसरी आउजाउ गर्ने सवारीहरु दोलालघाट, पाँचखाल र खावा प्रहरी चौकीको आँखा छलेर पानी चुहाउँदै हिडिरहेका हुन्छन्।  ट्राफिक प्रहरी पोष्ट पाँचखालका अनुसार यो खण्डबाट दैनिक करिब साढे तीन सय ओटा सम्म ट्रिपर बनेपा शहर र राजधानी प्रवेश गर्छन्।  

‘यो खण्डलाई जगै देखी बनाउने बारे अध्ययन गर्दैछौं’

डिभिजन सडक कार्यालय भक्तपुरका निमित्त प्रमुख केसीका अनुसार अरनिको राजमार्गको यो खण्ड भौगोलिक रुपमा कमजोर समेत बन्दै गएकाले जगैदेखि नयाँ बनाउनका लागी विभागमा प्रस्ताव गरिएको छ।  ‘अधिक भार पनि यसको प्रमुख कारण त हो’ उनले भने – ‘त्यो संगै ६० बर्ष अघि बनेको राजमार्गको यो खण्ड ओसिलो रहेको भौगोलिक रुपमा कमजोर हुँदै गएकाले यसलाई जगै देखि नयाँ बनाउनुपर्ने गरी सडक विभागमा प्रस्ताव भएको छ।’  उनका अनुसार जगैदेखि भत्काएर सबै संरचना सहित नयाँ बनाउने गरी अध्ययनको तयारी भईरहेको छ।  केसीले यसका लागी यो वर्ष विशेषज्ञ मार्फत अध्ययन गराउने तयारी भईरहेको सुनाए।  

डिभिजनले राजमार्गको अन्य खण्डमा समेत पुनः कालोपत्रे गर्नेकाम गरिरहेको बताएको छ।  भक्तपुरको सूर्य बिनायकदेखि काभ्रेको दोलालघाट बन्देउसम्म ४३ किलोमिटर सडक हेर्दै आएको डिभिजनले  यो वर्ष सूर्यबिनायक देखी धुलिखेलसम्मको खण्ड भित्र ५ किलोमिटर सडकमा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ।  केसीका अनुसार लामिडाँडा देखी दोलालघाटसम्म कालोपत्रे थप्ने र खाल्डाखुल्डी गर्ने काम यही बर्ष निर्माण कम्पनी मार्फत चलिरहेको छ।  

 

प्रकाशित: २० आश्विन २०७७ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App