प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ। बैशाख ५ गते उदयपुरको भुल्केमा पहिलोपटक एक दर्जन भारतीय नागरिकमा संक्रमण देखा परेको कोरोनाले प्रदेशलाई नराम्ररी गाँजेको छ।
राजधानी विराटनगर सबैभन्दा धेरै प्रभावित बनेको प्रदेशमा मृतक संख्या पनि मोरङमै सबैभन्दा बढी छ। आइतबार विराटनगरकै ६२ वर्षे थप एक जना पुरुषको मृत्यु भएपछि मोरङमा मृतक संख्या ३९ पुगेको छ। मोरङपछि मृतक संख्या सुनसरीमा धेरै छ। हालसम्म सुनसरीमा १७ जनाले ज्यान गुमाइसकेका छन्। यसैगरी झापामा ८ र ताप्लेजुङमा एक जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अन्य देश तथा जिल्ला घर भएर प्रदेश १ मै ज्यान गुमाउनेको संख्या १५ छ। मन्त्रालयका अनुसार आइतबारसम्ममा प्रदेशमा ८० जनाले ज्यान गुमाइसकेका छन्।
प्रदेश १ मा आइतबार मात्रै १७९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन्। मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
यता सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीय तह नखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला ७ पुरुष, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ।
प्रदेश १ मा आज ३६३ जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट ३४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ।
प्रकाशित: १८ आश्विन २०७७ १२:३२ आइतबार